भयावह बन्दै नसर्ने रोग

सर्नेभन्दा नसर्ने रोगका कारण मर्नेको संख्या बढी



Download our app to get more features

काठमाण्डौं, १० माघ ।  झट्ट सुन्दा लाग्न सक्छ, सर्ने रोगका कारण मृत्यु हुनेको संख्या धेरै हुन्छ ।

यो चाडै फैलन्छ र यसको शिकारमा अधिकांस मानिस मर्न पुग्छन । तर नेपालको तथ्याङ्क हेर्दा यो कुरा झुट सावित हुन्छ । विश्व स्वास्थ्य संगठनले पछिल्लो समय नेपालमा गरेको अध्ययनले यसलाई झुट सावित गरेको छ । 

नेपालमा सर्ने भन्दा नसर्ने रोगका कारण मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले तयार पारेको तथ्याङ्गक अनुसार नसर्ने रोगका कारण मृत्यु हुनेहरुको संख्या धेरै ठुलो देखिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर खेम कार्कीले जनचेतनाको कमिका कारण सर्ने भन्दा नसर्ने रोगको समस्या विकराल बन्दै गएको बताए । सरकारले सर्ने रोग र त्यसबाट निम्तिने खतराबारे गाउँ गाउँमा बर्षौदेखि जनचेतना मुलक कार्यक्रम गर्दै आयो, कार्कीले भने,‘तर नसर्ने रोगका बारेमा न सरकारले केहि कार्यक्रम ग¥यो न जनताले यसका बिषयमा गंभिर चासो देखाउन सके । त्यसैले पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या अत्याधिक मात्रामा बढेर गएको छ ।’ 
  
  परिषदले नसर्ने रोगको बिषयमा सचेतना मुलक कार्यक्रम गर्ने र यसलाई न्यूनिकरण गर्न तर्फ बेलैमा नलाग्ने हो भने पछि गएर यसले बृहत रुप लिन सक्ने खतरा रहेको निष्कर्ष निकालेको कार्कीले जानकारी दिए । 
सर्ने रोग जस्तो नसर्ने रोग महामारीको रुपमा फैलदैन, मानिसहरुले यसमा खासै ध्यान दिएका पनि छैनन् । उनिहरुको दैनिकी खान पान, रहन सहन व्यवस्थित नहुदा नसर्ने रोगको प्रकोप जटिल बन्दै गएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउछन् ।  

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पनि विभिन्न अस्पतालहरुको ओपिडिमा आउने मध्ये ६९ प्रतिशत नसर्ने रोगका कारण विरामी भएको पाइएको छ । अस्पतालमा भर्ना हुने कुल संख्या मध्ये ८५ प्रतिशत नसर्ने रोगका कारण विरामी हुने गरेका छन् । 

कुन रोगका कारण कतिको मृत्यु

स्वास्त्य मन्त्रालयका अनुसार सर्ने रोगका कारण मृत्यु हुनेको संख्या कुल मृत्यु हुने संख्याको ४२ प्रतिशत छ । ७ प्रतिशत घाउ चोट पटक र दुर्घटनामा परेर मृत्यु भएको छ । त्यस्तै नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या ५१ प्रतिशत मध्ये मुटुरोगका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशत, क्यान्सर रोगबाट ११ प्रतिशत, श्वास प्रश्वासको रोगबाट ५ प्रतिशत, मधुमेहको रोगबाट २ प्रतिशत र अन्य रोगबाट मृत्यु हुनेको संख्या ८ प्रतिशत रहेको छ ।

सो संख्या बढेर हाल नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ६० प्रतिशत पुगेको छ भने सर्ने रोगका कारण मृत्यु हुनेको संख्या ४२ प्रतिशत बाट झरेर ३० प्रतिशतमा पुगेको छ । घाउ चोट पटक र दुर्घटनाबाट मृत्यु हुनेको संख्या ७ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको देखिन्छ । नसर्ने रोगका कारण मृत्यु हुने ६० प्रतिशत मध्ये मुटुरोगबाट २२ प्रतिशत, क्यान्सरबाट ८ प्रतिशत, श्वास प्रश्वास रोगबाट १३ प्रतिशत, मधुमेहको रोगबाट ३ प्रतिशत र अन्य रोगका कारण १४ प्रतिशतको मृत्यु भएको विश्व स्वास्थ्य संगठन र नेपाल अनुसन्धान परिषदले निकालेको तथ्याङ्कले देखाउछ । 

नसर्ने रोगहरुबारे विशेषज्ञहरु के भन्छन्  :

डा. भगवान कोइराला
मुटुरोग विशेषज्ञ

मुटु, फोक्सो, क्यान्सर, दम, मानसीक रोग, दाँतको समस्या जस्ता रोगहरु नसर्ने रोग भित्र पर्दछन् । नसर्ने रोगको प्रकोप नेपालमा धेरै ठुलो छ ।

झाडापखाला, टिभी, कलेरा आदिमा मात्रै ध्यान दिएका थियौ । हामी लगानी कर्ताहरुबिना बाच्न नसक्ने अवस्थामा छौं । लगानीकर्ताहरुले पनि आफ्नो फाईदाका लागि सबैलाई सर्ने रोगहरुका बारेमा मात्रै काम गर्न सिकाए ।

धेरै मानिसहरु सर्ने रोगका कारण मरिरहेका थिए । बल्ल अहिले आएर केहि आँखा खुलेको जस्तो भएको छ । नसर्ने रोगको अवस्था ६० प्रतिशत हुनु र सर्ने रोगको संख्या घटेर ४० प्रतिशतमा आउनु भनेको सरकारका लागि ठुलो चुनौतिको विषय हो ।

नसर्ने रोगको समस्या सरकारको नियन्त्रण भन्दा बाहिर गएको छ ।  यसका लागि न्युनिकरणका लागि नीतिगत परिवर्तन आवश्यक देखिन्छ । द्युमपान तथा मद्यपान सम्बन्धी ऐन कडाईका साथ लागु गरे ५ बर्ष मा अवश्य पनि नसर्ने रोगको संख्यामा कमि ल्याउन सकिन्छ । 

डा.अरुणा उप्रेति
जनस्वास्थ्य विद


नेपालमा पहिला मुटुका रोगि, मधुमेहका रोगि हुदैनथे । पछिल्लो समय ३५ बर्ष भन्दा कम उमेर समूहमा यसको समस्या देखिन थालेको अवस्था छ ।

पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगको संख्या धेरै बढेको विभिन्न अध्ययनहरुले देखाएको छ । पहिलाका मानिसहरु घरमा बनाएका खानेकुराको प्रयोग गर्थे । आजभोलि बजारमा भएका खानेकुराको प्रयोग गर्ने त्यसमा पनि प्याकेटमा भएको वस्तुमा बढी जोड दिने गरिन्छ ।

विस्कुट, चाउचाउ, कोकाकोला जस्ता वस्तुको प्रयोगले पनि नसर्के रोग र यसबाट मृत्यु हुनेको संख्या धेरै बढेको हो । 

डा. प्रविण मिश्र
पूर्वस्वास्थ्य सचिव


मान्छेको गरीवि, अज्ञानता, अशिक्षा र स्वास्थ्य प्रतिको वेवास्थाका कारण सर्ने रोग धेरै विगविगि रहेको थियो । २५ बर्ष अघि ८० प्रतिशत मानिसमा सर्ने रोगहुन्थ्यो ।

‘विस्तारै बढ्दै गएको शिक्षा, जनचेतना, विभिन्न भ्याक्सीनहरुको प्रयोगका कारण सर्ने रोगको संख्या घट्दै गयो तर सोहि अनुपातमा नसर्ने रोगहरुको संख्यामा भने बृद्धि हुदै गयो । नेपालको सन्दर्भमा भन्ने हो भने नसर्ने रोग डरलाग्दो अवस्थामा पुगेको छ ।

मानिसहरु योगा र शारीरिक अभ्यासमा ध्यान दिन छाडेका छन् जसले मुटु, ब्लड प्रेसर, मृगौला, क्यान्सरको समस्या बढ्दै गएको हो । जति सर्ने रोगलाई पत्ता लगाएर निर्मुल पार्न सकिन्छ, नसर्ने रोगलाई पत्ता लगाउन त्यति सजिलो छैन ।

नसर्ने रोगिका विरामीहरुको संख्या बढ्दै गएको अवस्थामा राज्यले निशुल्क उपचारको व्यवस्था गर्दै जाने भन्दा नियम बनाउन तर्फ लाग्नु पर्ने हुन्छ । 
 

Last modified on 2018-01-24 11:15:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts