स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अवस्थामा सुधार



Download our app to get more features

रामपुर (पाल्पा), २८ मंसिर । जिल्लामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलाको अवस्थामा सुधार आएको पाइएको छ । 

महिलामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा पछिल्लो समय स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलाको संख्या बढ्दो छ । स्वास्थ्य कार्यालयले २०६८ बाट जिल्लामा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलालाई ठूलो सघाउ पुगेको हो । 

नेपालमा करिब ६० प्रतिशत महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको तथ्यांक छ भने पाल्पा जिल्लामा ८५ प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए । 

सरकारले उपलब्ध गराएको आमा सुरक्षा कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चारपटकसम्म गर्भ परीक्षण गराउनेलाई रु ४ सय प्रदान गर्न थालेपछि स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन थालेको उनले बताए । 

रामपुरकी लक्ष्मी रानाले तीन वटा बच्चा स्वास्थ्य संस्थामा नै गएर जन्माइन् । “स्वास्थ्य संस्थामा नै गएर तीनपटकसम्म बच्चा जन्माउँदा यातायात खर्च एक÷एक हजार र चारपटक गर्भ परीक्षण गराएको चार-चार सय रकम र बच्चा तथा आमाका लागिसमेत कपडा बुझेको छु”, उनले भनिन् । सुरक्षित तरिकाले सुत्केरी हुन पाएपछि आमा र बच्चाको ज्यान जोखिमुक्त हुने हुँदा स्वास्थ्यमा नै गएर बच्चा जन्माउन अरुलाई पनि सल्लाह दिने गरेको लक्ष्मीले बताइन् । 

जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कूल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको छ । यी स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी गराउने व्यवस्था छ । जिल्लाको मिशन अस्पताल तानसेनमा आमा सुरक्षा कार्यक्रम लागू नभए पनि त्यहाँबाट पनि सुरक्षित सुत्केरी गराउने व्यवस्था छ । 

आव २०७३-७४ को असार मसान्तसम्ममा लुम्बिनी मेडिकल कलेज प्रभासमा दुई हजार ३ सय ५९, मिशन अस्पतालमा दुई हजार ९३, रामपुर अस्पतालमा २ सय ४१, मदनपोखरा स्वास्थ्य चौकीमा १ सय १८, ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा ८८, छहरा प्राथमिक स्वास्थ्य चौकीमा ७३ र अन्य अस्पतालमा गरी पाँच हजार ३ सय ३७ जना स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका छन् । 

कार्यालयको तथ्यांकअनुसार २०७१-७२ मा छ हजार ५ सय र २०७२-७३ मा छ हजार ३ सय महिला स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएकाले जिल्लामा पछिल्लो समय मातृशिशु तथा नवजात शिशुको मृत्युदर न्यून हुँदै गएको हो ।

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts