विश्व मधुमेह दिवस

मधुमेह: मन्द विष जाेखिम तीव्र



Download our app to get more features

मन्द विष मानिने मधुमेह रोगको जोखिम नेपालमा पनि अन्य रोगको तुलनामा उच्चदरले बढ्दै गएको छ । अमेरिकाको इस्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुयसनले सन् २०१७ मा प्रकाशित गरेको तथ्यांक अनुसार नेपालमा मधुमेह रोगको जोखिम दर अन्य रोगको तुलनामा बढ्दो छ । 

सन् २००५ देखि २०१६ सम्ममा आईपुग्दा मधुमेह रोगका कारण हुने मृत्युदर ५८ दशमलव ८ प्रतिशतले बढेको छ । सन् २००५ मा नेपालीको मृत्युको कारणमा ११औं स्थानमा रहेको मधुमेह २०१६ सम्ममा आईपुग्दा यो रोगले छैठौँ स्थान लिएको छ (हे.इन्फो) । यो रोगको जोखिम वृद्धिदर अन्य रोगको तुलनामा निकै बढी हो । 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०१६ मा प्रकाशित गरेको तथ्यांक अनुसार १६ दशमलव ६ प्रतिशत महिला र १३ दशमलव ६ प्रतिशत पुरुष मधुमेह रोगबाट प्रभावित छन् । नेपालको कुल जनसंख्या मध्ये ९ दशमलव १ प्रतिशत जनसंख्या मधुमेह रोगबाट प्रभावित भएको संगठनको आँकलन छ । 

अहिले नसर्ने रोगको जोखिम विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । नसर्ने रोग मध्ये मुटुरोग प्रमुख स्थानमा आउँछ । तर, मधुमेह रोगको जोखिम आश्चर्यजनक रुपमा बढ्दो छ । नेपालसहित कम विकशित र विकशित मुलुकमा यो रोगको जोखिम दर अन्य रोगको तुलनामा बढी छ । 

यसकारण बढ्दैछ मधुमेहको जोखिम 
नेपालमा मधुमेह रोगको कारण वंगानुगत र वातावरणीय भएको चिकित्सकहरू बताउँछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई पेटको गोलाई बढ्नु, खानपीन परिवर्तन हुनु र प्रदुषणका कारण मधुमेहका रोगी थपिदै गएको बताउँछिन् । खासगरी खाने प्रवृतिमा आएको परिवर्तन मधुमेह रोग निम्तिने प्रमुख कारण बन्दैछ । नेपालीले कार्बोहाइड्रेटयुक्त खानेकुरा अत्यधिक सेवन गर्ने भएकाले पेटको गोलाईमा कार्बोहाइडेट जम्मा भएर बस्छ । डा. भट्टराई भन्छिन्, ‘कोकाकोला, फेन्टा लगायतका पेयपदार्थ र फास्टफुडको प्रयोगका कारण सानो उमेरमै मधुमेह देखिन थालेको छ ।’ 

मधुमेह रोकथाममा सरकारी प्रयास कम हुनु पनि यसको जोखिम बढ्नुको एउटा कारण भएको डा. भट्टराई बताउँछिन् । मधुमेहलाई नै लक्षित गरेर सरकारसँग विशेष कार्यक्रम छैन । उनी भन्छिन्, ‘यो रोगको बारेमा विद्यालयस्तरका पाठ्यक्रममा समावेश गर्नुपर्छ ।’ मधुमेह रोगबाट बँच्न यो रोग नलाग्दै नियमित सवास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकहरूको सुझाब छ ।

डब्लूएचओका अनुसार नेपालमा मधुमेहका १६ दशमलव ७ प्रतिशत बिरामीलाई यो रोग लाग्नुमा मोटोपनले भूमिका खेलेको छ । काठमाडौं डायबेटिज एण्ड थाइरोइड सेन्टरका मधुमेह रोग विशेषज्ञ डा. अशुंमाली जोशी जीवनशैलीमा आएको परिवर्तनका कारण माटोपन बढेकाले मधुमेहको जोखिम निम्तिएको बताउँछन् । मोटोपनका कारण मधुमेह, युरिकएसिड, उच्च रक्तचाप जस्ता समस्याहरू निम्तिने गरेको छ । डा. जोशी भन्छन्, ‘शरीरमा मुख्यगरि थाइरोइड हर्मोनमा गडबढी आउँदा मधुमेहको समस्या हुन्छ ।’ काठमाडांै डायबेटीज एण्ड थाइरोइड सेन्टरमा मात्र मधुमेहका सय भन्दा बढी बिरामी उपचार गर्न दैनिक आउने गरेको उनी बताउँछन् ।   

दक्षिण एशियामा मधुमेहको जोखिम उच्च
सन् २०१४ को तथ्यांक अनुसार विश्वमा ३८ करोड ७० लाख जनसंख्यालाई मधुमेह रोग लागेको अनुमान छ । यो संख्यामध्ये ४५ लाख मानिसको मधुमेहका कारण ज्यान जाने गरेको छ । मधुमेहका कारण ज्यान गुमाउने ८० प्रतिशत भन्दा बढी जनसंख्या कम र मध्यमस्तरको आयस्रोत भएका देशका छन् । सन् २०१२ मा भएको एक अध्ययनले पछिल्लो दुई दशकमा दक्षिण एशियाली मुलुकमा मधुमेह रोेगको जोखिम उच्चदरमा बढे देखाएको थियो । 

सन् २०१४ को तथ्याङ्क अनुसार दक्षिण पूर्वी एशियाका ११ मुलुकमा मात्र मधुमेहका नौ करोड ६० लाख बिरामी भएका र यी मध्ये आधाको रोग निदान हुन सकेको छैन । रगतमा अत्यधिक चिनीको मात्रा भएका कारण सन् २०१२ मा मात्र दक्षिण पूर्वी एशियाली क्षेत्रमा १० लाख मानिसले ज्यान गुमाए । इन्टरनेशनल डायबेटिज फेडेरेसनका अनुसार यो क्षेत्रमा मधुमेह रोग बढ्नुमा वंशानुगत, अव्यवस्थित जीवनशैली, सहरी क्षेत्रको बसाई र उच्च रक्तचापले भूमिका खेलेको छ । 

दक्षिणपूर्वी एशियाका मानिसमा युरोपेली मुलुकमा भन्दा १० वर्ष पहिले नै मधुमेह रोग लाग्ने गरेको र यसले मानिसको उत्पादनशील जीवनमा असर पारेको छ । मधुमेह रोगको बढ्दो जोखिमका कारण स्वास्थ्य उपचारमा हुने खर्च समेत बढेको छ । विश्वव्यापी रुपमा सन् २०१३ मा मात्र मधुमेहका कारण स्वास्थ्य उपचारमा ६ सय १२ बिलियन अमेरिकी डलर खर्च भएको थियो । डब्लूएचओएका दक्षिण पूर्वी एशिया क्षेत्र प्रमुख डा. पुनम क्षेत्रपाल सिंहका अनुसार सन् २०१० देखि २०३० सम्ममा विश्वव्यापी रुपमा मधुमेह रोगका कारण कुल ग्रायस्थ उत्पादनमा हुने क्षती एक दशमलब सात ट्रिलियन अमेरिकी डलर पुग्नेछ । 

के हो मधुमेह ?
रगतमा चिनीको मात्रा आवश्यक भन्दा बढी देखा पर्नु मधुमेह हो । ‘सुगर’ भनिने यो रोग रगत जाँच गर्दा पत्ता लाग्छ । मधुमेह पहिलो र दोस्रो गरि दुई प्रकारको हुन्छ । शरीरमा इन्सुलिनको उत्पादन कम भएर रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो प्रकारको मधुमेह भनिन्छ । यो रोग लागेपछि बिरामी बँचाउन जीवनभर इन्सुलिन दिनुपर्छ । 

शरीरलाई चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था दोस्रो प्रकारको मधुमेह हो । यो मधुमेह सामान्यतया ४० वर्ष उमेरपछि प्रायः मोटाघाटा मानिसमा देखा पर्छ । 

इन्फो १
मधुमेह रोगका लक्षण 
—मुख सुख्खा हुनु, तिर्खा बढी लाग्नु ।
— पटक–पटक पिसाब लाग्नु,  पिसाबको मात्रा धेरै हुनु । 
— राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु ।
— भोक बढी लाग्नु ।
— घाउ खटिरा आईरहनु र निको नहुनु ।
— गुप्ताङ्ग चिलाउनु ।
— दृष्टि धमिलो हुनु । 
— हातगोडा झमझमाउनु ।

इन्फो २
मधुमेहबाट बँच्ने उपाय 
—हरेक दिन कम्तीमा ३० मिनेट हल्ला पसिना आउने गरि हिड्ने वा शारीरिक व्यायाम गर्ने । 
—उचाई अनुसार तौल कायम राख्ने । 
—नियमित सागसब्जी, फलफूल र रेसादार खानेकुरा खाने । 
—मद्यपान, धुम्रपान र सुर्तीजन्य पर्दाथ सेवन नगर्ने । 
—लामो समयसम्म भोकै नबस्ने । 
—बच्चालाई दुई वर्षको उमेरसम्म स्तनपान गराउने । 
—चिकित्सकको सल्लाह अनुसार नियमित स्वास्थ्य जाँच गर्ने । 

इन्फो ३
नेपालीको मृत्युको कारण 
सन् २००५ को र्यांकिङ

१.मुटु सम्बन्धी रोग
२.श्वासप्रश्वास प्रणालीको संक्रमण
३.झाडापखाला
४.सिओपीडी
५.स्ट्रोक 
६. मस्तिष्क सम्बन्धी इन्सेफ्यालोप्याथी रोग
७. क्षयरोग
८. नवजात शिशु सम्बन्धी रोग
९. सडक दुर्घटना
१०. फोक्सोको क्रोनिक रोग
११. मधुमेह 
१२. मिर्गौलाको क्रोनिक रोग 

सन् २००६ को र्यांकिङ र वृद्धिदर 
१.मुटु सम्बन्धी रोग ३९ दशमलब ८ प्रतिशत
२. सिओपीडी २४ दशमलब २ प्रतिशत
३.स्ट्रोक २० दशमलब ४ प्रतिशत
४. श्वासप्रश्वास प्रणालीको संक्रमण –३३ दशमलब ६ प्रतिशत
५.झाडापखाला –४१ दशमलब ९ प्रतिशत
६. मधुमेह ५८ दशमलब ८ प्रतिशत 
७. मस्तिष्क सम्बन्धी इन्सेफ्यालोप्याथी रोग –२६ दशमलब ५ प्रतिशत
८. सडक दुर्घटना ६ दशमलब ७ प्रतिशत
९.मिर्गौलाको क्रोनिक रोग ३६ दशमलब ९ प्रतिशत
१०. क्षयरोग –२९ दशमलब ९ प्रतिशत
११. फोक्सोको क्रोनिक रोग –० दशमलब ३ प्रतिशत
१२. नवजात शिशु सम्बन्धी अन्य रोग –३१ दशमलब ६ प्रतिशत

स्रोत  ः इस्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुयसन

Last modified on 2017-11-15 08:13:02

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts