आईएनजिओको जागिरे डा. चौधरी स्वास्थ्य सचिवको दौडमा 



Download our app to get more features


काठमाडौं, २७ मंसिर । स्वास्थ्य मन्त्रालयको बाह्रांै तहमा कार्यरत डा. पुष्पा चौधरीले आईएनजिओको तलब खाने गरेको प्रमाण फेला परेको छ । सरकारी सेवामा कार्यरत डा. चौधरीले २०१५ देखि डिसेम्बर २०१७ सम्म महिनाको डेढ लाख रुपैयाँ (१५ सय अमेरिकी डलर) तलब लिइरहेको प्रमाण फेला परेको हो । 

एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट तीन वर्षदेखि निरन्तर मोटो रकम तलबका रुपमा लिएको प्रमाण फेला परेपछि दोहोरो सुविधा लिएको भन्दै स्वास्थ्य मन्त्रालयमा विवाद समेत भइरहेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट तलब बुझ्ने उनै चौधरी अहिले स्वास्थ्य मन्त्रालयको सचिवका लागि दौडधुप गरिरहेकी छन् । तर,स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले भने विवादास्पद छवीकी चौधरीलाई स्वास्थ्य सचिव जस्तो जिम्मेवारपूर्ण पदमा नियुक्त नगर्न सरकारलाई आग्रह गरेका छन् । मन्त्रालयको सचिव डा. किरण रेग्मी यसै साता सेवा निवृत्त भएपछि मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. चौधरी सचिवको प्रमुख दावेदार हुन् । 

स्वास्थ्य सेवा ऐन यस्तो छ व्यवस्था 
स्वास्थ्य सेवा ऐनमा सरकारबाट तलब सुविधा लिएर स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अन्य राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट दोहोरो तलब लिन नपाउने व्यवस्था छ । ऐनमा स्पष्ट व्यवस्था रहदारहदै पनि डा. पुष्पा चौधरीले पदिय दुरुपयोग गर्दै १ जनवरी ०१५ देखि डिसेम्बर ०१७ सम्म तीन वर्ष महिनाको डेढ लाख (१५०० अमेरिकी डलर) पाउने सर्तमा स्त्री रोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संगठन फिगोमा कार्यक्रम संयोजकका रुपमा काम गरेकी थिइन । 

पदिय मर्यादाको दुरुपयोग
डा. चौधरीले अन्तर्राष्ट्रिय संगठन फिगोमा काम गर्ने बेलामा स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महासाखाको निर्देशक थिइन । उनले सो संस्थाको कार्यालय आफ्नै घरमा राख्ने सम्झौता गर्न लगाएर पति डा. श्रवण चौधरीलाई घरधनी बनाई महिनाको ४० हजार थप लिएको पनि पत्र उल्लेख छ । डा. चौधरीले गरेको पदिय हैसियतविपरित गरेको काम बाहिर आएसँगै उनलाई सचिव बनाउनु नहुने भन्दै स्वास्थ्य मन्त्रालयमा उजूरी परेको छ । उजुरी परेसंगै मन्त्रालयले त्यसका बिषयमा जानकारी गराउन प्रसूति तथा स्त्रीरोग डाक्टर समाज नेपाल ( नेसोग) लाई पत्र पठाएको स्वास्थ्य मन्त्रालय स्रोतले जाएको छ । 

यस्तो छ नेसोगको भनाई  
नेसोगकी अध्यक्ष डा. लता बज्राचार्यले विदेशी संस्थाबाट मासिक डेढ लाख रुपैयाँ तलब लिने गरेको प्रष्ट पारेकी छन् । स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउने क्रममा उनले भनेकी छिन, ‘सन् २०१५ देखि सन् २०१७ सम्मका लागि पीपीआईयुडी नामक प्रोजेक्ट सञ्चालनका लागि दुई पक्षिय सम्झौता भएको हो । यो सम्झौता हालसम्म पनि जारी छ ।’ उनले नेपाल सरकारबाट डा. पुष्पा चौधरीलाई काम गर्न दिनु भनेर आधारीकारीक पत्र भने नआएको उल्लेख गरिन् ।

प्रसूति गृहको निर्देशक हुँदा डा. चौधरी नेसोगको अध्यक्ष
प्रसूति गृहको निर्देशक हुँदा डा. चौधरी (सन् २०१३ देखि २०१५ सम्म ) नेसोगकी अध्यक्ष थिइन । त्यही बेला उनले पीपीआईयूडी नामक प्रोजेक्ट सञ्चालनका लागि फिगोसँग सम्झौता गरेर संंयोजक भएकी थिइन । तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका रामजनम चौधरीले डा. पुष्पा चौधरीलाई कारवाही गर्नुको सट्टा परिवार स्वास्थ्य महासाखाबाट स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाएर जोगाएका थिए । 
 

Last modified on 2017-12-14 07:51:07

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts