अधिकांश स्वास्थ्यकर्मीको रोजाइ प्रदेश–३ 

What's This?


Download our app to get more features

काठमाडौं, १९ पुष । सरकारले सातै वटा प्रदेशका स्वास्थ्य मन्त्रालयमा जान चाहने स्वास्थ्यकर्मीलाई तीन दिनभित्र निवेदन दिन सूचना प्रकाशित गरेपछि स्वास्थ्यकर्मीहरू उत्साहित बनेका छन् । सबै प्रदेशका लागि निवेदन माग गरिए पनि अधिकांश स्वास्थ्यकर्मीको रोजाइमा भने प्रदेश नम्बर ३ परेको छ ।

प्रदेश नम्बर ३ को मन्त्रालयमा गएर काम गर्न चाहने स्वास्थ्यकर्मी उल्लेख्य मात्रामा देखिएको स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । मंगलवार र बुधवारसम्ममा प्रदेश मन्त्रालयमा जान चाहने २ सयभन्दा बढी स्वास्थ्यकर्मीले निवेदन दिएका छन् । 
स्वास्थ्य मन्त्रालयले १८ पुसको गोरखापत्रमा सूचना प्रकाशित गरीे प्रदेश मन्त्रालयमा काम गर्न चाहने ५ देखि ११औं तहसम्मका स्वास्थ्यकर्मीको निवेदन माग गरेको छ । 

श्रीमान् श्रीमतीकै रोजाइ प्रदेश–३ 
तीन बर्षदेखि जनस्वास्थ्य कार्यालय गोरखा अन्तर्गत बिही स्वास्थ्य चौकीमा कार्यरत अहेब पूर्णबहादुर गुरुङले प्रदेश नम्बर ३ को प्रादेशिक मन्त्रालयमा काम गरी पाउँ भनि निवेदन दिएका छन् । उनकी श्रीमती सरिता गुरुङ जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरी अन्तर्गत बलेवा स्वास्थ्य चौकीमा अनमीका रुपमा ८ महिनादेखि कार्यरत छिन् । 

एउटै पेशा भए पनि फरक फरक कार्यक्षेत्रमा रहेर सेवा गरिरहेका कारण परिवारमा असहज स्थिति पैदा भएको भन्दै उनीहरूले एकै ठाउँमा रहेर काम गर्न माग गरेको बताए । उनीहरूको स्थायी ठेगाना भने काठमाडौंको नागार्जुन हो । कार्यक्षेत्र अलग भएका कारण उनीहरूले तीन छोराछोरीलाई काठमाडौंको एक होस्टेलमा राखेर पढाइरहेका छन् । स्वास्थ्य मन्त्रालयको प्राङ्गणमा भेटिएको यो जोडीले बुधवार मन्त्रालयमा निवेदन दर्ताका हुन् । पूर्णबहादुरकी श्रीमती सरिताले भनिन् ‘दुबैजना काठमाडौं आउन पाए त राम्रो हुन्थ्यो नि । हामी सँगै बसेर काम गर्ने मौका पाउथ्यौं । सँगै हुने भएपछि छोराछोरीको पनि हेरचाह गर्न पाइन्छ ।’ 

प्रदेश–२ बाहेक जहाँ जान पनि तयार 
प्रदेश नम्बर २ बाहेक जुनै प्रादेशिक स्वस्थ्य मन्त्रालयमा जान पनि तयार रहेका स्वास्थ्यकर्मी पनि मन्त्रालयकै प्राङगणमा भेटिए । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बुमा जनस्वास्थ्य निरीक्षकका रुपमा कार्यरत पवनकुमार लामाले प्रदेश नम्बर २ बाहेक जुनसुकै स्थानमा जाने बताए ।

उनले १२ बर्षदेखि दुर्गम क्षेत्रमा रहेर काम गरेको बताए । ‘ प्रदेश नम्बर २ बाहेक जुनै प्रदेशमा जान पनि तयार छु ।’ उनले भने । प्रदेश नम्बर २ मा जान नचाहनुको कारण भने अन्यथा केही होइन । उनी तराई क्षेत्रको गर्मी सहन नसक्ने बताउँछन् । उनले भने ‘मेरो शरीरले गर्मी सहनै सक्दैन । यसकारण तराई क्षेत्र बाहेक अरु जुनै प्रदेशमा बसेर काम गर्न तयार छु ।’ 


 

Last modified on 2018-01-04 07:41:00

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts