पदभार ग्रहणकै दिन भावुक भइन् स्वास्थ्य सचिव डा. चौधरी

What's This?


Download our app to get more features

काठमाडौं, १४ पुष । स्वास्थ्य मन्त्रालयले नयाँ सचिव पाउँदै गर्दा शुक्रवारका मन्त्रालयका सबै कर्मचारी स्वागतका लागि फूलगुच्छा लिएर बसेका थिए । माहौल खुशीको थियो । तर स्वास्थ्य सचिवका रुपमा पदभार ग्रहण गर्दैगरेकी डा. पुष्पा चौधरी भने भावुक थिइन ।

सहकर्मीको स्वागत ग्रहणपछि सचिव डा. चौधरी केही क्षण ‘नोस्टालोजिक’ भइन् । एउटा महिलाले मन्त्रालयको सचिवसम्म आइपुग्दा व्यहोर्नु पर्ने यात्रालाई कोट्याइन् । २० बर्षमा मेरो विवाह भएको थियो । महिलाको जीवनमा जन्मैदेखि चुनौती सुरु हुन्छन । परिवारको दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि मेरो मम्मी निकै रुनुभएको थियो रे । तर बुबाले भने खुशी हुँदै गाउँमा मिठाई बाँडेका रहेछन ।’

छोरीलाई विवाहमा दाइजो दिनुपर्ने सम्झिदैमा अभिभावक दुःखी हुने गरेको उनले सम्झिइन । उनले भनिन्, ‘दिदी म भन्दा तीन बर्ष जेठी थिइन्, तर बुबाले मलाई र दिदीलाई एकैचोटी होस्टेलमा राखेर पढाउनुभयो ।’ 
छोरीलाई घरमा राखेर पढाउँदा घरको काम गर्नुपर्ने र पढाईमा ध्यान नजाने ठानेर बुबाले होस्टेलमा राखेर पढाउने निर्णय गरेको उनी बताउँछिन् । 

दुवै छोरीलाई होस्टेलमा राखेर किन पढाएको भन्दै त्यतिखेर गाउँलेहरू बुबाप्रति रिसाएको उनले सुनाइन् । बुबाले पनि छोरा मान्छेले त जसरी नि कमाएर खान सक्छन् तर, छोरी अरुको घरमा जाने भन्दै राम्रो शिक्षादिक्षा दिनुपर्ने जवाफ फर्काउन गरेको उनले बताइन् । 

एमबीबीएस तेस्रो बर्ष पढ्दापढ्दै २० बर्षको उमेरमा उनको विवाह भएको थियो । र, उनको विवाहमा बुबाले दाइजोका रुपमा केही पनि नदिएको सुनाइन । श्रीमान्सँग नेपालमा विवाह भएर आउँदा श्रीमानसँग सुनका गरगहना पनि नमागेको उनले सम्झिइन । उनले भनिन्, ‘श्रीमान्ले मलाई सुन दिनु भएन तर मेरो क्यारियरको लागि स्वतन्त्रता दिनुभयो ।’ उनले थपिन्, महिलाको प्रगतिको लागि पुरुषको ठूलो हात हुन्छ जुन मेरो जीवनमा मैले प्रत्यक्ष अनुभव गर्न पाएँ । मेरी आमाले पढ्नुभएन तर उहाँ निकै स्मार्ट हुनुहुन्थ्यो ।’ विवाहपूर्व पनि सासुलाई मेडिकल पढेको बुहारी भित्र्याउने इच्छा रहेको उनले सुनाइन् । 

विवाहपछि पनि उनले बाँकी रहेको पढाईलाई निरन्तरता दिइन । जसमा उनको परिवारको साथ रह्यो । उनी यसलाई कहिल्यै बिर्सिदिनन् । यस अर्थमा उनी आफूलाई भाग्यमानी समेत ठान्छिन् । पढाइको चाहना पूरा गर्न उनी बेलायतसम्म पुगिन् । प्रायः सहकर्मी चिकित्सा शिक्षा पुरा गरेपछि विदेशतिर लागे पनि उनी भने श्रीमान्को घर नेपालमै आएर सेवा गरेको बताउँछिन् ।

प्रशासनतिर मेरो चाहना थिएन

उनले भनिन् ‘मैले प्रशासन क्षेत्रमा लाग्छु भनेर कहिल्यै सोचेको थिइन् । मलाई स्वास्थ्य उपचारमै लाग्ने ठूलो रुची थियो ।’ जीवनमा स्वास्थ्य सचिव हुन्छु भनेर कहिले नसोचेको उनी बताउँछिन् । यस क्षेत्रमा उनले निकै चुनौती देखेकी छिन् । त्यो चुनौती हटाउन अहिले चलिरहेको कार्यशैलीलाई परिवर्तन गर्ने उनले योजना बनाएकी छिन् । एउटा स्त्रीरोग विशेषज्ञका रुपमा लिएको अनुभवलाई आगामी दिनमा स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने उनले बताइन । 
०४८ सालमा लोक सेवाको आठौं तहबाट उनले सेवा प्रवेश गरेकी हुन् । ०६२ सालमा उनी ११औं तहमा बढुवा भएकी थिइन् । उनी स्वास्थ्य सेवा विभागको निमित्त निर्देशक, परिवार स्वास्थ्य महाशाखा र प्रसूति गृहको निर्देशक समेत भएकी थिइन् । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्वास्थ्य सचिवको रुपमा नियुक्त गरेको थियो । उनी तेस्रो महिला स्वास्थ्य सचिव बनेकी छिन् । यसअघि डा. सुधा शर्मा, डा. किरण रेग्मीले स्वास्थ्य सचिवका रुपमा जिम्मेवार बहन गरिसकेका छन् । 

(स्वास्थ्य सचिवका रुपमा शुक्रबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारहरुसँग गरेको कुराकानीमा आधारित । )


 

Last modified on 2017-12-30 10:27:53

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Maila pani asti madam lai vetne mauka paya sarai khusi lagyo ma kanti hospital bata afno samasya liyara gayako thiya sayad madam lai yad hola plz hami positive result ko asma chau ra chadai kam huncha vane mam sanga aas rakhako chau .madam lai suvakamanako sath sathai badai pani dina chahanchu


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts