जडीबुटीे प्रशोधन उद्योगले गाउँमै रोजगारी



Download our app to get more features

कञ्चनपुर, २० पुष । शुक्लाफाँटा नगरपालिका वडा नं ८ बेल्डाँडीका सपना साह स्कुलबाट फर्केपछि दिउँसो सधैँ घर नजिकैको सामुदायिक वनमा गएर नियमित असारेका पात संकलन गर्न वन जान्छिन । 

असारेका भारी जडीबुटी प्रशोधन केन्द्रमा ल्याएर प्रशोधन गरी निकालेको तेल बिक्री गरेर उनले पढाइ खर्च चलाउँदै आएकी छिन् । 

हालसम्म दुई लिटर तेल बेचेर साहले आठ हजार कमाइसकेकी छिन् । उनी भन्छिन् “तेल बेचेको पैसाले पढाइ खर्च चलेको छ, बाटोमा साइकल बिग्रेपछि मर्मत गर्न पुगेको छ, कापी कलम किन्न पनि पुगेको छ ।” 

साहसँगै उनका साथीहरु पूजा बोहरा, पूजा टमटा र दीपा धामीले पनि असारेलगायतका जडीबुटी बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन् । उनीहरू सबै झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । 

सिर्जना जडीबुटी समूहमा आबद्ध पूजाले तीनकट्ठा जग्गामा परिवारको सहयोगमा मेन्था पनि लगाएकी छिन् । 

यसअघि उनले केमाइलको खेती गरी त्यसको तेल बेचेर रु छ हजार कमाइ गरेकी थिइन । परिवारको खर्चसँगै विद्यालयको खर्च आफैँले जुटाउँदै आएको उनले बताइन् । 

बेल्डाँडीमा गत वर्षदेखि खोलिएको सो उद्योगमार्फत विद्यार्थीसहित स्थानीयवासीले गाउँमा आम्दानी गरिरहेका छन् । 

उद्योग सञ्चालक समितिका कोषाध्यक्ष कमला साउद भन्छन्, “उद्योग खुलेपछि गाउँलेले घर खर्च चलाएका छन्, विद्यार्थीले पढाइ खर्च पाएका छन्, यसले फाइदा नै भएको छ ।” 

असारेको तेल प्रतिकिलो रु ३० हजार बढीमा बिक्री हुने गरेको छ । प्रगति सामुदायिक वनसित साझेदारीमा गत वर्ष दातृ निकायको सहयोगमा उद्योग सञ्चालन गरिएको हो । 

असारे, मेन्था र केमाबाट सुगन्धित तेल उत्पादन गर्न सकिने सुनेका स्थानीयबासिन्दाले दातृ निकायको रु पाँच लाख, परियोजना घुम्ती कोषको रु एक लाख र सामुदायिक वनको रु तीन लाख लगानीमा उद्योग स्थापना गरेका थिए । 

सामुदायिक वनमा असारे प्रशस्त भएकाले आम्दानी पनि गतिलो नै छ उद्योग सञ्चालक समितिका कोषाध्यक्ष साउदले भने, “असारे पेलेर शुरु गरिएको उद्योगबाट अहिले मेन्था, केमाइल र लिप्टिसको तेल पनि उत्पादन हुने भएकाले आम्दानी बढ्दै गएको छ ।” केमा र मेन्थाखेतीका लागि स्थानीयवासीले चार समूह बनाएका छन् । 

समूहका सदस्यले तेल बेचेर हालसम्म रु दुई लाख १६ हजार आम्दानी गरेका छन् । एक समूहका सदस्यले कम्तीमा २० हजारभन्दा बढी आम्दानी गरेका छन् । स्थानीयवासीले उत्पादन गरेको तेल स्थानीय वीरबहादुर ऐरले किनेर नेपालगञ्ज पु¥याई अर्का व्यापारीलाई बेच्ने गरेका छन् । नेपालगञ्जका व्यापारीले यहाँको तेल विदेश निर्यात गर्दै आएका छन् । 

स्थानीय जडीबुटी उद्योगमा संलग्नका अनुसार विगतमा काठमाडौँ र नेपालगञ्जका व्यवसायीले आएर तेल सस्तोमै किनेर लैजाने गरेका थिए । स्थानीयवासीले नै तेल किनेर राम्रो मूल्य दिन थालेपछि जडीबुटीखेतीमा यहाँका बासिन्दाको आकर्षण बढ्न थालेको हो । स्थानीय मैना बोहराले उद्योग खुलेपछि घर खर्च चलाउन सहयोग पुगेको बताए । 

उद्योगमा सेटिङ हाउस निर्माण, प्राविधिक कर्मचारीलगायतका जनशक्ति बढाउन पाए अझै बढी आम्दानी लिन सकिने उनले उल्लेख गरे । 

अन्न नफल्ने बाँझो खेतमा समेत जडीबुटीखेती राम्ररी सप्रने र जंगली जनावरले समेत जडीबुटीलाई नखाने भएपछि स्थानीयवासीको यसप्रतिको मोह बढ्दै गएको छ ।

 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts