यसरी ठगिन्छन् बंगलादेशमा एमबीबीएस पढ्न जाने नेपाली विद्यार्थी

What's This?


Download our app to get more features

काठमाडौं,११ मंसिर । बंगलादेशमा अवैधरुपमा सञ्चालित मेडिकल कलेजहरुले जसरी पनि विद्यार्थी भर्ना गरेर पैसा कमाउने दाउ पर्खिरहेका हुन्छन् । उनीहरुले काठमाडौंका कुनै कन्सल्टेन्सीको आडमा नेपाली विद्यार्थीहरु मार्फत कलेजमा भर्ना गराएर विद्यार्थीबाट पैसा कुम्ल्याउने प्रयासमा रहन्छन् । 

काठमाडौंमा च्याउसरी खोलेका कन्सल्टेन्सीहरुले पनि विद्यार्थी भर्ना गराए वापत पाउने कमिशनको लोभमा नेपाली विद्यार्थीहरुलाई अनेकन प्रलोभन देखाउने गर्छन् । कलेज राम्रो रहेको  र विभिन्न सुविधा रहेको भन्दै विद्यार्थीलाई कन्सलटेन्सीले फकाउँछ । 

भर्खर साइन्समा प्लस टुसकेर विद्यार्थीहरु एमबीबीएस वा बीडिएस पढ्न उनीहरु कन्सलटेन्सीहरुको सहारा लिन पुग्छन् । कलेजको बारेमा राम्रोसँग नबुझिकनै उनीहरु भर्ना हुन आतुर हुन्छन् । 
कन्सलटेन्सीले पनि उताको कलेजमा सीमित सिट मात्र रहेको भन्दै जतिसक्दो चाँडो भर्ना हुन दबाब दिन्छन् । 

नेपाली रहनसहन मिल्ने, भिसा सजिलै पाउन सकिने र किस्ताबन्दीमा कलेजको पैसा तिर्न सकिने भन्दै विद्यार्थीहरु त्यहाँतर्फ आकर्षित हुने गर्छन् । विभिन्न कलेजहरु कानुनी झमेलामा फसिरहेका हुन्छन् र ती कलेजका विद्यार्थीलाई दर्ता गर्न समेत बंगलादेश डेन्टल तथा मेडिकल मान्दैनन् यो कुराको बारेमा उनीहरुलाई जानकारी समेत हुँदैनन् । 

सर्लाहीमा बस्ने बिक्रम लामिछाने (नाम परिवर्तन)ले काठमाडौं कै एक कन्सलटेन्सीबाट बंगलादेशमा सन् २०१२ मा एमबीबीएस पढ्नको लागि कलेजमा शुरुमा दश लाख बुझाएका थिए । लगतै उनी बंगलादेशको चिटगाउँस्थित बिजिसी ट्रस्ट मेडिकल कलेजमा पहिलो सेमेष्टरमा भर्ना भए । उनीसँगै कलेजमा त्यस ब्याचमा ३० जना नेपाली विद्यार्थीहरु भर्ना भएका थिए । 

मेडिकल काउन्सिलमा दर्ता हुने बेलामा  मात्रै कलेजको विभिन्न विषयलाई लिएर त्यहाँको अदालतमा मुद्दा चलिरहेको थाहा पाए । शुरुमा त कलेजले यो बिषयमा कसैलाई जानकारी गराएको थिएन । कलेजमा भर्ना रकम नबुझाइसकेका  ५ जना विद्यार्थीले कलेजमा लफडा रहेको थाहा पाएपछि अर्को कलेजमा ट्रान्सफर भएका थिए । लाखौं रकम तिरेर पढाई गरिरहेका विद्यार्थीहरु न आफूले चाहे जस्तो अर्को सम्बन्धन प्राप्त कलेजमा ट्रान्सफर हुन् पाउँछन् न पढाई नै छोड्न । 

बाँकी अरुले कलेजमा  पढ्नको लागि शुरुमै दश लाख  बुझाई सकेका थिए र त्यही कलेजमा पढ्नुपर्ने उनीहरुको बाध्यता थियो ।  कलेजले पनि अदालतमा मुद्दा चलिरहेको भन्दै स्टे अर्डर लिएर भए पनि उक्त सेमेष्टरका विद्यार्थीहरुलाई काउन्सिलमा रजिष्टर्ड गराउने आश्वासन दिएका थिए । उनी लगायत ८ जनाले सन २०१७ जनवरीमा एमबीबीएस परीक्षा पास गरेका थिए । मार्चमा बंगलादेशको डेन्टल तथा मेडिकल काउन्सिलमा पास गरेको सर्टिफिकेट सबै राखेर उनीहरुले दर्ताको लागि आवेदन दिएका थिए । 

कलेजमा पढाई पूरा भएर सन् २०१७ को जनवरीमा बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिलमा हस्पिटलमा इनटर्नको लागि रजिष्टर्ड हुन उनीहरुले आवेदन दिँदा काउन्सिलले कलेजले सीटसंख्या भन्दा बढी विद्यार्थी भर्ना भएको भन्दै दर्ता गर्न नमिल्ने बताएको थियो ।  पढाई पूरा गरिसके पछि पनि काउन्सिलमा दर्ता हुन नपाउँदा भने उनीहरु निकै आत्तिएका थिए । काउन्सिलले दर्ता गर्न नभएपछि उनीहरुले त्यहाँको हस्पिटलमा इन्टर्न समेत गर्न पाएनन् । 

सन् २०१२ मा विजिसी ट्रस्ट मेडिकल कलेजमा भर्ना भएका ३० जना नेपाली विद्यार्थीले दर्ताको समस्या भोग्नुपर्यो । काउन्सिलले ७५ सिट सम्ममात्र विद्यार्थी भर्ना लिन दिएको अनुमति बेगर कलेजले एकसय ५० विद्यार्थी भर्ना लिँदा त्यस्तो समस्या भएको थियो । 

अलपत्र परेका विद्यार्थीलाई कसैको सहयोग रहेन्

उनीहरुले आफूहरु विचल्लीमा परेको भन्दै बंगलादेशस्थित नेपाली दूतावास, नेपालको शिक्षा मन्त्रालय लगायत नेपाल मेडिकल काउन्सिलमा समेत पटकपटक फोन गरी आफूहरुको समस्याको बारेमा जानकारी गराएको  थियो तर कतैबाट सहयोग नमिलेको उनको गुनासो छ ।  

बंगलादेशस्थित नेपाली दूतावासमा फोन गर्दा काउन्सिलसँग यस विषयमा छलफल भइरहेको बाहेक केही  जवाफ नपाएपछि उनीहरु निराश भएका थिए । 

न काउन्सिलमा दर्ता न कुनै हस्पिटलमा इन्टर्न

त्यसो हुँदा उनीहरुलाई पैसाको समस्याले निकै गजेको थियो । साथमा पैसा नहुँदा र हस्पिटलमा इन्टर्न समेत गर्न नपाउँदा आर्थिक समस्याले सताएको थियो ।  आफ्नो समस्याबारे बुझाउँदै स्थानीय घरबेटीहरुसँग उधारो मागेर ६ महिनासम्म दैनिक गुजारा चलाएको उनले सुनाए ।  

अहिले फेरि कलेज कालोसूचीमा परेको खबर आफन्तहरुले खबर गरिरहेको उनले बताए । त्यतिबेला हामीलाई समस्या परेको बेला कुनै निकायले सुनेनन् उनले गुनासो पोखे । 
केही महिनाअघि कलेजको विषयमा अदालतमा चलिरहेको मुद्दा कलेजको पक्षमा फैसला गरेपछि मात्रै आफूहरुले बंगलादेशको डेन्टल तथा मेडिकल काउन्सिलमा दर्ता हुन् पाएको उनले बताए । 
६ महिनासम्म उनीहरुले त्यहाँको काउन्सिलमा दर्ता हुन् पाएनन् । र, यही अक्टोबरदेखि मात्रै अदालतको निर्णयपछि काउन्सिलमा दर्ता भएको उनले जानकारी दिए । काउन्सिलमा दर्ता भएसँगै उनी स्थानीय हस्पिटलमा इन्टर्न गर्दैछन् । 

कलेजमा सीधै पास हुने विद्यार्थीले त त्यहाँको काउन्सिलमा दर्ताको लागि निवेदन दिन्छन् तर फेल हुने विद्यार्थी मार्फत भने कलेजले दुई हजार डलर फाइन भन्दै तिराउँछन् । जुन कुरा उनीहरुलाई पहिले नै जानकारी गराउँदैनन् उनले भने । बंगलादेशमा मेडिकल शिक्षा पढ्न आउने नेपाली विद्यार्थीहरुलाई राम्रोसँग कलेजको बारेमा पहिले नै जानकारी लिएर मात्रै अध्ययन गर्न आउन उनको सुझाव छ । 

बंगलादेशमा एमबीबीएस र बीडिएस अध्ययन गर्ने विद्यार्थीहरुले बेलाबेलामा अध्ययनरत कलेजहरु कालोसूचीमा पर्दा मर्कामा पर्ने गरेका छन् । बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिलले अवैधरुपमा सञ्चालन गरेको भन्दै ३७ वटा मेडिकल कलेजहरुका विद्यार्थीलाई रजिष्टर्ड नगर्ने निर्णय गरेसँगै त्यहाँ पढ्ने करिब दुई नेपाली विद्यार्थीहरु मर्कामा परेका छन् । 

बर्षेनी करिब तीन सय विद्यार्थीहरु बंगलादेशमा अध्ययनका लागि जान्छन् । विदेशमा मेडिकल शिक्षा पढ्न जाने कुल विद्यार्थी मध्ये  ७२ प्रतिशत विद्यार्थीहरु बंगलादेशमा अध्ययनका लागि पुग्छन् ।
सन् २०१६ मा गरिएको अध्ययनका अनुसार मेडिकल शिक्षाका लागि विदेश पढ्न जाने ४ सय ७८ विद्यार्थीमध्ये ३ सय २८ विद्यार्थी बंगलादेश गएका थिए ।  

(बंगलादेशको चिटगाउँस्थित बिजिसी ट्रस्ट मेडिकल कलेजमा  सन् २०१७ मा एमबीबीएस अध्ययन पूरा गरेका विद्यार्थीसँग गरिएको कुराकानी )

Last modified on 2017-11-28 21:38:04

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts