आपतकालिन तथ्यांक संकलन एप बनाउँदै नर्सिङ संघ



Download our app to get more features

काठमाडौँ, २८ मंसिर । नेपाल नर्सिङ संघले आपतकालिन तथ्यांक संकलन गर्ने मोबाइल एप्लिकेसन बनाउने भएको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले नेपाल नर्सिङ संघलाई दिएको एक लाख यूरोबाट मोबाइल एप्लिकेसनसहितका विभिन्न कार्य गर्न लागेको हो । यही वर्ष यूएनले नर्सिङ संघलाई जोखिम कटौती अवार्ड र एक लाख यूरो प्रदान गरेको थियो । 

सो रकम मोबाईल एप्लिकेसन विकास गर्नेदेखि जोखिमका बेला सेवा प्रवाह गर्ने मास्टर ट्रेनर नर्सहरू उत्पादन गर्न खर्च गर्न लागेको नर्सिङ संले जनाएको छ । नर्सिङ संघले पुरस्कार राशीबाट आपतको बेला कसरी सेवा प्रदान गर्ने, मोबाइल एप निर्माणसहितको योजना बनाइएको र उक्त कार्यक्रम दुई वर्षभित्रमा सम्पन्न गर्ने नर्सिङ संघकी कार्यक्रम संयोजक अप्सरा पाण्डेले बताइन् । 

संयोजक पाण्डेले योजनामा विद्यालय, समुदाय, प्राकृतिक विपत र आमाशिशु सुरक्षा कार्यक्रम रहेको बताइन् । मोबाइल एपबाट कुनै पनि क्षेत्रबाट आपतकालिन अवस्थाको तथ्यांक संकलन भए तुरुन्त केन्द्र र सम्बन्धित निकायमा सूचना पठाउन मद्दत गर्छ । जसको सहयोगले सम्बन्धित क्षेत्रमा तत्काल समस्याको समाधान गर्न सहज हुन्छ । यसैगरी आपतकालिन अवस्थामा कसरी सहज स्वास्थ्य सेवा प्रदान गर्न भन्ने बारे १ पुसमा विशेष कार्यशाला आयोजना गर्न लागेको पाण्डेले बताइन् । उनले फिलिपिन्स र जापानका विशेषज्ञ नर्स टोलीले आपतकालिन अवस्थामा स्वास्थ्य सेवा कसरी दिने भन्ने बारे कार्यशालाका सहभागि नर्सहरूलाई तालिम दिने जानकारी दिइन् । 

नेपालका ८ जिल्लाबाट गरी १५-१५ जना नर्सलाई तालिम दिइनेछ । पहिलो चरणमा तालिम लिएका नर्सले आफ्नो जिल्लाका अन्य नर्सलाई आपतकालिन अवस्थामा गरिने सेवा प्रवाह र मोबाइल एपको माध्यमबाट कसरी केन्द्र र सम्बन्धित निकायलाई जानकारी गराउने भन्ने बारे तालिम दिनेछन् । पहिलो चरणको तालिममा काठमाडौं उपत्यका, विराटनगर, धादिङ, सिन्धुपाल्चोक, कास्की, स्याङ्जा, रुपन्देही, सिन्धुपाल्चोक जिल्लालाई समेटिएको संयोजक पाण्डेले बताइन् ।  
 

Last modified on 2017-12-15 09:28:13

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts