पिसाब चुहिन्छ ? यस्ता छन् उपचारका उपाय


Download our app to get more features
Spark_health_home

मूत्रथैलीको प्रमुख कार्य पिसाब चुहिन नदिएर जम्मा गर्नु हो ।

उपयुक्त अवस्थामा इच्छा बमोजिम पिसाब फेर्न सक्ने वातावरण सिर्जना गर्नु मुत्र थैलीको काम हो । तर, कहिलेकाही त्यस्तो अवस्था पनि हुन्छ जब खोक्दा, हाछ्यूँ गर्दा वा हाँस्दा समेत पिसाब चुहिने हुन्छ । यस्तो स्थिति पुरुष र महिला दुबैमा देखिन सक्ने भएपनि महिलामा ज्यादै व्याप्त छ । विश्व आँकडा अनुसार प्रौढ महिलामध्ये २५ देखी ४० प्रतिशतमा पिसाब चुहिने समस्या छ । यो प्रतिशत नेपालमा कुन अनुपातमा छ त्यसको वैज्ञानिक अनुसन्धान भएको छैन । पिसाब चुहिने समस्या बारे धेरै महिला खुलेर बोल्न नसक्ने तथा नचाहने भएकोले यो अवस्थाको व्यापकता बारे अध्ययन गर्न विशेष वातावरण र समय लगानीको आवश्यता पर्छ । कैयौं महिला पिसाब चुहिने समस्या सामाजिक अवस्थाको आधारमा खुलारुपबाट प्रकाशमा ल्याउन नहुने विषय सम्झन्छन् । 

अन्य अङ्गसँग मूत्रथैली र मूत्रनलीको सम्बन्ध 
मूत्र प्रणालीको तल्लो भाग मूत्रथैली र मूत्रनलीले बनेको हुन्छ । यो भागको मुख्य दुई काम हुन्छ । पहिलो मूत्र भण्डार गर्ने र दोस्रो पिसाब निष्कासित गर्ने ।
मूत्र भण्डार र मूत्र निष्कासित विभिन्न अङ्गको सुसम्बन्धमा भर पर्छ । झट्ट हेर्दा मूत्र प्रणालीको तल्लो भाग मूत्रनली र मूत्रथैलीले मात्र बनेको देखा परे पनि यी भागलाई आधार दिने मांसपेशी र काम सघाउने स्नायू तथा नशाको अध्ययनविना यी अङ्गको काम बुझ्न गाह्रो पर्छ । सर्वप्रथम मूत्रथैली, यसको मांसपेशी, झिल्ली र कटिको तल्लो भागको मांसपेशी, केन्द्रित तथा सीमावर्ती स्नायूको सुसम्बन्धको विशेष भूमिका रहन्छ । 

सामान्य अवस्थामा मूत्रथैलीमा पिसाब थुप्रिन थालेको पत्तो हुँदैन । यो अगोचर इन्द्रियको शक्तिले अनुभव गर्न नसक्ने अवस्था हो । किनभने मूत्र भरिने सिलसिलामा मूत्रथैलीको मांसपेशीले थैलीभित्रको चाप त्यति मात्र फरक पर्छ जति शरीरले थाहै पाउन सक्दैन । थैली खुम्चिएको अवस्थाबाट बिस्तारै फुल्न थालेपछि थैलीको लचकता, च्यापच्याप लाग्ने र तन्किने गुणले गर्दा मूत्रथैलीको भित्ता केही हदसम्म चाप नबढेरै तन्कन्छ ।

मूत्रथैलीमा हुने रेसामा प्रोटिनको अनुपात बढेर गएपछि च्यापच्याप लाग्ने तथा तन्किने गुण घट्दै जान्छ । यो अवस्था पिसाब संक्रमण भए, मूत्रथैलीको घाँटी वा त्यो भन्दा तल अवरोध देखा परे वा स्नायू विकेन्द्रित जस्ता परिस्थितिमा उत्पन्न हुने गर्छ ।मूत्रथैलीमा पिसाब भरिदैं जाँदा मूत्र नलीको सुरुको भागको चाप बढ्दै जान्छ र पिसाप चुहिन दिँदैन । चाप बढ्ने क्रम मूत्रनलीको बाहिरी भागबाटै सुरु हुन्छ । 

त्यसको अलावा मूत्रनलीको विभिन्न अवयवहरू जस्तै सूत, कालजन, शरीरको रगत तथा अन्य द्रब बहने नलीहरू सबै मिलेर आफ्नो बनावटको विशेष गुण स्वरूप मूत्रनलीको भित्री भागमा चाप निर्माण गर्छन् । मूत्रनलीको भाग जति बढी नरम र जति नै कोमल तथा लचिलो हुन्छ, त्यति नै उसले बढी चाप उत्पन्न गर्न सक्छ । तर मूत्रनलीमा उत्पन्न भएको चापले मात्र पिसाब चुहिने बाट रोक्न सक्दैन । त्यसको लागि मूत्रनलीको भित्री भागलाई श्लेष्माले टालेर पुरै मात्रामा तरल पदार्थ नचुहिने बनाउँछ । त्यसैले पिसाब नचुहिनका लागि मूत्रनलीका सम्पूर्ण अबयब पूर्ण रूपमा सक्षम तथा केन्द्रीय र सीमावर्ती स्नायु क्रियासिल अवस्थामा हुनुपर्छ । 

मूत्र निष्कासनको निम्ति मूत्रथैलीमा पिसाबको मात्रा बढेर थैली तन्किएको सूचना मस्तिष्कको केन्द्रमा पठाएपछि थैलीको घाँटीको चाप घटेर सोलीको आकार लिन्छ । त्यसपछि मूत्रथैलीको मांसपेशी एकसाथ खुम्चिएर पिसाब निष्कासन गर्छ । खोक्दा वा अरु कुनै पनि कारणबाट पेटभित्र चाप बढेको खण्डमा त्यो मूत्रनलीको सुरुको भागतिर जान्छ । त्यस्तो अवस्थामा मूत्र नलीको चाप सञ्चालन भएको चाप भन्दा कम भए पिसाब चुहिने गर्छ । खोक्दा पिसाब चुहिने भयो भने मूत्र नलीको चाप सृजना गर्ने यन्त्र रचनामा समस्या भयो भनेर बुझ्नु पर्छ ।

मूत्रथैली भरिएपछि त्यसलाई खाली गर्न सूचना दिने र त्यसको निम्ती उत्तरदायी प्रतिकृया प्रारम्भ हुन्छ । मूत्रथैली भरिएको सूचना प्रवाह गर्ने उत्कृष्ठ सामञ्जस्यता भएका नसामा कुनै पनि कमी कमजोरी तथा परिवर्तन भए मूत्र प्रणालीको तल्लो भागको कार्यमा महत्वपूर्ण फेरबदल हुन्छ । 

पिसाब चुहिने प्रकार 
महिलामा पिसाब चुहिने समस्या थुप्रै प्रकारका हुन्छन् । तर, यहाँ तीन प्रकारका समस्यालाई मात्र व्यख्या गरिएको छ । 

१. चाप सम्बद्ध पिसाब रोक्न नसकिने स्थिति
यो अवस्थामा कुनै कारणबस एक्कासी महिलाको पेटभित्र चाप बढेको खण्डमा पिसाब चुहिने हुन्छ । खोक्दा, हाछ्यूँ गर्दा, कुनै भार उठाउँदा, कसरत गर्दा, यौन सम्बन्ध राख्दा, हाँस्दा इत्यादि अवस्थामा देखा पर्न सक्छ । पेटभित्र जे कारणले चाप बढेको भएपनि त्यस्तो बेलामा मूत्रथैलीमा पिसाब भए केही थोपा वा धाराकै रूपमा थाहा नपाएर चुहिन्छ । फलस्वरूप भित्री लुगा भिज्ने, मूत्र गनाउने, चिलाउने, पटकपटक लुगा फेरि राख्नुपर्ने र त्यसो गर्न नपाए योनी वरपर घाउ हुने, बाफिने जस्ता समस्या हुन सक्छ । यस्तो प्रकारको पिसाब चुहिने समस्या गर्भवतीमा, धेरै बच्चा पाएका महिलामा, बच्चा जन्मदा लामो समय प्रसवपीडा अनुभव गर्नु परेमा, शरीरको तौल धेरै भएका, ५५ वर्ष माथिका धूम्रपान गर्ने, मधुमेह भएका, शल्यक्रियाबाट पाठेघर निकालिएका, डिमेनशिया (स्मृतिभांश) इत्यादि भएका महिलामा बढी देखा पर्छ ।
पिसाब चुहिने समस्या भएका महिलामध्ये ५० प्रतिशतमा चाप सम्बद्ध पिसाब रोक्न नसक्ने स्थिति हुन्छ । 

२. अत्यावश्यक सम्बद्ध पिसाब रोक्न नसकिने स्थिति
यो अवस्थामा पिसाब लागेपछि ठाउँमा पुग्नु भन्दा पहिलै नै पिसाब चुहिने हुन्छ । त्यसको कारण एक्कासी मूत्रथैलीको मांसपेशी असन्तुलन तरिकाले खुम्चिनु र मूत्रथैलीको घाँटी तथा मूत्रनलीको चाप घट्नु हो । १६ प्रतिशत  महिलामा यसप्रकारको समस्या हुने अध्ययनले देखाएको छ । उपचारको दृष्टिले यस प्रकारको पिसाब चुहिने अवस्था सबै भन्दा गाह्रो हुन्छ । यी बिरामीको जीवन गुणात्मक रूपमा ज्यादै दयनिय हुन्छ । 

३. चाप 
अत्यावश्यक मिश्रित सम्बद्ध पिसाब लागेपछि रोक्न नसक्ने महिलामध्ये एक थरीमा खोक्दा पनि पिसाब चुहिने हुन्छ । यसरी पिसाब लागेपछि रोक्नै नसक्ने र पिसाब नलाग्दा पनि मूत्र थैलीमा पिसाब भए खोक्दा पिसाप चुहिने महिलाको संख्या ३४ प्रतिशत हुन्छ । तर, यस्ता बिरामीको शल्य उपचार चाप सम्बद्ध पिसाप रोक्न नसक्ने स्थितिका बिरामीको जत्तिकै ज्यादै ठूलो प्रतिशत सफल नभएपनि धेरै बिरामी लाभान्वित हुने गर्छन् । जबकी अत्यावश्यक सम्बद्ध पिसाप रोक्न नसकिने स्थिति भएका बिरामीको उपचार बढी झन्झटिलो र कम लाभप्रद हुन्छ । 

रोग निदान
महिलामा पिसाब चुहिने समस्या निदान गर्न बिरामीबाटै उपलब्ध विवरणले निर्णायक भूमि खेल्छ । त्यसैले कहिलेदेखि पिसाब चुहिने अनुभव भयो ? र त्यो अवस्था के भएपछि देखा प¥यो ? चुहिने समस्या बढ्दै छ वा उही स्तरमा छ ? पिसाब चुहिने केसँग सम्बद्ध छ ? त्यसको जानकारी हुनु उपचारको निम्ति अनिवार्य हुन्छ । चाप सम्बद्ध पिसाब चुहिने बिरामीको फोक्सोको अवस्था कस्तो छ ? हाछ्यूँ कत्तीको आउँछ ? बच्चा बोक्दा वा कुनै पनि गरुङ्गो बोझ बोक्दा चुहिएको पिसाबले भित्री लुगा कत्तिको भिज्ने गर्छ ? पिसाब चुहिनाको कारणले गुप्ताअङ्गतिर चिलाउने, घाउ हुने, नराम्रो गन्ध आउने इत्यादि हुने गरेको छ भने त्यस बारे पनि सोधपुछ हुनुपर्छ ।

पिसाब थैली आफ्नो ठाउँबाट तल झर्ने, पाठेघर योनी तल सर्ने, मलाशयको भाग योनी तिर लचकिएर दिसा बस्नमा समस्या हुने गरेको, इत्यादि उपचारमा असर पार्ने धेरै महत्वपूर्ण विवरण बिरामी बाटै थाहा पाउन सकिन्छ । 
पिसाब चुहिने रोग निदानमा पिसाब र रक्त परीक्षण गर्ने गरिन्छ । एक्सरे, अल्ट्रासोनोग्राफी, सिटीस्कान,  एमआरआई, सिस्टोस्कोपी जस्ता जाँच पनि उपचारको सिलसिलामा गर्नु पर्ने हुनसक्छ । बिरामीलाई पिसाब चुहिने समस्याले कत्तिको पिरोलेको छ र उनीलाई आफ्नो शारीरिक सरसफाइ गर्न, पारीवारिक तथा समाजिक कार्यमा सहभागी हुन कत्तिको बाधा पु¥याएको छ सो प्रस्ट्याउनु अनिवार्य हुन्छ । खास गरेर पिसाब चुहिने कारणले बिरामीलाई कत्तिको दुःखित बनाएको छ उपचारमा त्यसले ठूलो महत्व राख्छ ।

उपचार
महिलामा पिसाब चुहिने समस्याको उपचार दुई खण्ड गर्न सकिन्छ ।

१. पुरातनवादी उपचार 
यो विधिको टेवा भन्नु नै बिरामीको आचरणमा फरक पार्नु हो । त्यसको निम्ति बिरामीले कम्तीमा ४८ घण्टाको खानपिन तथा दिसा पिसाबको टिर्पाेट डायरी तयार गर्नुपर्छ । जीवनशैली संशोधन गर्न तरल पदार्थ तथा पानीमा मितव्ययिता अपनाउनु पर्छ (२४ घण्टामा २ दशमलब ७ लिटर तरल पदार्थमा सीमित हुने ) । शौचालय सजिलै उपलब्ध नहुने ठाउँमा जानु पर्दा पानी नपिउने । बेलुका तरल पदार्थको सवेनलाई घटाउनु उपयुक्त हुन्छ । सामान्यतया सधैँझै खानपिन गर्दा पनि पिसाबको मात्रा घटे वा खुट्टा सुन्निए तरल पदार्थको सेवन कम गर्ने । 

पिसाब लागेपछि रोक्नै नसक्ने व्यक्तिले कफी, रक्सी, तथा मसलादार खानाका नखाने । कब्जियत हुनेहरूले रेसायुक्त खाना बढाउने र त्यसले दैनिक पेट सफा नभए उपयुक्त औषधि सेवन गरेर पेट ठीक राख्ने । शारीरिक तौल बढी भएकाहरूले उचाई अनुरुपको तौल कायम गर्न प्रयत्न गर्ने । नसुतेको समयमा २ देखि ४ घण्टा भन्दा बढी पिसाब नरोक्ने । यौन सम्बन्ध राख्नु अगाडि र तुरुन्तैपछि पनि पिसाबको थैलीलाई खाली राख्ने । मलद्वार तथा योनीका मांसपेशीलाई विशेष महत्व दिएर शाररीक कसरत गर्ने । 
मधुमेह, उच्चरक्त चाप, ढाड वा कम्मर दुःख्ने बिरामीले विशेषज्ञको सल्लाह बमोजिम उपचार गर्ने । 
माथि उल्लेखित सबै कुरामा ध्यान दिएर महिलाले आफूलाई रूपान्तरण गर्न सके केही हदसम्म पिसाब चुहिने समस्या नियन्त्रण गर्नसक्छन । 
चिकित्सा शास्त्रमा विभिन्न कृत्रिम उपकरण तथा यन्त्र मूत्रनली तथा योनीमा राखेर पनि पिसाब चुहिने समस्याबाट मुक्त पार्ने प्रयत्न हुँदै आएको छ । यद्यपि, त्यसले खासै सफलता हासिल गरेको छैन । 
यस्तै केही औषधि प्रयोगमा ल्याइए पनि चित्त बुझ्दो सफलता भने हासिल गर्न सकिएको छैन । छाला प्वाल पारेर स्नायू अथवा मांसपेशीलाई विद्युतीय शक्तिले उत्तेजित पारेर पिसाब निखार्ने तथा चुहिन नदिने जस्ता प्रयत्न पनि लामो समय देखि प्रयोगमा छ । तर सजिलो तथा भरपर्दो तरिकाले अपेक्षित फाइदा उपलब्ध नभएकाले कम पीडादायी, बिरामीमैत्री र सहज उपायको खोजी जारी छ । त्यसैले अन्ततोगत्वा शल्य उपचारको भूमिका पिसाब चुहिने महिलाका लागि महत्वपूर्ण रहेको छ । 

२. शल्य उपचार
महिलामा पिसाब चुहिने समस्या समाधानका लागि शल्य उपचार नयाँ होइन । सन् १९०७ देखि नै विभिन्न शल्य तरिकाले मूत्रनली तथा मूत्रथैलीको घाँटीलाई आफ्नो ठाउँबाट तल सर्न नदिन ती भागलाई स्थिर तथा अचल गर्ने गरिदै आएको छ । सुरुमा शल्यक्रियाको उपलब्धि सन्तोषजनक देखा परे पनि लामो समय त्यो कायम रहेन । दीर्घकालीन सफलता नहुनाको कारण अध्ययन गर्दै जाँदा वैज्ञानिकले महिलाको मूत्रनलीको बीचको भागलाई झोलुङ्गे संरचनाले राम्ररी टेको नदिएमा चाप सम्बद्ध पिसाब चुहिने समस्या उत्पन्न हुन्छ भन्ने पत्ता लगाए । यही आविष्कारलाई आधार मानेर सन् २००१ देखि टीओटी नाम पाएको शल्यक्रियामा कृत्रिम टेप (जाली) लाई मूत्रनलीको बीचको भागमा तल झोलुङ्गो आकारमा राखेर नलीले गुमाएको समर्थन पूर्ण रूपमा प्रतिस्थापन गरिन्छ । यो शल्यक्रिया महिलाले सजिलै बहन गर्छन् र २ दिनपछि अस्पतालबाट छुट्टी पाउँछन् । घर फर्किएपछि २–३ दिनमै सामान्य अवस्था फर्कन सक्छन । तर धेरै बोझ उठाउने तथा यौन सम्बन्ध भने ६ देखि ८ सातापछि मात्रै गर्दा सुरक्षित हुन्छ ।

Last modified on 2019-02-10 06:52:01

bnc bathrog

1 Comments

  1. Thanks for your valuable information dr. saab

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital