प्रभावकारी बन्दै खोप पछिको सरसफाई कार्यक्रम

२ प्रतिशत बाट ५३ मा पुग्यो



Download our app to get more features

काठमाडौं, ४ मंसिर । सरकारले चार जिल्लाबाट सुरु गरेको नियमित खोप सेवा मार्फत सरसफाई प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनेको छ ।

२१ महिना अघि नमुना परियोजनाका रुपमा स्वास्थ्य मन्त्रालयले म्याग्दी, नवलपरासी, बर्दीया र जाजरकोटमा सुरु गरेको नियमित खोप सेवा मार्फत सरसफाई प्रबद्र्धन कार्यक्रम प्रभावकारी बनेको हो । 

कार्यक्रम संचालनको २१ महिना मै चार जिल्लाका आमाहरुको व्यवहारमा उल्लेख्य सुधार आएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । चार जिल्लाका ३५ हजार आमाहरुमा बिभिन्न प्रकारको अध्ययन गरीएको थियो ।

खोप पछिको सरसफाई कार्यक्रम बारे ३५ हजार मध्ये ५५८ जना एक बर्ष मुनिका बालबालिकाका आमाहरुमा नमुना संकलन गरीएको निर्देशक डा. बिकास लामिछानेले बताए । जसमा ९३ प्रतिशत अर्थात ५१९ जनाले कार्यक्रमबारे सन्तुष्टी लिएको पाइएको छ ।  

बच्चालाई खोप लगाएपछि कसरी सरसफाई गर्ने भन्नेमा २ प्रतिशत अर्थात ११ जनामा मात्रै सामान्य जानकारी रहेको अध्ययनले देखाएको छ भने, २९५ जनाले पुरानो व्यवहारलाई परिवर्तन गरेको देखिएको छ । 

कार्यक्रमलाई देशभर पुर्याउने लक्ष्य 
चार जिल्लाबाट सुरु भएकोे नियमित खोप सेवा मार्फत सरसफाई प्रबद्र्धन कार्यक्रम देशभर पुर्याउने लक्ष्य सरकारले राखेको छ । बालस्वास्थ्य महाशाखा र वाटरएडको प्राविधिक सहयोगमा गरीएको यो कार्यक्रम नेपालबाट सुरु भएको हो । यसलाई देशभर पुर्याउछौं स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. राजेन्द्र पन्तले भने । हामीलाई यो कार्यक्रमबाट हौसला मिलेको छ पन्तले भने, बाल मृत्युदरमा समेत कम गराउन सक्ने भएकाले यसलाई राज्यले प्रार्थमिकताका साथ राख्नेछ । 

सरसफाईका यस्ता पाँच सुत्र 
बच्चा जन्मेको ६ महिना सम्म पूर्ण स्तनपान गराउने, साबुनपानीले मिचिमिचि हात धुने, खानाको स्वच्छता, बच्चाले गरेको दिसा शौचालयमा मात्रै फाल्ने र पानी तथा दुधको शुद्धीकरणलाई सम्बोधन गर्ने रहेको छ । हरेक पटक बच्चालाई खोप लगाउन गएको अवस्थामा ३० मिनेट आमाहरुलाई यी पाँच सुत्रका बारेमा जानकारी गराईन्छ निर्देशक लामिछानेले भने । सरकारी तथ्याङक अनुसार देशभर ६ लाख ३० हजार बच्चाहरुले हरेक पटक खोप लिने गरेका छन् । खोप पछिको सरसफाई लाई प्रभावकारी बनाउन आमाहरुलाई एक दिनको भक्ताको व्यवस्था गर्ने तर्फ सरकार लागेको लामिछानेले बताए । 

Last modified on 2017-12-19 13:38:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts