बढी रकम असुल्ने विराटको नाममा आयोगले काट्यो चिठ्ठी, नोबेल पनि ठगीको धन्दामा

ट्युसन शुल्कको नाममा थप १४ लाख तिर्न दबाब



Download our app to get more features

विराटनगर, १४ मंसीर । विराटनगरका मेडिकल कलेजहरुले काठमाडौं विश्वविद्यालयले तोकेको भन्दा लाखौं रुपैयाँ बढि रकम विद्यार्थीहरुबाट असुल्ने गरेको पाइएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा १ टंकिसनीबारीमा रहेको विराट मेडिकल कलेज र विराटनगर कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेजले विश्वविद्यालयले तोकेको भन्दा लाखौं रुपैयाँ बढी रकम एमबीबीएस अध्ययन गर्ने विद्यार्थीबाट असुलिरहेको पाइएको छ ।

नेपाल सरकारको निर्णयपछि काठमाडौं विश्वविद्यालयले एमबीबीएसका लागि ३६ लाख २८ हजार रुपैयाँ भर्ना शुल्क तोकेको छ । तर, विराटनगरका दुबै मेडिकल कलेजले विद्यार्थीबाट ५० देखि ६० लाख रुपैयाँसम्म असुल गरिरहेका छन् । आफूले मागेजति रकम नदिएका विद्यार्थीको भर्ना नै नलिएर उनीहरुले रकम तिर्न बाध्य पार्ने गरेका छन् ।

विराट मेडिकल कलेजले एमबीबीएसका  विद्यार्थीलाई नेपाल सरकारले तोकेकोभन्दा १४ लाख रुपैयाँ बढी शुल्क तिर्न दबाब दिएको छ । कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीलाई ५० लाख रुपैयाँ तिर्न दबाब दिएको नाम नबताउने सर्तमा एक विद्यार्थीले बताए । ‘भर्ना भएको एक वर्षपछि विराटले ५० लाख रुपैयाँ तिर्न दबाब दियो,’ ती विद्यार्थीले भने, ‘कलेज प्रशासनले ट्युसन शुल्क भन्दै सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न दबाब दिन्छ ।’ आफूहरुलाई थप शुल्कका लागि दबाब दिइरहेको उनले बताए ।

भर्ना भएको एक वर्षपछि ट्युसन शुल्क भन्दै विराटले थप १४ लाख रुपैयाँ तिर्न दबाब दिएपछि ती विद्यार्थीले चिकित्सा शिक्षा जाँचबुझ सम्बन्धी आयोगमा उजुरी गरेका थिए । उजुरीको सुनुवाई गर्दै आयोगले विराटलाई ‘के कति कारणले बढी शुल्क मागिएको हो ?’ भनेर स्पष्टीकरण सोधेको छ । आयोगले विराटलाई अविलम्ब कागजातसहितको जवाफ उपलब्ध गराउन साउन २६ गते पत्र काटेको थियो । तर, स्पष्टिकरण सोधिएको ४ महिना बितिसक्दा पनि कलेज प्रशासनले आयोगले पठाएको पत्रको कुनै जवाफ लेखेको छैन ।


मेडिकल कलेजका प्रमुख डा. ज्ञानेन्द्रमानसिंह कार्कीले भने अहिलेसम्म कुनैपनि आयोगबाट आपूmहरुलाई पत्र नआएको जिकिर गर्नुभएको छ । कलेजले तोकिएको भन्दा बढि शुल्क तिर्न दबाबसमेत नदिएको उनको दावी छ । विराट मात्र नभएर नोबेल मेडिकल कलेजले पनि विश्वविद्यालयले तोकेको भन्दा बढि शुल्क एमबीबीएस अध्ययन गर्ने विद्यार्थीबाट असुलिरहेको छ । चालु शैक्षिक शत्रमा विश्वविद्यालयले एमबीबीएसको लागि ४७ लाख ९० हजार रुपैयाँ तोकेकोमा ५७ लाख ९० हजार रुपैयाँ असुलिरहेको पाइएको छ ।


हालै कलेजमा भर्ना भएका एक विद्यार्थीले ५७ लाखा ९० हजार तिर्न आफू बाध्य भएको बताए । प्रवेश परीक्षामा वेटिङ लिस्टमा नाम भएका उनले कलेजले मागेको रकम नबुझाए भर्ना लिन नसक्ने नोबेल प्रशासनले भनेपछि १० लाख रुपैयाँ बढी तिर्न बाध्य भएको सुनाए । ‘मागेको रकम नतिर्दा भर्ना नपाईने, अर्को प्रवेश परीक्षाको लागि एक वर्ष समय खेर जाने अनि अर्को वर्ष शुल्क पनि बढ्नसक्ने भएकोले ऋण खोजेर १० लाख रुपैयाँ थप बुझाउन बाध्य भएँ’ उनले नाम नबताउने सर्तमा भने ।

Last modified on 2017-12-01 07:27:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts