फर्जि प्रतिवेदनका आधारमा मेडिकल कलेजलाई छात्रबृत्तिमा सिट

काउन्सिल भन्छ : हामी दर्ता गर्दैनौं



Download our app to get more features

काठमाडौं,११ मंसिर । शिक्षा मन्त्रालयले बिराटनगरका दुई मेडिकल कलेजलाई फर्जी प्रतिवेदनका आधारमा छात्रबृत्तिमा सिट दिएको छ । मन्त्रालयले बिराटनगरको विराट मेडिकल कलेजलाई आठ र नोबेल मेडिकल कलेजलाई १० सिटमा छात्रबृत्तिका विद्यार्थी पढाउन अनुमति दिएको हो । 

नेपाल मेडिकल काउन्सिलले एमबिबिएस तहमा विराटलाई यस वर्षका लागि दिएको ६५ सिट अनुसार छात्रबृत्तिमा ६ सिट मात्र दिनु पर्नेमा मन्त्रालयले दुई सिट बढाएर ८ सिटमा विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ । 
मन्त्रालयले नोबेल र बिराटको छात्रबृत्ति कोटामा भर्ना हुने विद्यार्थी नाम समेत प्रकाशन गरिसकेको छ

हेर्नुहोस् सूची

http://moe.gov.np/assets/uploads/files/Pre_nomination.pdf
यस्तै, मेडिकल काउन्सिलले नोबेललाई दिएको ९० सिटका आधारमा छात्रबृत्तिमा ९ सिट दिनुपर्नेमा मन्त्रालयले १० सिटमा विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ । 
यस अघि काठमाण्डौ विश्वविद्यालयले नोबेल र बिराटलाई १०÷१० सिटमा थप विद्यार्थी भर्ना गर्न पाउने गरि सिट थपिदिन काउन्सिललाई पत्राचार गरेको थियो । तर काउन्सिलले कलेजमा फर्जी प्रध्यापक र सिट थप्न चाहिने अन्य पूर्वाधार नभएको भन्दै केयूको आग्रह अस्वीकार गरेको थियो । 

तर शिक्षा मन्त्रालयले भने केयूले पठाएको पत्रलाई आधार मानेर थप १०÷१० का आधारमा बिराटलाई आठ र नोबेललाई १० सिटमा छात्रबृत्तिका विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ । 
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले बढी सिटमा शिक्षा मन्त्रालयले छात्रबृत्तिमा विद्यार्थी भर्ना गर्न कलेजलाई अनुमति दिए पनि ती विद्यार्थीलाई काउन्सिलमा दर्ता नगर्ने बताएका छन् । बास्कोटा भन्छन्, “सरकारले चिकित्सा शिक्षा सुधारका लागि प्रयास गर्नुपर्ने हो । तर त्यसरी विद्यार्थी भर्ना अनुमति दिए पनि काउन्सिलले दर्ता गर्न नसक्ने भनेर पत्र पठाउँछ ।” 

नोबेल र बिराट कलेज राजनीतिक पहुँचका आधारमा जसरी पनि सिट हत्याउन लागि परिरहेका छन् । सिट बढाउनका लागि बिराटका कलेज संञ्चालक ज्ञानेन्द्रमान सिंह कार्की र नोबेलका संञ्चालक सुनिल शर्माले काउन्सिल अध्यक्ष डा. धर्मकान्त बास्कोटा र केयूका डिन राजेन्द्र कोजूलाई दबाब दिएका थिए । 

डा. बास्कोटाले नोबेल र बिराटका संञ्चालकले दबाब दिए पनि आफुले सिट बढाउने निर्णय नगरेको बताउँछन् । तर, केयू डिन कोजूलाई भने उनीहरुले दबाबमा पारेर सिट बढाउन काउन्सिललाई पत्राचार गर्न लगाएको बताइन्छ । 

नोबेलका संञ्चालक शर्मालाई नेपाली काङ्ग्रेसले मोरङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य छानेको छ । उनी गैर–कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजश्व अनुसन्धान विभागबाट पटक–पटक छानबीनमा परेका छन् । बिराटका कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर अनियमितता गरेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका भाई हुन् । 

Last modified on 2018-03-27 04:46:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts