आईओएममा यसरी हुँदैछ जेहेन्दार विद्यार्थीको भविष्यमाथि खेलवाड



Download our app to get more features

काठमाडौं । गाउँबाट बोराको झोलामा किताव बोकेर डाक्टर बन्ने सपना बुन्दै महोत्तरीका अमिद सिंह काठमाडौं छिरेका  थिए । आर्थिक अवस्था कमजोर भएका उनलाई मेहेनेतले नै आफु डाक्टर बनिन्छ भन्ने विश्वास थियो ।

तर, चार वर्षदेखि महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा छात्रवृतिमा पहिलो नम्बरमा नाम निकाल्न सकेका थिएनन् उनले । पाँचौ पटकको प्रयासमा उनले गत असोज २८ गते आईएओएमको एमबीबीएस प्रवेश परीक्षा दिए । यसपाली उनी आफ्नो नाम निस्कनेमा विश्वस्त नै थिए । तर चिट चोरी काण्डका कारण एक महिनादेखि रोकिएको उक्त प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने वा पुनः गर्ने भन्ने निर्णयमा जिम्मेवार निकाय पुग्न नसक्दा उनको डाक्टर बन्न्ने सपना विस्तारै टुट्न थालेको छ । अब उनीसामु कि अन्य विषय अध्ययन गर्ने कि फेरी गाउँ नै फर्किनेको विकल्प छैन । सिंह भन्छन, ‘यो परीक्षा पुन: भएन भने म अन्यत्र गएर पढ्नै सक्दैन । किनभने मसँग पैसा छैन ।  मेरो लागि डाक्टर बन्ने विकल्प भनेकै छात्रवृति थियो । त्यो पाउन २४ सै घण्टा पढ्न तयार थिए ।’

 उनले आईओएमको प्रवेश परीक्षामा भएको चिट चोरी काण्डका कारण आफु जस्तै हजारौं विद्यार्थीको डाक्टर बन्ने सपना तुहिन थालेको बताए । जिम्मेवार निकाय त्रिभुवन विश्ववद्यालय (त्रिवि) र आईओएमका पदाधिकारी प्रवेश परीक्षा पुनः गर्न तयार नहुँदा  सिहं जस्तै सयौं जेहेन्दार विद्यार्थीले यतिबेला आक्रोश सहित आफ्नो पीडा पोख्न थालेका छन । प्रवेश परीक्षाको नतिजा आउन ढिला हुँदा आईओएममा थोरै नम्बर आउने संभावना देखेका सयौं विद्यार्थी लाखौ रुपयाँ कन्सलटेन्सीको हात पारेर विदशतिर हानिने तयारीमा छन् । आर्थिक हैसियत कमजोर विद्यार्थीको छात्रवृतिमा नाम निकस्ने आशा अझै छ । तर उनीहरुको हालत सिंहको जस्तै बन्न पुगेको छ । उनीहरुले भविष्यलाई लिएर आँसु बगाउन थालेका छन् । 

विगत एकमहिनादेखि उनीहरुको दैनिकी आईओएम परीसरमा जाने र पुनः परीक्षाको माग गर्दै नाराबाजी गर्दैमा बितेको   छ । छात्रवृतिमा नाम निकाल्ने अठोटका साथ दोस्रो पटक परीक्षा दिएका सनराज थारुको अनुहार पनि पीडाले भरिएको छ । उनले प्रवेश परीक्षाको चिट चोरी घटनाले आफु घर न घाट भएको बताए । उनि भन्छन, ‘हामी चर्को शुल्कमा पढ्न नसकेर नै यहाँ आएर परीक्षा दिएको हो । यो संस्थालाई मुुलुककै सबैभन्दा राम्रो भनिन्थ्यो तर अहिले सबै भन्दा धेरै माफियाको चलखेल हुने ठाउँ बन्न पुगेको हामीलाई  अनुभव भइरहेको छ । अव के गर्ने के नगर्ने भन्ने दोसाँधमा छौ ।’ 

सिंह र थारु जस्तै उक्त प्रवेश परीक्षामा करिव ९ हजार विद्यार्थीले परीक्षा दिएका थिए । डा. केसीलाई पटकपटक आफुहरुमाथि भएको अन्यायविरुद्ध बोलिदिनुहोस् भन्दा नबोलेको अधिकांश विद्यार्थीले गुनासो गरेका छन् ।  
चिट चोरी घटनापछि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा रोकिएको एमबीबीएस तहको प्रवेश परीक्षा पुनः गर्ने भन्ने निर्णय एक महिनासम्म पनि नहुँदा ती बिद्यार्थीको भविष्यमाथि खेलवाड हुन पुगेको हो । असोज २८ गते आईओएमले लिएको उक्त परीक्षामा ‘म्याग्नेटिभ डिभाइस’बाट चिट चोराएको पुष्टि भएको  थियो ।  महानगरीय प्रहरी अपराध महाशाखाले परीक्षाको पहिलो दिन चिट चोराउने सप्तरीका नाइके समीर झा, डा. सुशील मण्डलसहित १७ जनालाई पक्राउ गरेको थियो । उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनलाई आधार मान्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको  छ । 

त्रिविले पनि घटनाको छानविन गर्न एमबिबिएस प्रवेश परीक्षा सम्बन्धि छानविन समितिले पुनः प्रवेश परीक्षा लिनुपर्ने आशयको सहितको प्रतिवेदन बुझाएको छ । यस्तो अवस्थामा पनि त्रिवि र आईओएमका पदाधिकारी आगमी दिनमा के गर्ने भन्ने निश्कर्षमा पुग्न नसक्दा विद्यार्थीको भविष्य संकटमा परेको हो । विद्यार्थीले आईओएममा पनि मेडिकल माफिया छिरेको र उनीहरुका कारण आफुहरुको भविष्य संकटमा परेको गुनासो गर्दै आएका छन् । आईओएमका डिन डा. जगदिश अग्रवालले आफुहरु त्रिविको निर्णय पर्खिएर बसेको तर्क गर्छन ।  डा. अग्रवाल भन्छन्,‘हाम्रो कारणले परीक्षाको नतिजा सार्वजनिक गर्नेकी पुन: परीक्षा लिने विषयमा निर्णय लिन ढिला भएको होइन । यस घटनाको छानविन प्रतिवेदनको निश्कर्षपछि त्रिविबाट आउने निर्णय कुरेका हौं ।’

आईओएम श्रोतका अनुसार प्रवेश परीक्षाका नतिजा सार्वजनिक गर्दा सर्वत्र विरोध हुन सक्ने र रद्द गर्दा आफूहरूको गल्ति ठहर हुने भयमा त्रिवि र आईओएमका पदाधिकारी परेका छन् ।

Last modified on 2017-11-16 07:22:17

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts