अत्याधिक टाउको दुख्छ ? तपाईंलाई माइग्रेन भएको हुन सक्छ 



Download our app to get more features


माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय समयमा दोहोरिरहन्छ । यो दुखाई प्राय टाउको एक भागमा हुने गर्दछ । यो रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेको जस्तो गरेर दुख्ने गर्छ । 


माइग्रेन जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषहरुको दाँजोमा यो रोग महिलाहरुमा बढी देखा पर्दछ । माइग्रेन बाल्यवस्था वा युवावस्थादेखि नै सुरु हुनसक्छ । 


माइग्रेनका कारणहरु

हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइ सकिएको छैन । तर यसलाई वंशाणुगत रोगको रुपमा पनि लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भने पनि वैज्ञानिकहरुको अनुमान रहेको छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रक्तनली र मस्तिष्क वरिपरिका नशाहरु सुन्निन थाल्दछन् । 


अन्य कारणहरु


– बढी मानसिक चिन्ता लिनाले ।

– चिया र कफी धेरै पिउनाले ।

– समयमा नसुत्नाले ।

– गुन्दुक, तामा, तथा शिशीमा राखिएका पुरानो अचारको सेवनले ।

– बढी मात्रामा दुखाई कम गर्ने औषधिहरुको प्रयोग ।

तसर्थ माथि दिइएका कारणहरुले माइग्रेन हुने सम्भावना बढी हुन्छ । 

माइग्रेनका लक्षण


माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरु बिरामी पिच्छे फरक हुने गर्दछन् ।

– टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ तर करिब एक तिहाई बिरामीमा यो दुखाई टाउकोको दुवै भागमा समेत हुन सक्छ ।

– टाउकोको कहिले एकपट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्दछ । 

– यसमा टाउको टन्टनी दुख्ने, कहिलेकाँही आँखाका गेडाहरु दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखापर्न सक्छ । 

– वाकवाकी लाग्ने, वान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाजसमेत सहन नसक्ने, हातखुट्टा चिसो हुने हुनसक्छ । 

– टाउको दुखाई बल्झिनु भन्दा अघि कसैकसैमा चिड्चिडापन आउने, निन्द्रा लागेको जस्तो हुने, लगातार हाई–हाई आइरहने, थकाई लागेको जस्तो हुने हुन्छ । 

– त्यस्तै टाउको दुखाई सक्एिको करिब २४ घण्टासम्म बिरामीकले थकान महसुस गर्ने र मन्द टाउको दुखाई भने भइरहेकै जस्तो महसुस गर्ने गर्दछन् ।  

माइग्रेन कसरी पत्ता लगाइन्छ ?

माथि दिइएका लक्षणहरुका आधारमा माइग्रेन रोग हो भनेर अनुमाान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायमा केही पनि खराबी नदेखिने हुन्छ । 

माइग्रेनका लागि अन्य कुनै जाँचको आवस्यकता पनि खासै पर्दैन । यदि माथि दिएका लक्ष्णहरु बिरामीको दुखाईसँग मिल्दैनन् भने चिकित्सकले मस्तिष्क सम्बन्धि अन्य कुनै परिक्षण गराउन सक्छन्, जस्तै एमआरआई, सिटी सक्यान आदि । 

माइग्रेन रोकथामका उपायहरु


माइग्रेनको कुनै निश्चित उपचार नभएता पनि हामी स्वयमेले तल दिएका उपायहरु अपनायौ भने यसको दुखाईबाट धेरै हदसम्म आफूलाई बचाउन सक्छौं । 

– माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकोले क्याफिन पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चक्लेट कम मात्रामा खानु राम्रो हुनेछ ।

– राति एउटै समयमा सुत्ने बानी बसाउने । 

– पूरानो सिसीको अचार, गुन्द्रुक, तामा जस्ता खानेकुराहरु नखाने, साथसाथै पिरो कम खाने ।

– राम्रा कुरा सोचेर चिन्तालाई मनबाट हटाउन खोज्ने ।

– घाममा धेरै नबस्ने, नहिड्ने, यदि हिंड्नु परेमा छाताको प्रयोग गर्ने ।

– दुखाई कम गर्ने औषधि(पेनकिलर) को प्रयोग कम गर्ने किनकि त्यस्ता औषधि सेवन बढी गर्नाले टाउकोको दुखाई एकछिन कम हअुन्छ तर फेरि बल्झिन्छ । 

माइग्रेन हुने विशेष कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । माथि दिइएका उपायहरु अपनाउन सके यसको दुखईबाट केही हदसम्म आफूलाई बचाउन सकिन्छ । टाउको दुखाईको एउटा दैनिक तालिका बनाउन सके अझ सजिलो हुन्छ । किनकि यसले हप्ता वा महिनामा कति पटक टाउको दुख्ने गर्छ भन्ने थाहा पाउन मद्दत गर्छ र यसलाई हेरी चिकित्सकले सजिलोसँग औषधि उपचार गर्न सक्नेछन् । 


अन्य केही कारणहरु जसले माइग्रेनको दुखाईलाई बढाउन सक्दछन् ।

– कपाल रङ्गाउनाले ।

– कपालमा पूरानो मेथी र तेल लगाउनाले ।

– राति समयमा नसुत्नाले ।

– कसैलाई च्याउको सेवनले पनि दुखाक्ष्ई बल्झेको पाइन्छ ।

– मनमा धेरै कुरा खेलाउनाले ।


डा. जलान नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत छन् । 

 

Last modified on 2016-05-14 16:28:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts