शितलहरले निमोनिया र रुघाखोकीका बिरामी बढे



Download our app to get more features

जनकपुर, २० पुष । केही दिनदेखि चलेको शीतलहरका कारण मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । 

शितलहरबाट मध्य तथा पूर्वी तराईका जिल्लाहरू महोत्तरी, धनुषा, सर्लाही, पर्सा, बारा, सिरहा, सप्तरी, मोरंग, झापा, सुनसरीमा निमोनिया र रुघाखोकीका बिरामी बढ्न थालेका छन् ।

चार–पाँच दिनदेखि सो क्षेत्रमा चिसो हावा चल्नुका साथै शितलहरले गर्दा स्वास्थ्य संस्थाहरूमा निमोनिया, दम, ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढिरहेको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसो र सितलहरबाट बढी प्रभावित भएका छन् । 

जनकपुर अञ्चल अस्पतालका डाक्टर कुलदीप पण्डितका अनुसार बढ्दो चिसोबाट जोगिने क्रममा आगो ताप्दा आगोले पोलेका, कोल्ड डायरिया, निमोनिया, दम, रुघाखोकीका बिरामी अस्पताल आउने क्रम बढ्दो छ । अस्पतालमा दिनहुँ ४० देखि ५० जनासम्म चिसोका बिरामी आउने गरेको उनले बताए । 

यस्तै जलेश्वर अस्पताल महोत्तरीका डाक्टर राजीव झाले केहि दिनदेखि बढेको चिसोका कारण अस्पतालमा बालबालिका र वृद्धवृद्धा बिरामी भएर आउन थालेको बताए । उता, मोरंगस्थित कोशी अञ्चल अस्पतालमा पनि निमोनिया र रुघाखोकीको बिरामीको संख्या बढ्न थालेको अस्पतालले जनाएको छ ।

बजार सुनसान
चिसो हावा र शितलहरका कारण अति आवश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्कन नसकेकाले बजारमा चहलपहल घटेको छ भने सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घट्दै गएकोे छ । यसैगरी चिसो बढेपछि तराईका जिल्लामा रहेका सामुदायिक विद्यालय पनि बन्द गरिएको छ । शीतलहरका कारण घरपालुवा चौपायासमेत प्रभावित भएका छन् ।

Last modified on 2018-01-05 07:44:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts