विश्व स्वयंसेविका दिवस

बिरामीको असल साथी : खोकनाकी हरिशोभा 

What's This?


Download our app to get more features

काठमाडौं, १९ मंसिर । शहरमुखी स्वास्थ्य सेवा विस्तारले गाउँलाई छुन नसकेको यथार्थ हो । नेपालका ग्रामीण भेगमा सञ्चालिन स्वास्थ्य संस्था अझै पनि अहेब र महिला स्वयंसेविकाको भरमा छन् । गाउँमा बस्ने नागरिक आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित रहँदै आएका छन् ।

आधारभुत स्वास्थ्य सेवा समेत नपाएका नागरिक र गम्भीर बिरामी भएपछि मात्रै अस्पताल पुग्ने बानीले हाम्रो स्वास्थ्य चेतना कति छ भन्ने प्रष्ट हुन्छ । तर, ती ग्रामीण भेगमा स्वास्थ्य केन्द्र वा चौकीको विकल्प पनि छैन । स्वास्थ्य केन्द्र र चौकीमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले भने निरन्तर दिलोज्यान लगाएर सेवा गरिरहेका छन् ।  

यस्तै ललितपुरको दक्षिणी भेगमा पर्ने खोकनाका महिला स्वयंसेविका  पनि निकै सक्रिय छन् । साविकको खोकना—१ मा बस्ने ३१ बर्षीया हरिशोभा डंगोल महिला स्वयमसेविका हुन् । उनले स्वयमसेविकाको सहयोगीका रुपमा काम गरेकै १५ बर्ष भइसक्यो । आफ्नो फुपुसँगै स्वास्थ्य सम्बन्धी तालिममा हिँडेकी उनी अहिले गाउँको महिला स्वयंसेविकाका रुपमा चिनिन्छिन् । उनी एक गृहणी पनि हुन । तर उनले महिला स्वयंसेविकाका रुपमा गाउँमा गरेको काम सराहनीय छ । नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य कार्यक्रम अन्तर्गत उनी गाउँमा स्वास्थ्य सेवा दिने तथा जनचेतना फैलाउने काम गर्छिन् ।  उनी भन्छिन्, ‘गाउँमा उनीहरूसँगै बस्दा स्थानीय दिदीबहिनीहरूलाई के भइरहेको छ भन्ने थाहा हुन्छ । उनीहरूलाई आफूले जानेको सल्लाह दिने गर्छु । स्वास्थ्यमा सामान्य समस्या हुँदा समेत मलाई डाक्छन् ।’ 

जनस्वास्थ्य कार्यालय अन्तर्गत सञ्चालित स्वास्थ्य केन्द्रले हरेक महिला स्वयमसेविकाको लागि रुघाखोकी, ज्वरोको औषधि (सिटामोल), महिलाले प्रयोग गर्ने अस्थायी साधनहरू, पिल्स लगायत प्राथमिक उपचारको लागि चाहिने औषधि उपलब्ध गराएको हुन्छन् । कोही बिरामी पर्यो भने वा चोटपटक लागेर घाइते भएको अवस्थामा प्राथमिक उपचारको लागि चाहिने औषधि बोकेर उनी बिरामीको घरतिर कुद्छिन् । त्यसबाहेक उनी बर्षको दुई पटक पाँचमुनिका बालबालिकाको लागि भिटामिन, बर्षमा एकपटक खोप र हात्ती पाइलाको औषधि खुवाउने समेत गर्छिन् । 

महिला समूहमा स्वास्थ्य सचेतना

खोकनाको हरेक टोलमा महिला समूह गठन भएका छन् । हरिशोभाले महिनाको एक पटक सबै महिलालाई जम्मा गरेर स्वास्थ्य सम्बन्धी जनचेतनामूलक शिक्षा पनि दिने गर्छिन् । गर्भवती महिलाको हेरचाह कसरी गर्ने, बच्चालाई कसरी हेरचाह राख्ने तथा महिलासम्बन्धी स्वास्थ्य सम्बन्धी जानकारी दिने गर्छिन् । खोकनामा स्थापित स्वास्थ्य केन्द्रबाट हरिशोभा बेलाबेलामा स्वास्थ्य तालिम समेत लिने गर्छिन् । 

‘अधिकांश महिला आफूलाई परेको समस्या खुलेर कुरा गर्न लजाउँछन् । जसका कारण उनीहरूको समस्या थप जटिल बन्छ’ उनले भनिन् । गाउँमा उनीहरुसँगै बस्ने हुँदा स्वास्थ्यको बारेमा जानकारी राख्नुका साथै आवश्यक सल्लाह पनि दिने गरेको उनको भनाइ छ । ‘जटिल समस्या नै देखिए स्वास्थ्य केन्द्र र अस्पतालसम्म पुर्याउने काम गर्छु’ उनले भनिन् । 

घरको कामसँगै गाउँमा स्वयंसेविकाका रुपमा काम गर्दा उनी निकै खुशी छिन् । उनी गाउँले दिदीबहिनीहरूको एक असल साथीका साथै महिला स्वयंसेविकाका रुपमा परिचित छिन् । 

उनी भन्छिन् ‘हाम्रो सामान्य स्वास्थ्य चेतनाले पनि कसैको जीवनमा सहयोग मिल्छ भने त्यो ठूलो कुरा हो ।’ हामीले ठूला उपचार गर्न नसके पनि रोग तथा संक्रमणबाट बच्चा, आमा तथा दिदीबहिनीको स्वास्थ्यमा सचेतना ल्याउनु नै ठूलो भएको उनी बताउँछिन् ।  हरिशोभा जस्तै खोकनामा ९ जना महिला स्वयंसेविका कार्यरत छन् । 

Last modified on 2017-12-06 07:42:23

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts