एउटा डाक्टरको प्रयासले फेरियो शिवराज अस्पताल



Download our app to get more features

मुलुककै जेठो मध्येको एक शिवराज अस्पताल जहाँ दुई वर्ष अघिसम्म न ओपीडी सेवा राम्रो थियो न त बिरामी भर्ना गर्ने इन्डोरकै व्यवस्था थियो । गाउँको अस्पताल अस्तव्यस्त भएपछि कपिलवस्तुका सर्वसाधारण सामान्य उपचारका लागि पनि भारतको बढ्नी अथवा लखनउ जाने गर्थे । शिवराज अस्पताल कहिले डाक्टर त कहिले नर्स अभाव, कहिले औषधि त कहिले उपकरण अभावको बहनामा बन्द रहने गथ्र्यो । नाम अस्पताल भए पनि स्वास्थ्य चौकीको जत्तिको काम पनि शिवराज अस्पतालले गर्न सकेको थिएन । 

करिब दुई वर्षअघि अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा डा. राहुल झाको प्रवेशपछि अस्पतालको स्वरूप परिवर्तन भएको छ । डा. झाले बिरामी जाच्ने काम मात्र गरेनन् पूरै अस्पतालको प्रणालीनै सम्हाले । उनले अस्पतालको ओपीडी संचालनमा मात्र सुधार ल्याएनन् इन्डोरको व्यवस्था, इमर्जेन्सीमा आवश्यक सामाग्री तथा औजार व्यावस्थापन, अस्पतालमै फर्मेसी, नियमति औषधि आपुर्ति, एम्बुलेन्स र क्यान्टिन व्यवस्थित समेत बनाए । डा. झाले अस्पतालमा एक्सरे, भिडियो एक्सरे तथा ल्याब सेवामा सुधार गर्न मन्त्रालयमा पटकपटक धाए । उनको मेहनतको फल अहिले कपिलवस्तुवासीले चाखी रहेका छन् । यहाँका बिरामी भारत जाने होइन भारतबाट समेत बिरामी आउन थालेको अस्पतालको इमर्जेन्सी इन्चार्ज दुर्गेशलाल चौधरीले बताए ।

कपिलवस्तुमा भदौ महिनामा झाडापखाला तथा भाइरल ज्वरोले दुई जनाको मृत्यु भयो । प्रकोप फैलन नदिन र नियन्त्रणमा ल्याउन डा. झाको नेतृत्व वस्तीमा स्वास्थ्य टोलीसहित खटिएको थियो । 
अजिगरा स्वास्थ्य चौकीका प्रमुख अनिलकुमार विश्वकर्माले जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा औषधि अभाव हुँदा समेत शिवराज अस्पतालले चौकीहरूलाई औषधि उपलब्ध गराएकोे बताए । डा. झाले अस्पतालमा मात्र सेवा प्रवाह नगरि स्वास्थ्य चौकीमा समेत गुणस्तरिय सेवा प्रवाहमा सहयोग गर्ने गरेको उनले बताए ।

भारतबाट समेत आउन थाले बिरामी

अस्पतालमा गुणस्तरी सेवा पाउन थालेपछि अस्पतालप्रति स्थानीयको चासो बढ्न थालेको छ । अहिले अस्पतालमा कपिलवस्तुका बिरामी मात्रै नभइै अन्य जिल्ला र भारतबाट समेत बिरामी आउने क्रम बढेको मेडिकल अधिकृत डा. आलोक थैबले जनाए । 

गत बिहीवार यिनै डा. राहुल झा, डा. लकेन्द्र थापा र अहेब धनलक्ष्मी श्रेष्ठले अस्पतालबाट बिदा लिएका छन् । बिदाइ कार्यक्रममा डा. झाले एक्लो प्रयासले मात्रै अस्पताल सुधार नभईको र आगामी दिन पनि सिंगो टिमले अस्पतालको गुणस्तर टिकाइ राख्ने विश्वास व्यक्त गरे । उनले अस्पताल विकास समिति, नर्स, स्वास्थ्यकर्मी लगायत सम्पूर्ण टिमको प्रशंसा पनि गरे । डा. आलोक थैबले दुई जना डाक्टर बिदा भएसँगै यस अस्पतालमा सेवा प्रवाहमा समस्या पर्ने र तत्काल मेडिकल अधिकृतको व्यावस्था गर्न माग गरेका छन ।
 

(पुरी जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा कार्यरत छन् ।)
 

Last modified on 2017-12-20 09:08:29

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts