विशेषज्ञ चिकित्सक विनै कान्तिमा क्यान्सरको उपचार

आवश्यक मात्रामा नर्स र शय्या पनि अभाव



Download our app to get more features

काठमाडौं, ५ पुस । कान्ति बाल अस्पतालको अंकोलोजी वार्ड विशेषज्ञ चिकित्सकविनै सञ्चालन भइरहेको छ ।

हरेक महिना १५ जनासम्म क्यान्सरका नयाँ बिरामी आउने कान्ति अस्पतालको अंकोलोजी वार्ड तालिम लिएका चिकित्सकको भरमा मात्रै सञ्चालन भइरहेको छ । अंकोलोजी वार्डमा २६ शय्या छन् । कुनै बेला अंकोलोजी वार्डमा मात्रै बिरामी नअटाएर अन्य वार्डमा समेत बिरामी राख्नु पर्ने बाध्यता छ ।

बिरामीको संख्या बढे पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्रभावकारी हुन सकेको छैन । अस्पतालमा चिकित्सक मात्रै होइनन् आवश्यक मात्रामा नर्स र शय्या पनि अभाव रहेको अस्पतालले जनाएको छ । 

अस्पतालमा कार्यरत डा. कैलाश शाह बालरोग विशेषज्ञ हुन् । तर उनी अंकोलोजी वार्डमा कार्यरत छन् । उनले सन् १९०८ मा इंल्याडबाट, सन् २००२ र २००३ मा भारतबाट अंकोलोजी सम्बन्धी तालिम लिएका थिए । यस्तै, अस्पतालका अर्का डाक्टर प्रकाशनिधि तिवारी सिनियर बालरोग विज्ञेषज्ञ हुन् । उनी पनि तालिमकै भारमा अंकोलोजी वार्डमा कार्यरत छन् । 

दक्ष जनशक्ति अभाव
अस्पतालका निर्देशक डा. गणेश राईका अनुसार सो वार्डमा कार्यरत डाक्टरहरूले तालिम पाए पनि वार्डमा कार्यरत नर्सले कुनै पनि तालिम पाएका छैनन् । उनी विशेषज्ञ चिकित्सक अभावमा अस्पतालबाट दिदै आएको उपचार सेवा प्रभावकारी हुन नसकेको स्वीकार गर्छन । 

अंकोलोजी वार्डको प्रमुख भएर पनि क्यान्सर सम्बन्धी कुनै तालिम नपाएको बताउछिन निर्मला शाह । उनका अनुसार यस वार्डका सबै नर्स तालिमविनै काम गरिरहेका छन् । तालिमको अवसर आए पनि डाक्टर नै जाने गरेको उनको भनाइ छ । तालिम अभावले कतिपय अवस्थामा समस्या आउने गरेको वार्ड प्रमुख शाहले बताइन । अस्पतालले पुराना नर्सलाई अनुभवका आधारमा अंकोलोजी वार्डमा राख्दै आएको छ । 

अंकोलोजीमा शय्या थप्न माग
अस्पतालको अंकोलोजी वार्डमा २६ शय्या छन् । तर अस्पताल आउने बिरामीको अनुपातका शय्या संख्या निकै भएको अस्पतालका निर्देशक डा. गणेशप्रसाद राईले बताए । उनले अंकोलोजी वार्डमा ५० शय्या आवश्यक रहेको बताए । साथै अस्पतालमा तत्कालै ४० देखि ५० जना स्टाफ नर्स पनि आवश्यक रहेको निर्देशक राईले बताए ।

उपचारका लागि अस्पताल आएका क्यान्सरका बिरामीलाई जो कोही स्टाफ सेवा दिन पनि तयार नहुने अंकोलोजी वार्ड प्रमुख निर्मला शाहले बताइन । आवश्यक तालिम र विषयवस्तु प्रतिको ज्ञान अभावमा क्यान्सरका बिरामीको उपचार गर्न डराउने गरेको उनको भनाइ छ । शाहले भनिन् ‘अस्पतालका कुनै पनि नर्स क्यान्सर सम्बन्धी तालिमप्राप्त नर्स छैनन् । जसले गर्दा उपचार गराउन उनीहरू डराउँछन ।’
 

Last modified on 2017-12-21 13:31:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts