उपचाररत काँग्रेस नेता निधिले भने : चिन्ता नलिनुस्, म आराम छु



Download our app to get more features

काठमाडौं,६ मंसिर । श्वासप्रश्वासमा समस्या भएर काठमाडौंको ओम अस्पताल भर्ना भएका काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बिमलेन्द्र निधिले शुभचिन्तकलाई आफ्नो स्वास्थ्यको चिन्ता नलिन आग्रह गरेका छन् । 

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता निधि जिल्लामा चुनावी अभियानका क्रममा धुलोधुवाँका कारण श्वासप्रश्वासमा समस्या भएर सोमवारदेखि अस्पतालमा उपचाररत छन् ।

उनले सामान्य अवस्थामा आफ्नो उपचार भइरहेको बताउँदै शुभचिन्तकलाई नआत्तिकन चुनावी अभियानमा लाग्न समेत आग्रह गरेका छन् । आफूसँग सामाजिक दायित्व पूरा गर्ने जिम्मेवारी रहेको भन्दै कुनै रोगले थला पर्न नसक्ने विश्वास व्यक्त गरे । 

आफ्नो स्वास्थ्य लाभको लागि कामना गर्ने शुभचिन्तक तथा धनुषाबासीलाई धन्यवाद समेत दिएका छन् । 
 

प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज राजधानीको ओम अस्पतालमा उपचाररत नेता निधिलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

आजै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता निधि जिल्लामा चुनावी अभियानका क्रममा धुलोधुवाँका कारण श्वास फेर्न असहज महसुस गरेपछि गत सोमबारदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उहाँलाई पेटरोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुवोधसागर ढकाललगायतको टोलीले उपचार गरिरहनुभएको छ । चिकित्सकले उहाँलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् ।

नेता निधि गत कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृह जिल्ला धनुषामै हुनुहुन्थ्यो ।

Last modified on 2018-03-27 04:48:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts