टेकु अस्पतालमा विशेषज्ञ डाक्टरको बिजोग

What's This?


Download our app to get more features

काठमाडौं, २० पुष । डा. विरेन्द्रसिंह बुडाल एक बर्षअघि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा चीनबाट एनेस्थेसियामा विशेषज्ञता गरेर स्वदेश फर्केका थिए । 

छात्रवृत्तिमा पढ्ने विद्यार्थीले कम्तीमा दुई बर्ष सरकारी अस्पतालमा अनिवार्य काम गर्नुपर्ने नियम छ । डा. बुडाल पढाई सकेपछि टेकुस्थित  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विशेषज्ञ चिकित्सकका रुपमा खटिएका थिए । 

सो अस्पताल सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागले निकट भविष्यमै आइसियु सञ्चालन गर्न लागेको भन्दै उनलाई टेकु अस्पतालमा चिकित्सकका रुपमा नियुक्त गरेको थियो । तर विभागले भने बमोजिम अस्पतालमा आइसियु सञ्चालन हुने छाटकाँट नै छैन । 

इमर्जेन्सी सञ्चालनको लागि समेत पर्याप्त चिकित्सक नभएको टेकु अस्पतालमा आइसियु सञ्चालनमा ल्याउने भन्दै विभागले डा. बुडाललाई भ्रममा राख्दै आएको छ । 

६ महिनादेखि एनेस्थेसियाको विशेषज्ञ चिकित्सकका रुपमा खटिएका डा. बुडालले मेडिकल अफिसरका रुपमा बिरामीको उपचार गर्दै आएका छन् । उनले अस्पतालमा एनेस्थेसिया बारे कुनै सेवा दिन पाएका छ्रैनन् । 

आफूले सिकेको ज्ञान, सीप प्रयोगमा नआउँदा डा. बुडाल अहिले निकै चिन्तामा छन् । विशेषज्ञ डाक्टर भएर ओपिडीमा बिरामी जाँच गर्दै समय बितिरहेको उनको भनाइ छ ।

चीनमा ३ बर्ष सिकेको ज्ञान प्रयोग गर्न नपाउँदा दिक्दारी लाग्न थालेको उनले बताए । आफ्नो ज्ञान र सीप प्रयोगमा नआएको  र एनेस्थेसिया सेवा भएको अस्पतालमा सरुवा गरी पाउँ भनेर स्वास्थ्य सेवा विभागमा पाँच पटक निवेदन दर्ता गरिसकेको उनले बताए । तर विभागले उनको आग्रहलाई बेवास्ता गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयमा समेत यस विषयमा निवेदन दिएको उनले जानकारी दिए । 

जति आग्रह गर्दा पनि प्रशासनले उनको कुरालाई नसुनेपछि उनी बाध्य भएर एनेस्थेसिया बिर्सेर बिरामीको सामान्य जाँचमै दिन काटिरहेका छन् । 

नियमतः जुन विषयमा विशेषज्ञता लिएको हो सोही सेवा भएको स्वास्थ्य संस्थामा दरबन्दी गर्नुपर्छ । तर अपरेशन (शल्यक्रिया कक्ष) नै नभएको अस्पतालमा नियुक्त गरेर आफूमाथि अन्याय भएको बताउँछन डा. बुडाल । नियम विपरीत मेरो ज्ञान र सीपलाई बेवास्ता गर्दै टेकु अस्पतालमा मेडिकल अफिसरका रुपमा दरबन्दी राखेको उनी बताउँछन् । 

माघदेखि आइसियु सुरु गर्छौ :महानिर्देशक
स्वास्थ्य बिभागका महानिर्देशक डा.राजेन्द्र पन्तले भने टेकु अस्पतालमा निकट भविष्यमै आइसियु सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । सोही कारण एनेस्थेसिया चिकित्सकका रुपमा डा. बुडाललाई नियुक्त गरेको उनको भनाइ छ । १० माघदेखि नै आइसियु सञ्चालनको लागि तयारी गरिरहेको महानिर्देशक डा. पन्तले बताए । उनले भने ‘आइसियु सञ्चालन हुने बित्तिकै एनेस्थेसियाका डा. बुडालको काम पनि सुरु हुन्छ ।’ 

डा. बुडाल टेकु अस्पतालमा आठौं तहको चिकित्सकका रुपमा कार्यरत रहेको महानिर्देशक डा. पन्तले बताए । 
 

Last modified on 2018-03-27 04:33:11

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts