एन्टिबायोटिक रेसिस्टेन्स र अबको बाटो



Download our app to get more features

प्रसङ्ग १
३२ वर्षीया एक महिलालाई पिसाब पोल्ने, ज्वरो आउने समस्याले तीन दिनदेखि सताइरहेको थियो । उनलाई पहिले पनि यस्तो समस्या बेलाबेलामा देखिन्थ्यो । पहिले पहिले यस्तो समस्या देखिदा उनले स्वास्थ्य जाँचबिनै मेडिकलबाट औषधि किनेर  खाने गरेकी थिइन । उनले त्यो बेला तीन दिन जति औषधि खाएर छोडेकी थिइन । यसपटक पनि त्यहि पसलबाट औषधि ल्याएर खाइन तर ज्वरो निको भएन । ज्वरो बल्झिदै गएर पेट दुख्ने, काप्ने, जाडो हुने लगायतको समस्या देखिन थाल्यो । एक साता अस्पताल भर्ना भएर सुईमाफर्त औषधि चलाएपछि बल्ल उनलाई सन्चो भयो ।

प्रसङ्ग २
१० वर्षीय एक बालकलाई ज्वरो आउने, काप्ने, खाना खान मन नगर्ने समस्या देखिएपछि उनको बाबुआमाले नजिकैको मेडिकलबाट केही एन्टिबायोटिक र ज्वरो कम गर्ने औषधि लगेर खुवाए । तर, ज्वरो निको भएन । झनै बल्झिदै गयो । सन्चो नभएपछि उनलाई पनि अस्पताल भर्ना गरेर नशाबाट औषधि चलाएपछि बल्ल ठिक भयो ।

माथि उल्लेख गरिएका प्रसङ्ग कुनै काल्पनिक नभएर आजकल अस्पतालमा प्रायः देखिने घटना हुन् । सामान्यदेखि सिकिस्त बिमारी भएमा पनि अस्पताल जानुभन्दा सुरुमा मेडिकलबाट सिधै औषधि किनेर प्रयोग गर्ने बानी आम सर्वसाधारणमा बढ्दो छ । मेडिकल र फार्मेसीबाट बिना जाँच जथाभावी प्रयोग गरिने एन्टिबायोटिकले हाम्रो स्वास्थ्य समस्यालाई विकराल अवस्थातर्फ लगिरहेको छ । निकट भविष्यमा यसले निम्त्याउने ‘एन्टिबायोटिक रेसिस्टेन्स’ र त्यसको असरबारे छलफल र बहस सुरु गर्न ढिला भइसकेको छ ।

के हो एन्टिबायोटिक रेसिस्टेन्स 
ब्याक्टेरियाहरूको संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । औषधि प्रयोग गर्दा पनि ब्याक्टेरियामा आएको परिवर्तनको कारणले औषधिको असर नदेखिए त्यस्तो अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ । रेसिस्टेन्ट ब्याक्टेरियाले संक्रमण गरेमा सामान्य अवस्थाभन्दा कडा एन्टिबायोटिक आवश्यक पर्ने, लामो समय अस्पताल बस्नु पर्ने र मृत्युदर पनि बढ्ने हुन्छ । एन्टिबायोटिक रेसिस्टेन्स विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रुपमा देखा परेको छ । क्षयरोग, निमोनिया, टाइफाइड लगायतका संक्रमणलाई एन्टिबायोटिक रेसिस्टेन्सको कारण उपचार गर्न कठिन हुँदै गइरहेको छ । 

यसकारण बढ्दैछ एन्टिबायोटिक रेसिस्टेन्स 
लामो समयको अन्तरालमा ब्याक्टेरिया एन्टिबायोटिकबाट बँच्न आफै रुप परिवर्तन गर्छ । एन्टिबायोटिकको अनुचित प्रयोगले यो प्रक्रियालाई थप सहयोग गर्छ र रेसिस्टेन्सको विकास चाँडो हुने गर्छ । एन्टिबायोटिकको प्रयोगमा निम्न तीन कुरामा ध्यान नपु¥याउँदा रेसिस्टेन्स चाँडो बढ्छ :—

—    एन्टिबायोटिक प्रयोग गर्नु नपर्ने रोगहरूमा पनि त्यसको प्रयोग गरिएमा ।
—    एन्टिबायोटिकको पुरै कोर्स प्रयोग नगरेमा ।
—    रोग र ब्याक्टेरिया अनुसार उपयुक्त एन्टिबायोटिक प्रयोग नगरेमा ।

हाम्रो जस्तै अविकसित देशहरूका मानिसमा शिक्षा तथा जनचेतनाको कमी र स्वास्थ्य संस्थामा सबै नागरिकको पहुँच पुगेको छैन । त्यसको कारणले जताभावी एन्टिबायोटिक किनेर प्रयोग गर्दा रेसिस्टेन्सको क्रम बढ्दो छ । 

माथि उल्लेखित पहिलो घटना पनि पिसाब नलीको संक्रमण हुँदा पहिले खाएको औषधिको कोर्स पूरा नगर्दा फेरि बल्झिएर जटिल रुपमा देखा परेको हो । त्यस्तो स्थितिमा अस्पातल भर्ना भएर सुईमार्फत कडा एन्टिबायोटिक चलाएपछि मात्र रोग निको हुन्छ । दोश्रो घटनामा पनि टाइफाइडको लक्षण देखिएको बच्चालाई मेडिकलबाट उपयुक्त एन्टिबायोटिकको प्रयोग नहँुदा अस्पताल भर्ना गरेर सुईमार्फत औषधि चलाउनुपरेको हो ।

भविष्यमा दुर्घटना
ब्याक्टेरियासँगको लडाइँमा प्रयोग गरिने रामवाण भनेकै एन्टिबायोटिक नै हो । ब्याक्टेरियाले आफुलाई परिवर्तन गरेर हाल प्रयोग गरिने एन्टिबायोटिकबाट बँच्न सफल भयो र नयाँ एन्टिबायोटिकको पनि आविश्कार भएन भने त्यसले विश्व स्वास्थ्य जगतमा ठूलो दुर्घटना निम्त्याउने निश्चित छ । 

समाधान के त ?
एन्टिबायोटिक रेसिस्टेन्सबाट बँच्ने सबैभन्दा राम्रो उपाय भनेको एन्टिबायोटिकको उचित प्रयोग नै हो । यसका निम्ती स्वास्थ्यकर्मी, बिरामी, सर्वसाधारण, सरकारी निकाय सबैले आफ्नो ठाउँबाट सक्ने पहल र सहयोग गर्नुपर्छ ।

— चिकित्सक वा कुनै दर्तावाल स्वास्थ्यकर्मीको ‘प्रेसक्रिप्सन’ बिना एन्टिबायोटिकको प्रयोगमा रोक लगाउने । त्यसको निम्ति मेडिकल, फार्मेसीबाट खुलेआम कुनै जाँच नगरि एन्टिबायोटिक बेच्न नपाउने नियम बनाउने र कडाइका साथ लागू गर्ने ।

— चिकित्सक र स्वास्थ्यकर्मीले पनि उपयुक्त एन्टिबायोटिकको प्रयोग गर्ने र बिरामीलाई खाने तरीका र त्यसको पूरा कोर्स बारे राम्रोसँग जानकारी गराउने ।

—   बिरामी र अस्पतालहरूमा रहेका ब्याक्टेरियाको रेसिस्टेन्सको अवस्था अध्ययन गर्ने, यस सम्बन्धी रिसर्चलाई प्रोत्साहन गर्ने ।

—  स्थानीयस्तरमा देखिएको एन्टिबायोटिक रेसिस्टेन्स र औषधिहरूको प्रयोग र उपलब्धता सम्बन्धी राष्ट्रिय गाइडलाइन्स बनाउने । सम्पुर्ण चकित्सक र स्वास्थ्यकर्मीले त्यसै अनुसार एन्टिबायोटिकको प्रयोग गर्ने ।

अन्त्यमा,
एन्टिबायोटिक रेसिस्टेन्सको भयावह स्थिती देखिनु अगावै सावधानी अपनाउने र त्यसै अनुरूप कदम चालेमा यसको असरलाई केही हदसम्म भए रोक्न सकिएला । त्यसको निम्ति आजैदेखि आ–आफ्नो ठाउँबाट सबैले पहलकदमी लिने की । 

Last modified on 2017-11-12 17:01:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts