भक्तपुरको एउटा नर्स देख्ने नर्सिङ संघले टिकापुरका चारजनाको आँशु देखेन ? 



Download our app to get more features

काठमाण्डौ । एकातिर गोविन्द केसीको अनशनले चिकित्सा क्षेत्र अन्योलग्रस्त भइरहेका बेलामा नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघको आन्दोलन पनि सुरु भएपछि स्वास्थ्य सेवाको क्षेत्र दुईथरी आन्दोलनको मारमा पर्ने संकेत देखिएको छ । 

भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा करारमा राखिएकी एकजना नर्स निकालिएको विषयलाई देशव्यापी आन्दोलनको मुख्य र पहिलो मुद्दा बनाएर नर्सिङ संघले आन्दोलन सुरु गरेको छ । ११ वटा मागमध्ये बाँकी दशवटा भने संघले उठाउँदै आएका र बहसमा आएका मागहरु छन् । जसमा नर्सको सेवा सुविधा, वृत्तिविकाससँग सम्बन्धित मागहरु छन् । जसका बारेमा अध्ययन गरेर सुझाव दिन अघिल्लो सरकारले समिति पनि बनाएको थियो ।

 संघले गरिरहेको आन्दोलनको नेतृत्वकर्ता नेपाल नर्सिङ संघका कार्यवाहक अध्यक्ष समेत रहेकी वरिष्ठ उपाध्यक्ष गंगा थापाले मानव अंग प्रत्यारोपण केन्द्रमा नर्समाथि भएको अन्यायविरुद्ध र अन्य साझा मागका लागि आन्दोलन थालिएको बताइन् । संघको अध्यक्ष नभएको बेला उनले नर्सको हकहितको बारेमा यति भनिरहँदा टिकापुरका चारजना नर्सको चाहीँ विषय नउठेको भन्दै देशका विभिन्न स्थानका नर्सले आन्दोलनमा सहभागिता जनाएका छैनन् । 

राजधानीमै पनि शुक्रवार वीर अस्पतालका नर्सहरुले एकघण्टा काम बन्द गर्दा कान्ति, शिक्षण अस्पताल, गंगालाल लगायतका नर्स पूर्ववत काममा थिए । राजधानी बाहिरका जिल्लामा पनि नर्सहरु विभाजित भएका छन् । उनीहरुले समान पीडा भोगेका अन्य नर्सहरुको विषय नउठाइएको भन्दै विरोध गरेका छन् । 

के भएको थियो टिकापुरमा ? 
२ वर्षअघि स्थायी नियुक्ति र सेवासुविधाको माग राखेका टिकापुर अस्पतालका चारजना नर्सलाई अस्पताल विकास समितिले निकालिदिएको थियो । अस्पताल विकास समिति अन्तर्गत १० वर्ष काम गरेका उर्मिला घिमिरे, सुमित्रा पुन, कोकिला कुवँर र कमला खत्रीलाई अस्पतालले सेवा सुविधा र वृत्तिविकासको माग गर्दा जागिरबाट निकालेको हो । 

उनीहरुले त्यसपछि नेपाल नर्सिङ संघमा बारम्बार हार गुहार गरेपनि कुनै पार लाग्न सकेन । संघकी अध्यक्ष तारा पोखरेलले नै समाधान गर्न प्रयत्न गर्ने बताएपनि केही सिप लागेन । श्रम कार्यालय धनगढीमा पनि उनीहरुले निवेदन दिएका छन् । उनीहरु अनशन समेत बसे तर सुनवाई भएन । तर, सेवा सुविधाको माग गर्दा निकालिएका उनीहरुको विषय भने नर्सिङ संघको यो आन्दोलनमा देखिएन । 

अझै न्यायको पर्खाइमा 
अमानवीय ढंगबाट निकालिएकी मध्येकी एक उर्मिला घिमिरे आफुहरु अझै न्यायको पर्खाइमा रहेको बताउँछिन् । 
नर्सिङ संघले देशव्यापी आन्दोलन भनेपनि एकजना नर्सको विषयलाइमात्र उठाएर आफुहरुमाथि अन्याय गरेको उनको गुनासो छ । २०६४ देखि जागिर थालेका उनी लगायत चारजना नर्सलाई सेवा सुविधाको माग गरेपनि अस्पताल विकास समितिले २०७२ साल साउनमा निश्काष गरेको थियो । 

Last modified on 2018-01-12 16:03:39

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. आफनो अधिकार को दाबि गर्न पाउनु पर्छ, जागिर बिना शर्त पुनर बहालि हुनु पर्छ, नर्सिङ संघले पिडितको प्र तिनिधित्व गर्दै समन्धित पक्षलाई दबाव दिनुपर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts