८१ कर्मचारीको भरमा ३०० शय्याको जनकपुर अस्पताल

जिल्ला अस्पताल भन्दा फरक छैन अञ्चल अस्पताल



Download our app to get more features

जनकपुर, ७ माघ । संघीय संरचना अनुसार जनकपुर अञ्चल अस्पताललाई प्रदेश नम्बर २ को केन्द्रीय अस्पताल बनाउने तयारी भइरहे पनि जिल्ला अस्पताल हुँदा जुन सेवा सुविधा उपलब्ध हुन्थ्यो सो भन्दा बढ्न सकेको छैन । 

०२६ सालमा स्थापना भएको जनकपुर अञ्चल अस्पतालमा सरकारले एक सय शय्याको स्वीकृति दिएको छ भने एक सय शय्या अस्पताल विकास समिति र अस्पतालको निजी स्रोतबाट एक सय शय्या थपिएको छ । सरकारले स्वीकृति दिएको एक सय शय्याको लागि मात्रै बजेट उपलब्ध गराएको र बाँकी दुई सय शय्याको खर्च अस्पतालले नै व्योहोरिरहेको छ । अस्पतालमा आएका बिरामीसँग पुर्जी, ल्याब टेस्ट, शय्या शुल्क लगायतबाट उठेको शुल्कले अस्पतालको खर्च टरिरहेको अस्पताल प्रशासनले जनाएको छ । 

दरबन्दी १ सय ४२, कार्यरत ८१
सरकारले अञ्चल स्तरको अस्पतालका लागि भनेर एक सय ४२ जना कर्मचारीको दरबन्दी दिएको छ । तर, जनकपुर अञ्चल अस्पतालमा भने जम्मा ८१ जना मात्रै कार्यरत छन् । जसमध्ये  मेडिकल सुपरिटेन्डेन्ट एक जना, ९औं तहका फिजीसियन २ जना, २ जना सर्जनमध्ये एक, २ जना गाइनोक्लोजिष्ट हुनु पर्नेमा एक, बालरोग विशेषज्ञ २ जनाको दरबन्दी भए पनि एक जना मात्रै कार्यरत छन् । 

यसैगरी २५ जना स्टाफ नर्सको दरबन्दी भए पनि १८ जनामा मात्रै कार्यरत छन् । बिएस्सी नर्स ३ जना हुनुपर्नेमा एक जना, अनमी ५ जनामा एक जना, प्रशासन कर्मचारी ४४ जनामा २५ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ ।

एक जना पनि छैनन् विशेषज्ञ चिकित्सक
अस्पतालमा ११औँ तहका विशेषज्ञ चिकित्सक फिजिशियन १ जना, गाइनोक्लोजिस्ट १ जना र बालरोग १ जना हुनु पर्नेमा सो पद वर्षौदेखि रिक्त छ । ११औं तहका कन्सल्टेन्ट डाक्टरहरू १३ जनाको दरबन्दी भए पनि १ जना मात्रै छन् । ९औं र १०औं तहका २४ डाक्टर हुनुपर्नेमा ६ जना मात्रै छन् । प्याथोलोजीमा १, रेडियोलोजीमा १, डर्माटोलोजीमा १, नाक–कान–घाँटीमा १, एनेस्थेसियामा १ र मानसिकमा १, डेन्टलमा एक जना हुनुपर्नेमा सो पदहरू पनि रिक्त छन् । ११ जना मेडिकल अफिसरको दरबन्दी भए पनि २ जना मात्रै छन् । 

अस्पताल विकास समितिले नियुक्ति गर्नु पर्ने पद पनि वर्षैदेखि रिक्त रहदै आएको छ । समितिले १ सय ४९ जना कर्मचारी नियुक्त गर्नु पर्ने भए पनि हालसम्म जम्मा १ एक सय २५ जना मात्रै नियुक्त गरेको छ । जसमा मेडिकल अफिसर १२ सहित अन्य कर्मचारी छन् ।

अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा कन्सल्टेन्ट डाक्टर र २ जना मेडिकल अफिसरको भरमा अस्पतालको सेवा सञ्चालन भइरहेको एक डाक्टरले बताए । उनले भने, ‘अस्पताल विकास समितिमा राजनीतिक नियुक्तिबाट कर्मचारी राखिने हुँदा पनि सरकार परिवर्तनसँगै कर्मचारी पनि परिवर्तन हुने गरेका छन् । जसले अस्पताल सञ्चालनमै समस्या भइरहेको छ ।’

सरकारले बेवास्ता गर्यो: यादव
हाम्रो डक्टरसँगको कुराकानीमा जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादवले सरकारले वास्ता नगर्दा अस्पतालको अवस्था जर्जर बनेको बताए । उनले भने, ‘जति स्वास्थ्यमन्त्री आउँछन् कुरा मात्रै गर्छन् । तर, उनीहरूको आश्वासन कार्यान्वयनमा कहिल्यै आएन ।’ ४८ वर्षअघि जिल्ला अस्पतालको रुपमा स्थापना भएको यो अस्पताल अञ्चल अस्पतालमा स्तरोन्नती भइसक्दा पनि जिल्ला अस्पताल भन्दा फरक नभएको उनको गुनासो छ । अञ्चल अस्पतालले ८ जिल्लाको प्रतिनिधित्व गर्ने गरे पनि गुणस्तरीय सेवा प्रदान गर्न असक्षम भएको उनले बताए । उनले भने ‘कर्मचारी नै नभएपछि कसरी सेवा दिन सकिन्छ ।’ 

प्रदेश नम्बर २ मा कर्मचारी जान मान्दैनन्: मन्त्रालय
यता, स्वास्थ्य मन्त्रालयले भने राज्य पुर्नसंरचनापछि कर्मचारी व्यवस्थापनको काम जारी रहेको जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख डा. बाबुराम खनालका अनुसार जनकपुर अञ्चल अस्पतालसहित सबै स्थानमा कर्मचारी पठाउने तयारी भइरहेको छ । तर प्रदेश नम्बर २ कर्मचारीको रोजाइमा नपर्दा समस्या भएको बताए । 

उनले देश संघीयतामा जानु भन्दा पहिले पनि जनकपुर मात्रै नभई तराईका अन्य जिल्लामा पनि कर्मचारी पठाउन समस्या भएको बताए । डा. खनालका अनुसार कुनै पनि संस्थामा सतप्रतिशत कर्मचारी दरबन्दी पुरा गर्न सकिँदैन । किनकी कर्मचारी नियुक्त गरिए पनि अध्ययन बिदा बस्ने, नर्सको हकमा पनि लोक सेवाले माग सिफारिस नगर्दा समस्या हुने गरेको छ ।

तराईका जिल्लामा कर्मचारीमाथि दुव्र्यवहार हुने, कर्मचारीको बासको राम्रो व्यवस्था नहुने लगायत कारणले कर्मचारी जान नसकेको उनले बताए । साथै कर्मचारीको सुरक्षाको जिम्मेवारी अस्पताल प्रशासन र विका समितिले नलिदा समस्या भएको उनको भनाइ छ । 

जनकपुर अञ्चल अस्पताल विकास समितिका अध्यक्ष डा. बलराम मिश्रले पनि केही कमीकमजोरी रहेको स्विकारे । अस्पतालको पूर्वाधार राम्रो नहुनु, सरकारले बजेट कटौती गर्नु र राम्रा कर्मचारी व्यवस्थापन गर्न ससकेको उनले बताए । 

Last modified on 2018-01-22 07:43:37

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. डा. एकानन्द सिंहon Sun, Jan 21 2018 06:08 PM

    स्वास्थ्य मंत्रालयका उपसचिब बाबूरामको भनाई सरासर गलत हो। जनकपुर अंचल अस्पताल जान नरुचाउने होइन, स्वास्थ्य मंत्रालयका कर्मचारीले जन नदिएको हो।बरू त्यंहा जानचाहने डाक्टर संग मंत्रालयका कर्मचारीले घुस लिने गरेको छ। अर्को कुरा, जनकपुर अंचल अस्पताल मा ३०० बेड छैन, मुश्किलले २०० बेड पुगला। त्यंहा लगभग ५० जना डाक्टरहरू कार्यरतछ, जुन २०० बेडको लागी अत्यधिक हो। कमजोरि प्रशासनको हो, त्यो स्वास्थ्य मंत्रालय देखी त्यंहाको मेडिकल सुपरिडेनटेण्टको हो। सरकारले दिने जनकपुर अंचल अस्पताल र जनकपुर अंचल अस्पतालले लिने सेवा सल्कको रकम कुनै निजी लाई दियो भने काठमांडूको ग्रैंडी अस्पताल बराबरको हुँछ ( उदाहरणको लागी हाल बनिरहेको नयाँ भवनको बजेटको लिन सकिनछ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts