पाँच वर्ष मुनिका बच्चामा हुने रेटिनोब्लाष्टोमा बारे जानौँ



Download our app to get more features

काठमाडौँ, १२ पुष । के तपाईंले पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो, आँखा असामान्यरुपमा रातो भएको, बिस्तारै बाङ्गो अर्थात् डेडो हुँदै गएको देख्नुभएको छ ? 

कहिलेकाहीँ सामान्य समस्याले यस्ता लक्षण देखिएको भए पनि यो पाँचवर्षमुनिका बच्चालाई मात्र देखिने आँखाको पर्दामा हुने एक प्रकारको क्यान्सर रेष्टिनोब्लाष्टोमाको कारण पनि हुनसक्छ । 

पाँच वर्षमुनिका बालबालिकाका आँखामा हुने विभिन्न रोगमध्ये देखिने रेटिनोब्लास्टोमा पनि एक हो । 

तिलगंगा आँखा प्रतिष्ठानका आँखा क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार स्थापितले यो रोग निकै कम मात्रा देखिए पनि यसबाट आँखाको ज्योति गुमेर आँखै फाल्नुपर्ने वा रोग पुरानो भएर ज्यानै जानसक्ने पनि बताइन् । 

उनले भनिन्, “रेटिनोब्लास्टोमा जटिल रोग भए पनि समयमै पत्ता लगाउन सकेमा आँखाको ज्योति बचाउनाका साथै रोग निको पार्न पनि सकिन्छ ।” 

तिलगंगामा अघिल्लो वर्ष आएका ४० भन्दा बढी बच्चामा आँखाको क्यान्सर अर्थात् रेटिनोब्लाष्टोमा देखिएको थियो । 

बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जका बाल नेत्र रोग विशेषज्ञ डा ज्योति श्रेष्ठका अनुसार सुरुवात्का दिनमा आँखामा यस्ता परिवर्तनहरु देखिन थाले पनि बच्चा स्वस्थ नै देखिन्छ, तर विस्तारै देख्नसक्ने क्षमतामा भने कमी आइरहेको हुन्छ । 

बच्चाको आँखा रातो हुँदा उनीहरुमा दुखाई हुने, चिडचिडावट हुने र झगडालु पनि हुनसक्छन तर त्यसबारे आमालाई वा परिवारका अरुलाई थाहा नै हुँदैन । त्यसै शुरुवाती दिनमा रोग पत्ता नलाग्दा उपचार गर्न ढिला भइसक्ने चिकित्सकको अनुभव छ । 

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बाल नेत्रविशेषज्ञ डा सविना श्रेष्ठले फ्ल्यास क्यामेराले फोटो खिच्दा बच्चाको आँखाको नानीमा सेतो थोप्लो भए प्रष्ट देखिने भएकाले थाहा पाउन सजिलो हुने बताइन् । 

उपचारमा ढिलाइ हुँदै जाँदा वा उपचार नभएमा नानीमा देखिएको सेतो भाग फैलिएर विस्तारै डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्यरुपमा ठूलो हुँदै जान्छ । 

यसरी आँखा बाहिर निस्किएपछि त्यसको असर (क्यान्सर) आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै मस्तिष्क, कलेजो, बोनम्यारो आदिमा फैलिएर अरु समस्या देखिन्छ । यसले बच्चाको ज्यान जोखिममा पर्ने डा श्रेष्ठले बताइन् । 

अमेरिकामा हरेक २० हजार बच्चामध्ये एकजनामा यो रोग देखिन्छ । सबैभन्दा हाइटीका १० हजार बच्चामध्ये एकजनामा यस्तो समस्या देखिएको पाइएको छ । सबैभन्दा कम नेदरल्याण्डमा ३५ हजार बच्चामध्ये एकजनामा मात्र यस्तो समस्या देखिएको छ तर नेपालमा भने अहिलेसम्म यसबारे कुनै तथ्यांक राखिएको पाइएको छैन । 

चिकित्सकका अनुसार यो रोगको बाहिरी कारण नभएर वंशाणुगत कारणले देखिन्छ । परिवारका कुनै सदस्यलाई रेटिनोब्लाष्टोमा भएमा तीन पुस्तासम्मका बच्चालाई यो रोगको जोखिम रहन्छ । 

परिवारमा पहिले नै यो रोग देखिए गर्भावस्थामा पनि जाँच गर्न चिकित्सकले सुझाव दिने गरेका छन् । आँखाको भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआईजस्ता जाँचबाट यो रोग पत्ता लगाउन सकिन्छ । 

बच्चामा रेटिनोब्लाष्टामा शुरुकै अवस्थामा पत्ता लागेमा भने औषधि, लेजरप्रविधि वा केमो दिएर पनि निको पार्न सकिने डा. स्थापितले बताए । 

“रोग देखिएपछि केमोथेरापी दिएर उपचार गरिन्छ तर निकै ढिला भएमा वा आँखा बाहिर निस्केको अवस्थामा भने शल्यक्रिया गर्नुपर्छ”, उनले भने । 

आखाँको ट्युमर सानो वा पहिल्यै थाहा भएमा ठूलो हानि नहुने गरी लेजरजस्ता साधारण प्रक्रियाद्वारा उपचार गर्ने गरिन्छ । 

डा स्थापितका अनुसार रोग ढिला भइसकेपछि भने आँखाको डल्लो निकाल्ने तथा आँखा वरिपरिका भाग र जटिल हड्डी निकाल्न शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आँखाका ज्योति गुम्छ । 

काठमाडाँैका आँखाका प्रमुख अस्पताल जस्तोः बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, तिलगंगा आँखा अस्पताल र नेपाल आँखा अस्पतालमा रेटिनोब्लाष्टोमाको उपचार हुन्छ । 

नेपालमा आँखाका सबै प्रकारको रोगका लागि राम्रो र सुलभ उपचार सेवा पाइने बताइन्छ । 

त्यसैले आफ्नो र आफ्ना साना नानीहरुको आँखाको जाँच हरेक छ महिनामा गर्ने बानी बसाल्न सके राम्रो हुन्छ । 

वर्षमा एकपटक भने अवश्य चिकित्सकलाई देखाउन बाल नेत्रविशेषज्ञ डा सविना श्रेष्ठको सुझाव छ । 

नेपालमा निकै ढिला मात्र अभिभावकले बच्चाको आँखाको क्यान्सरबारे थाहा पाउने गरेको चिकित्सकको भनाइ छ । 

रासस
 

Last modified on 2017-12-27 16:45:53

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts