एचआइभी संक्रमित भन्छन् : आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ



Download our app to get more features

रामपुर, पाल्पा, १५ मंसिर । रिब्दीकोट गाउँपालिका–७ का ४० वर्षीय लक्ष्मी कुँवर एचआइभी संक्रमित हुन् । ‘आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने अभियानमा उनी जुटेकी छन् । 

आफू एचआइभी संक्रमित भएको कुरा उनले समाजमा खुलेरै भन्दै हिँडेकी छन् । उनी आफूमात्र नभई अरुलाई पनि बाहिर ल्याउने अभियानमा प्रतिबद्ध सहयोग समूह गठन गरेर समाजमा विभिन्न जनचेतनामूलक काममा सक्रियरुपमा लागिरहेकी छन् । 

आफूले २०५१ सालमा एचआइभी संक्रमित भएको थाहा पाए तर चार वर्ष जति समाजको डरले बाहिर खुल्न सकिएन् । समाजको कुनै प्रवाह नगरी उनले २०५४ देखि आफू एचआईभी संक्रमित भएको भन्दै विभिन्न सामाजिक कार्यमा लागेकी छन् । 

“२०५१ मा वैवाहिक जीवनमा बाँधिए, त्यति बेला श्रीमान् एचआइभी संक्रमित हुनुहुँदो रहेछ, उहाँबाटै मलाई पनि स¥यो”कुँवरले भनिन्– “श्रीमान्ले नियमित औषधि सेवन नगर्दा उहाँको अकालमै मृत्युभयो ।” “श्रीमान्को मृत्युपछि केही समय रोग लुकाएर राखे, समाजका केही व्यक्तिले नराम्रो व्यवहार गर्न थालेपछि म आफैँ बाहिर खुलैरै हिँड्न थाले, अहिले नराम्रो सुन्नु परेको छैन” कुँवर बताउछिन् । 

उनी जिल्लाभित्र रहेका एचआइभी संक्रमितलाई साथमा लिएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आइरहेकी छन् । “आफूमा एचआइभी छ भनेर समाजसँग डराएर लुकेर बस्ने होइन, समाजमा खुलेर हिँडियो भने अरुसरह नै बाँच्न सकिन्छ” उनको भनाइ छ । 

एचआइभी संक्रमित भए पनि रोगदेखि डराउनु नपर्ने र नियमित औषधि सेवन गरे लामो समयसम्म बाँच्न सकिने भएपछि उनीमात्र होइन, उनीजस्तै धेरै संक्रमितले अहिले समाजमा खुलेरै बाहिर आउन थालेका छन् । 

रामपुरकी ४१ वर्षीय एचआइभी संक्रमित लक्ष्मी भण्डारी पनि चार वर्ष अघिदेखि समाजमा खुलेरै हिँडिरहेकी छन् । उनलाई एचआइभी लागेको अहिले ११ वर्ष भयो तर लामो समयसम्म उनी आफैँ रोगदेखि भित्रभित्रै लडेर पछि विस्तारै बाहिर आएको बताउ छिन् । उनी भन्छिन्, “शुरुमा डर र लाजले बाहिर आउन समस्या भयो, अहिले त गाउँघरमा सबैसँग मेलापातलगायतका विभिन्न कामकाजमा खुलैरै हिँड्छु, आफूलाई एचआइभी संक्रमित हुँ भन्ने अनुभव नै हुँदैन” । 

आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा ३१२ एचआइभी संक्रमित रहेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका हुन् । आव ०७२÷०७३ मा २९५ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु खुल्न थालेको उनले बताए । 

भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको ज्ञवालीको भनाइ छ । संक्रमितमध्ये ८७ प्रतिशतले जिल्लाको मिसन अस्पतालबाट एआरटी सेवा लिदैँ आएको छ । जिल्लामा रहेका ३१२ एचआइभी संक्रमितमध्ये अहिलेसम्म ४१ जनाले समाजमा खुलैर हिँड्ने गर्छन् । रासस

Last modified on 2017-12-02 07:36:47

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts