बंगलादेशमा विचल्लीमा परेका विद्यार्थी : न पढाई छोड्न सक्छन् न अर्को कलेजमा ट्रान्सफर 

What's This?


Download our app to get more features

काठमाडौं,९ मंसिर । बंगलादेशमा एमबीबीएस र बीडिएस अध्ययनरत  दुईसय नेपाली विद्यार्थीहरु विचल्लीमा परेका छन् । बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिलले अवैध रुपमा सञ्चालनमा रहेका विभिन्न ३७ वटा कलेजहरुलाई कालोसूचीमा राखिएसँगै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु विचल्लीमा परेका हुन् । 

यसअघि नेपालको शिक्षा मन्त्रालयले बंगलादेशका ८ वटा मेडिकल कलेजहरु कालोसूचीमा रहेको भन्दै उक्त कलेजमा पढ्न जान रोक लगाइएको थियो । नेपालीको रहनसहन मिल्ने, भिसाको सजिलो प्रक्रिया लगायत किस्ताबन्दीमा पढाई खर्च तिर्न सकिने भन्दै नेपाली विद्यार्थीहरु मेडिकल शिक्षा अध्ययनको लागि बंगलादेशमा आकर्षित हुने गर्छन् ।  

बंगलादेशको मेडिकल काउन्सिलले ३७ वटा मेडिकल कलेजहरुलाई कालोसूचीमा राखेको जानकारी बंगलादेशस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालय मार्फत नेपालको शिक्षा मन्त्रालयमा जानकारी गराएको थियो । शिक्षा मन्त्रालयबाट नेपाल मेडिकल काउन्सिललाई समेत बोध गराइएको काउन्सिलका प्रवक्ता डा. दिलिप शर्माले बताए । 

बंगलादेशस्थित नेपाली दूतावासले विचल्लीमा परेका नेपाली विद्यार्थीहरुलाई सेटलमेन्टको लागि प्रयास भइरहेको काउन्सिल प्रवक्ता डा.शर्माले जानकारी दिए । बंगलादेशमा एमबीबीएस र बीडिएस अध्ययनरत विद्यार्थीहरु ठगिने क्रम बढ्दै गएको भन्दै उनले पढाई गर्न जानुअघि सबै पहिले नै बुझ्नुपर्ने बताए । 

बर्षेनी करिब तीन सय विद्यार्थीहरु बंगलादेशमा अध्ययन गर्न जान्छन् । बिदेश मेडिकल शिक्षा पढ्न जाने कुल विद्यार्थीमध्ये ७२ प्रतिशत विद्यार्थीहरु बंगलादेश जाने गर्छन् । सन् २०१६ मा गरिएको अध्ययनका अनुसार मेडिकल शिक्षाको लागि विदेश पढ्ने जाने ४ सय ७८ विद्यार्थीमध्ये ३ सय २८ विद्यार्थी बंगलादेश गएका थिए । 

ठग कन्सल्टेन्सी
दर्ता नभएका मेडिकल कलेजहरुमा समेत भर्नाको लागि भन्दै काठमाडौंमा च्याउसरी खोलिएका कन्सलटेन्सीहरुले विद्यार्थीहरुलाई लोभ्याउँछन् । 
कलेजबाट आउने केही कमिशनको लोभमा कन्सल्टेन्सीले विद्यार्थीहरुलाई कलेजमा भर्ना गराउँछन् । जसको कारण लाखौं रकम तिरेर पढाई गरिरहेका विद्यार्थीहरु अलपत्र पर्छन् । 
यस्तो अवस्थामा न विद्यार्थीले चाहे जस्तो अर्को सम्बन्धन प्राप्त कलेजमा भर्ना ट्रान्सफर हुन पाउँछन् न त पढाईलाई निरन्तरता नै । 

अवैध कलेजहरुको बिगबिगी
बंगलादेशमा कुनै पनि मेडिकल कलेज स्थापनाको लागि त्यहाँको बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिलमा दर्ता गर्नुपर्ने हुन्छ । काउन्सिलमा दर्ता बिना नै मुनाफाका लागि कलेजहरुले नेपाली विद्यार्थीहरु भर्ना लिने गर्छन् । अवैध रुपमा सञ्चालित कलेजहरुले समस्या आउँदा अर्को सम्बन्धन प्राप्त विश्वविद्यालयमा समेत ट्रान्सफर गर्न मान्दैनन् । यस कारण पनि नेपाली विद्यार्थीहरु मर्कामा पर्छन् ।  क्षमता विद्यार्थी भर्ना संख्याभन्दा बढी भर्ना लिएका कारण बिजिसी ट्रस्ट चिटगाउँमा अध्ययनरत नेपाली विद्यार्थीहरुले एमबीबीएस शिक्षा पूरा गरिसकेपनि बंगलादेश मेडिकल काउन्सिलले दर्ता गर्न मानेनन् । 

बंगलादेशमा अवैधरुपमा सञ्चालित मेडिकल कलेजहरू :

  • युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग
  • गानोसास्त्य समाज भित्तिक मेडिकल कलेज, सभार
  • द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश
  • नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी, ढाका
  • केयर मेडिकल कलेज, इकबाल रोड, मोहम्मदपुर, ढाका
  • शाहबुद्धिन मेडिकल कलेज, गुल्सान, ढाका
  • आइची मेडिकल कलेज, अब्दुल्लापुर, ढाका
  • अब–डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरानीगन्ज, ढाका
  • सफेना डेन्टल कलेज, डिआइटी रोड, ढाका
  • नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर
  • सिटी मेडिकल कलेज, इटाहाटा, गाजिपुर
  • जलालाबाद रागिब–रवैया मेडिकल कलेज, सिहालेट
  • युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग
  • आइबिएआइएस युनिभर्सिटी
  • क्विन्स युनिभर्सिटी
  • गोनो विश्वविद्यालय
  • आशियान मेडिकल कलेज
  • आइची मेडिकल कलेज, उत्तरा, ढाका
  •  बसुन्धरा एडडिन मेडिकल कलेज
  • अब्दुल हमिद मेडिकल कलेज
  • नाइटिङ्गेल मेडिकल कलेज, नाइटिङ्गेल पोइन्ट, अशुलिया
  • बिजिसी ट्रस्ट मेडिकल कलेज, चित्तागोंग
  • ब्रम्हानबरिया मेडिकल कलेज
  • युनिभर्सल मेडिकल कलेज
  • केयर मेडिकल कलेज
  • पार्कभ्यु मेडिकल कलेज
  • युएस बंगला मेडिकल कलेज
  • चट्टाग्राम इन्टरनेसनल मेडिकल कलेज
  • सिलहेट इन्टरनेसनल युनिभर्सिटी
  • साउथर्न युनिभर्सिटी
  • प्रिमियर युनिभर्सिटी
  • ब्रिटानिया युनिभर्सिटी
  • विक्रमपुर भुइयान मेडिकल कलेज
  • मोनोआरा सिक्देर मेडिकल कलेज
  • मेराइन सिटी मेडिकल कलेज
  • शाह मक्धुम मेडिकल कलेज
  • एचएमसिएच मेडिकल कलेज
Last modified on 2017-11-26 08:18:27

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts