मानव अंग प्रत्यारोपण केन्द्रका नर्स चार दिनदेखि आकस्मिक कक्षमा धर्ना दिदै 



Download our app to get more features

भक्तपुर, २४ पुस : सात महिनादेखि आन्दोलनरत मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरू चार दिनदेखि आकस्मिक कक्षमै धर्नामा बसेका छन् ।
केन्द्रले अन्याय गरेकाले न्याय पाउनु पर्ने, बिनाआधार करार सेवाबाट निष्कासन गरिएकाले पुनःबहाली गर्नुपर्ने, करारमा रहेका सबैलाई स्थायी गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका नर्सले चारदिनदेखि आकस्मिक कक्षमै धर्ना दिएका हुन् ।

केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बिरामीको बहाना गरी चार दिनदेखि आकस्मिक कक्षमा बसेर त्रजिना जति र सजिना द्यौलाले आकस्मिक कक्षको दुरुपयोग गरेको बताए ।

उनले भने, ‘शुरुमा बेहोस भएँ भनेर आकस्मिक कक्षमा आएर बसेपछि यहाँका चिकित्सकले उपचार समेत गरे, उपचारमा संलग्न चिकित्सकलाई समेत जथाभावी गालीगलौज गर्ने काम भयो, अहिले अवस्था ठीक छ, जानुस् भनेर डाक्टरले घर पठाउँदा पनि नगई आकस्मिक कक्षको शय्यामा बसेका छन्, यसले वास्तविक बिरामीलाई राख्ने ठाउँको अभाव भएको छ ।

आठ वटा शय्या भएको केन्द्रको आकस्मिक कक्षको एउटा शय्यामा जति र द्यौला बसेका छन् । केन्द्रका निर्देशक डा. श्रेष्ठले उनीहरुले आन्दोलन गरेर बाहिरका मानिस बोलाएर हुलहुज्जत गर्ने र धम्की दिएको आरोप लगाए । 
डा श्रेष्ठले भने, ‘करार सेवा नवीकरण नगरेको बहानामा गरिएको आन्दोलनका कारण योजना गरेभन्दा ५० वटा मिर्गौला प्रत्यारोपणमा कमी आएको छ, कलेजो प्रत्यारोपण र मुटुको शल्यक्रियामा असर परेको छ, मलाई पाँच घण्टा कार्यकक्षबाट बाहिर जान नदिई मिर्गौला प्रत्यारोपण गर्नसमेत अवरोध पु¥याएका छन, अहिले आकस्मिक कक्षको अनावश्यक प्रयोगले वास्तविक बिरामी मर्कामा परेकाले छिटो शय्या खाली गर्न अपिल गर्दछाँै ।

आन्दोलनमा उत्रिएकाले निर्देशक डा. श्रेष्ठ र नर्सिङ निर्देशक इन्दिरा प्रधानको चरित्र हत्या गर्ने र मिर्गौलाका बिरामीलाई पुनः भारत पलायन हुन बाध्य पार्ने गरी भ्रम फैलाउने काम भएको उनको भनाइ छ ।

यसबारेमा स्वास्थ्य मन्त्रालयले बनाएको छानबिन समितिको प्रतिवेदनका आधारमा करार सेवा नवीकरण गर्नुपर्ने कुनै आधार नभएको भन्ने व्यहोराको निर्देशनात्मक पत्र केन्द्रलाई पठाएको जानकारी गराए । 
केन्द्र स्थापना भएदेखि तीन महिने अस्थायी करारमा रहेका नर्स तथा कर्मचारीलाई स्थायी पदपूर्तिका लागि माग भई गएअनुसार लोकसेवाले स्थायी गर्न परीक्षा सञ्चालनको अन्तिम तयारी गरेको जानकारी पाएको उनले बताए । 

आकस्मिक कक्षमा बसेका नर्समध्ये त्रजिना जतिको स्वास्थ्य अवस्थामा केही सुधार भए पनि अन्य अस्पतालमा लगेर उपचार गर्नुपर्ने केन्द्रका चिकित्सकले जानकारी दिएका छन् । सजिना द्यौलाको अवस्था भने सामान्य भइसकेको चिकित्सकको भनाइ छ ।
 

उपचार र धार्ना सँगसँगै
आकस्मिक कक्षमा बसेका नर्स जति र द्यौलाले उपचार र धर्ना दुवै भएको बताए । नेपाल नर्सिङ संघले धर्नामा बस्न भनेकाले बसेको उनीहरुको भनाइ छ । द्यौलाले भनिन्, “हाम्रो उपचार र धर्ना दुवै हो, हाम्रो सबै समस्या र जिम्मेवारी नर्सिङ संघले लिएको छ, हाम्रो आन्दोलन जारी छ ।”

रासस

Last modified on 2018-01-08 15:42:48

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts