प्रधानमन्त्री देउवाले बिरामीलाई बाँडेको चेक केहीबेरमै प्रशासनले खोसेपछि



Download our app to get more features

काठमाडौं, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा स्पाइनल इन्जुरीका बिरामीलाई रकम बाँड्न राष्ट्रिय ट्रमा सेन्टरमा आउने थाहा पाएपछि सेन्टरको स्पाइनल वार्डको बेड नं ५०५ मा उपचाररत सुजन सिंखडाको परिवार रकम पाउने आशामा थिए ।  

प्रधानमन्त्री देउवाले बिहीवारदेखि क्यान्सर,मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई रकम बाँडेका थिए । ट्रमा सेन्टरमा रकम बाँड्ने क्रममा धादिङ गंगाजमुना ४ का सुजन सिंखडालाई प्रधानमन्त्री देउवाले शैयामै पुगेर  पाँच हजारको चेक हस्तान्तरण गरेका थिए । 

प्रधानमन्त्रीको हातबाट चेक पाएपछि सुजनको परिवारमा आशा पलाएको थियो । उपचारको लागि ऋणको भारीले थिचेका परिवारमा मासिक पाँच हजार पाउने आशा थियो । तर सुजनको परिवारलाई के थाहा प्रधानमन्त्री स्वयमले दिएको चेक, ट्रमा सेन्टरका प्रशासनले आएर खोसेर लान्छ भनेर । भयो त्यस्तै । 

गाउँमा रुख काट्न जाँदा सुजन लडेर घाइते भएका थिए । रुखबाट खसेर उनको ढाड भाँचिएको थियो भने बाँया हात नचल्ने अवस्था पुगेको थियो ।

उपचारका लागि पुष ४ गते ट्रमा सेन्टर भर्ना भएका सुजनको स्पाइनलमा समस्या रहेका कारण उनी उठ्न समेत सकेका थिएनन् । उपचारकै लागि गाउँमा चिनेका सबैसँग उनीहरुले ऋण माग्न भ्याइसकेका थिए । 
श्रीमान्को यस्तो अवस्थाका कारण श्रीमती सिता सिंखडा निकै पीडामा देखिन्थे । श्रीमान्को उपचारमा मात्रै उनले साढे तीनलाख खर्च भइसकेको बताइन् । उनी गाउँमा खेतिपाति छाडेर श्रीमान्को स्याहानमा खटिरहेकी छिन् ।

कमजोर आर्थिक अवस्थाका कारण श्रीमान्को उपचारमै ऋणको भारी बोकिरहेका उनलाई बिहीवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले शैयामै आएर चेक बाँडेपछि उनकोे मनमा आशा पलाएको थियो । 
प्रधानमन्त्रीका साथमा स्वास्थ्य मन्त्री दीपक बोहरा र अस्पताल प्रशासनका कर्मचारीहरु समेत थिए । 

 प्रधानमन्त्री देउवाको हातबाट चेक पाएपछि सिताको मन निकै प्रफुल्लित थियो भने श्रीमान्को उपचारमा लागेको ऋणको भारी हल्का हुने आशा थियो । 

प्रधानमन्त्री देउवाले शैय्यामै पुगेर बिरामीलाई चेक बाँडेको तस्वीर लिन सञ्चारकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो । प्रधानमन्त्रीको हातबाट चेक पाएको केहीबेरमै ट्रमा सेन्टरको प्रशासनका एक कर्मचारीले अर्को व्यक्तिको चेक परेको कारण साटेर ल्याउने भन्दै सितासँग चेक लिएर गएका थिए । 

सिताले पनि आफ्नो श्रीमान्को नामको चेक अर्को व्यक्तिसँग परेको होला भनेर चुप लागिन् । तर त्यसो भएन । गल्तीले सुजनको हातमा प्रधानमन्त्रीले चेक बाँडेको भन्दै  सुजनको नाममा चेक नरहेको श्रीमती सितालाई प्रशासनले जवाफ दियो । प्रशासनको यस्तो जवाफ सुनेर उनी निराश हुँदै फर्किन् ।  

कम्मरमुनिको भाग नचल्ने अर्थात प्यारालाइसिस भएको स्पाइनलको बिरामीलाई मात्रै सरकारले रकम बाँडेको भन्दै प्रशासनले उनको श्रीमान्लाई रकम दिन अस्वीकार गर्यो । 

एकछिनअघिसम्म प्रधानमन्त्रीले स्पाइनलका बिरामी श्रीमान्लाई हस्तान्तरण गरेको चेक एकाएक प्रशासनले फिर्तां लिएपछि उनी छाँगाबाट खसेझै भइन् ।
प्रधानमन्त्री स्वयमको हातबाट चेक हस्तान्तरण गरेर सबै सञ्चारकर्मीले तस्वीर समेत लिइसकेको अवस्थामा  प्रशासनले गल्ती भएको भन्दै दिइसकेको चेक फिर्ता लिँदा उनी दुखी भएकी थिइन् ।  

प्रशासनले दिएको नमिठो जवाफ श्रीमान्लाई सुनाउँदा वार्डमा सँगै बसिरहेका सुजनको परिवार निराश भएका थिए ।  एकछिनअघिसम्म आशा पलाएको परिवारमा फेरि उही ऋणको भारीले थिचेको महशुस भयो । 
श्रीमती सिता प्रश्न गर्छिन् यदि पैसा दिनु नै थिएन् भने प्रधानमन्त्री स्वयमको हातबाट चेक बाँडेर हामीलाई किन आश्वासन दिएको ?

श्रीमान् सुजनपनि स्पाइनलको बिरामी भएको भन्दै उनले पनि भत्ता पाउनु पर्ने सिताको माग छ । 
'सरकारले पीडितमाथि दया राखी रकम बाँडे त राम्रो हुन्थ्यो नि, एकै प्रकारका बिरामीलाई  किन विभेद गरेको' श्रीमती सिताले भावुक हुँदै भनिन् । 

Last modified on 2018-01-26 09:14:01

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Painful story but nicely presented. Ashok you did good job. Keep on watch...well done.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts