शीतलहरले पश्चिम तराईको जनजीवन कष्टकर

बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थाले 



Download our app to get more features

गुलरिया (बर्दिया), १९ पुष । बर्दियासहित पश्चिम नेपालका जिल्लामा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्यांग्रिने जाडो बढेको छ । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बर्दियाकोे जनजीवन प्रभावित भएको छ । 

हुस्सुका कारण धेरै भागमा केही दिनदेखि घाम देखिन सकेको छैन । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । 

जाडो बढेपछि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ । 

शीतलहरका कारण आलु, गोलभेँडालगायतको तरकारी बालीमा डढुवा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् । शीतलहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिँदा समस्या भएको स्थानीयवासी किसान मानबहादुर चौधरीले बताए । 

“ठूलो लगानी गरेर खेतमा आलु खेती ग¥यौँ, अहिले आएर डढुवाको प्रकोपले बोट कुहिन थालेको छ” चौधरीले भने, “वर्षेनी मंसिर, पुसमा हुने शीतलहरले आलुलगायतका बालीमा डढुवा प्रकोपको समस्या देखिँदा व्यावसायिक तरकारी खेतीमा लागेकाको मनोबल घटेको छ ।” 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले डढुवा रोगबाट आलु गोलभेँडालगायतका बालीलाई जोगाउन हप्तामा एकपटक ढुसीनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किनु पर्ने सुझाव दिए । 

जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप स्वास्थ्य संस्थामा बढ्न थालेको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका स्वास्थ्यकर्मी देवी खनालले बताए । 

जाडोबाट बच्न न्यानो हुने गरी कपडा लगाउनु पर्ने तातो तथा झोलिलो पदार्थ प्रशस्त खाने र अत्यावश्क काममाबाहेक घर बाहिर निस्कन नहुने प्राथमिक स्वास्थ्य चौकीका डा रुपेश ओडले आग्रह गरे ।

 

रासस

Last modified on 2018-01-04 14:36:28

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts