एमबीबीएस पुनः प्रवेश परीक्षा आज

१० बजे सुरु हुने परीक्षाका लागि विद्यार्थीलाई ७ बजे नै परीक्षा केन्द्रमा बोलाईयो



Download our app to get more features

काठमाडौं, १६ मंसिर । गत २८ असोजमा लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द भएपछि त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युड अफ मेडिकल (आइओमएम) ले आज (शनिवार) पुनः परीक्षा लिने तयारी गरेको छ । २८ असोजको प्रवेश परीक्षामा परीक्षार्थीहरूले विद्युतीय यन्त्र प्रयोग गरी चिट चोरेको र प्रश्न पत्र बाहिरिएको पुष्टि भएपछि आइओएम कार्यालयले परीक्षा रद्द गरेको थियो । 

आइओएम डिन कार्यालयका अनुसार आज हुने प्रवेश परीक्षाको सबै तयारी पुरा भइसकेको छ । साथै यस पटकको प्रवेश परीक्षा निकै कडा पारिनेछ । यसका लागि आइओमएम कार्यालयले प्रहरीलाई पत्रचार गरिसकेको जानकारी दिएको छ ।
परीक्षामा कुनै अनैतिक गतिविधि नहोस भनेर १० बजे सुरु हुने परीक्षाका लागि विधार्थीलाई ७ बजे नै परीक्षा केन्द्रमा बोलाइएको छ । परीक्षा केन्द्रहरूमा फोन नलाग्ने मेसिनदेखि शरीरमा रहेका सबै बस्तु पत्ता लगाउने ‘मेटल डिटेक्टर’ को समेत प्रयोग हुनेछ । 

परीक्षा केन्द्रमा सादा पोशाकमा केन्द्रीय अनुसन्धान ब्यूरो तथा अपराध महाशाखाबाट समेत प्रहरी खटिनेछन् । विद्यार्थीले परीक्षा हलभित्र प्रवेश गर्नुअघि ‘वाक थ्रु’ गेट पास गर्नुपर्नेछ । त्यसपछि प्रहरी चेकजाँच हुनेछ । साथै परीक्षा हलमा जानको लागि महिला र पुरुषलाई छुट्टाछुट्टै चेकजाँच गर्ने डिनको कार्यालयले जनाएको छ । मोबाइल, पर्स, घडी परीक्षा हलमा प्रतिबन्धित छ भने गरगहना समेत लगाउन नपाइने जनाइएको छ । 
परीक्षार्थीहरूले पावर लगाएको बाहेकका चश्मा लगाएर हलमा प्रवेश गर्न पाइनेछैनन् । 

Last modified on 2017-12-02 10:06:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts