जाजरकोटमा भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो



Download our app to get more features

जाजरकोट, २२ पुष । जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, सोही गाउँपालिका २ की ५७ वर्षीया आइती तिरुवा, ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाही, ८ वर्षीय धनवहादुर विक र अन्य ४ जना बालबालिका रहेका छन् ।

जस मध्ये एक महिने शिशु १ जना,  ७ र ८ दिनका शिशु २ जना र ४ वर्षको १ जना रहेका छन् । ज्वरो र रुघाखोकीले जुनीचाँदेका तीन सय बढी गाँउलेहरु बिरामी परेका स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए। उनले स्वाथ्यचौकीमा दैनिक ४० देखि ५० जना भाइरलका बिरामी आउने गरेको बताए ।

“बिरामी रोग लाग्नेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्था नआउने र झारफुक गर्नतिर लाग्ने भएकाले यस्तो समस्या देखिएको हो”, इन्चार्ज सिंहको भनाइ छ । जुनीचाँदे गाउँपालिका– १ का जुनीचाँदे, काप्रा, बड्कुले र कार्कीगाउँ, वडा नं २ को मजकोट, आलीमौगाना– ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् । 

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन् । एउटै घरमा तीन चार जना बिरामी परेको स्थानीयवासी काशीराम न्यौपानेले बताए । जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् । बिरामीमा घाँटी, टाउको र हातखुट्टा दुख्ने,सुक्खा खोकी, चिटचिट पसिना आउने, ज्वरो आउने लगायत समस्या देखिने गरेको छ । 

त्यस्तै बारेकोट गाउँपालिका वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रधानाध्यापक मनबहादुर सिंहले बताए । विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ । 

भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्य कार्यालयले रोग पहिचानका लागि प्रयोगशाला प्राविधिक कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएको छ । “रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ”, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, “एच एक एन एक हो कि भनेर टेष्ट किट पठाएका छौँ । यदि एच एक एन एक भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।” 

प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा पवन शाक्यको नेतृत्वमा थप टोली गएको नेपालीले बताए । औषधि अभाव हुन नदिन शुक्रबार मात्र एक ट्र्याक्टर औषधि पठाइएको उनले जानकारी दिए । अहिले चिसोका कारण जिल्लाका सबै ठाउँमा बिरामीको संख्या ह्वात्तै बढेको छ ।

 

रासस

Last modified on 2018-01-06 17:46:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts