काठमाडौंमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा हजार बढी लाभान्वित



Download our app to get more features

काठमाडौँ, २२ पुस । नेपाल—पाकिस्तानबीचको मैत्री सम्बन्धलाई जनस्तरमा अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले शनिबार काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

पाकिस्तानबाट छात्रवृत्ति प्राप्त गरेका नेपाली चिकित्सकहरुको संलग्नतामा भएको सो शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, दाँत, बालरोग, महिलासँग सम्बन्धित विभिन्न रोगको परीक्षण गरिनुको साथै विरामीलाई तीन महिनासम्मको औषधि निःशुल्क प्रदान गरिएको थियो । कालीमाटी परोपकार विद्यालयमा सञ्चालन गरिएको सो शिविरमा करिब एक हजार विरामीले स्वास्थ्य परीक्षण गरेका छन् । 

स्वास्थ्य शिविरको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल— पाकिस्तानबीचको मैत्री सम्बन्धलाई केन्द्रीय सरकारको रुपमा मात्र नभई स्थानीय सरकार र जनस्तरमा समेत विस्तार गर्नु पर्नेमा जोड दिए । उनले राजधानीमा वसोवास गर्ने शहरी गरिबलाई लक्षित गरी सञ्चालन गरिएको शिविर निकै उपयोगी रहेको बताए । 

पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (माले) का महासचिव सीपी मैनालीले नेपाल—पाकिस्तानबीचको सम्बन्ध नयाँ परिवेशमा विस्तार हुँदै जाने धारणा राखेका थिए । 

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले नेपालमा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानले छात्रवृत्ति प्रान गरी महत्वपूर्ण सहयोग गरेको बताउँदै साहित्यिक, सांस्कृतिक क्षेत्रमा पनि सम्बन्ध विस्तार भएको उल्लेख गरे । 

नेपालका लागि पाकिस्तानका राजदूत डा. मजार जावेदले नेपाल–पाकिस्तानबीचको परम्परागत मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्न नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले विभिन्न रचनात्मक कार्य गर्दै आएकामा धन्यवाद दिएका थिए । 

कार्यक्रममा संघका अध्यक्ष हिमालयशंसेर राणा र महासचिव मन्जुरत्न शाक्यले नेपाल—पाकिस्तानबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सात वर्षदेखि वर्षमा दुईपटक यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । 

 

रासस

Last modified on 2018-01-07 15:23:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts