दिदीले दान गरेको कलेजोबाट पुनर्जीवन पाएका डाक्टर रुपनारायण 



Download our app to get more features

काठमाडौं, १२ माघ । डा. रुपनारायण साह सन् २००८ मा चीनबाट एमबीबीएस सकेर स्वदेश फर्केका थिए । शुरुदेखि नै उनलाई ज्वरो आउने र आँखा पँहेलो हुने समस्या थियो । सामान्य ज्वरो होला भनेर उनले त्यसलाई वेवास्ता गरे । चीनबाट फर्केर उनी वीर अस्पतालमा इन्टर्न डाक्टरको रुपमा काम गर्न थाले । 

अस्पतालमा काम गरिरहँदा पनि उनलाई ज्वरो र जन्डिसले छोडेको थिएन् । आफैं अस्पतालमा काम गर्ने भएका कारण उनलाई नियमित चेक जाँचमा सजिलो थियो । निरन्तर ज्वरो बढ्न थालेपछि उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराए । परीक्षणपछि उनको रगतमा डब्लुबीसीको कमी र प्यान साइटोपेनिया भएको थाहा पाए ।

उनको शरीरमा रोगसँग लड्ने क्षमता कमी हुँदै गएको स्वास्थ्य परीक्षण रिर्पोटले देखायो । शरीरमा लागेको रोग पत्ता लगाउन उनले थुप्रैपटक अस्पतालमा जाँच गराए । रोगको डाइग्नोष्टिक गर्न उनले इएसजी पनि गराए । रक्तरोग विशेषज्ञ डा. विशेष पौडेलले जाँच्ने क्रममा रगतमा समस्या भएको साथै कलेजोमा समेत समस्या रहेको बताए । कुन रोगका कारण त्यस्तो भएको भनेर थाहा पाउन भने अझै सकेनन् । रोगको डाइग्नोष्टिक गर्न नसकेपछि उनको उपचारमा ढिलाई भएको थियो । क्रोनिक लिभर डिजिज नै हो भनेर उपचारमा संलग्न चिकित्सकले समेत ठम्याउन सकेनन् । 

नेपालमा के कारणले रोग लगेको हो भन्ने पत्ता नलागेपछि उनी भारतको अपोलो अस्पतालमा थप स्वास्थ्य परीक्षणका लागि पुगे । तर त्याहाँ पनि रोगको स्पष्ट पहिचान भएन । यद्यपि, जटिल प्रकारको कलेजो रोग लागेको भने पत्ता लाग्यो ।

एक महिना अपोलो अस्पतालमा उपचार गरेर उनी नेपाल फर्केका थिए । त्यतिबेला रोग पत्ता लगाउने क्रममै १४ लाख खर्च भएको थियो । त्यहाँ उनको पैसा मात्रै सक्यो तर डाइग्नोष्टिक नभएका कारण उपचार भने हुन सकेन । सन् २०११ देखि उनको स्वास्थ्यमा निकै समस्या देखापर्यो । 

अस्पतालमा संक्रमणको जोखिम झन बढी 
मेडिकल अफिसरको रुपमा उनले नर्भिक अस्पतालमा तीन बर्ष काम गरे । बिरामी अवस्थामै काम गरिरहेको हुँदा उनमा अन्य रोगको संक्रमण पनि फैलिन थाल्यो । जसले निकै गाह्रो भएको उनी बताउँछन । 
कहिलेकाही खुट्टा सुन्निएर महिनादिनसम्म पनि उपचारका लागी बस्नुपर्ने उनको बाध्यता थियो । अपोलो अस्पतालमा मात्रै उनी चार पटकसम्म उपचारका लागि जानुपर्यो ।  

यसैबीचमा सन् २०१३ मा उनलाई मास्टर्स डिग्रीको लागि चाइना स्कलरसीप काउन्सिलले छात्रवृत्ति प्रदान ग¥यो । त्यसपछि उनी मास्टर्स इन मेडिसिन गर्न चीन गए । चीनमा पढाई गरिरहँदा पनि उनको स्वास्थ्यमा समस्या आइ नै रह्यो । खुट्टा सुन्निने र कमजोर महशुस हुने गथ्र्यो । एकचोटी बिरामी पर्दा दुईतीन महिनासम्म अस्पतालमा भर्ना हुनुपर्ने उनको बाध्यता थियो । 

चीनमा मेडिकल विद्यार्थीको लागि  स्वास्थ्य बीमा भएका कारण उपचारमा ८० प्रतिशत शुल्क मिनाह हुन्थ्यो । चीनमा पढ्दै गर्दा उनको कानमा पनि समस्या आयो । कानमा समस्या आएर अस्पतालमा जाँच गराउँदा डाक्टरले टाउकोको एमआरआइ गर्नुपर्ने बताए । एमआरआइका क्रममा उनको मस्तिष्क पाण्डा आकारको भएको भन्दै पूरानो मेडिकल रिपोर्ट समेत अस्पतालले माग्यो । 

पहिलादेखि स्वास्थ्य जाँच गराएको सबै कागजात चिकित्सकले हेरेपछि उनलाई विन्सन डिजिज भएको निश्चित गरे ।  डाक्टरको सल्लाह अनुसार उनले पेनिसिलामेन्ट ट्याब्लेट खान शुरु गरे । चीनमा बल्ल उनको रोगको निदान भयो । रोगको निदानमा निकै ढिला भइसकेको थियो । उनको कलेजो सुकेर एकदमै कडा बनिसकेको थियो । 

उनको खुट्टा बेलाबेलामा सुन्निने गथ्र्यो । शरीरको सबै अंग ठीक भएपछि कलेजो बिग्रेका कारण सबै अंगमा हानी पुग्न सक्ने भन्दै चिकित्सकले उनलाई समयमै कलेजो प्रत्यारोपण गर्न सुझाए । 
चीनमा पढाई पूरा नगरी नेपाल फर्कन उनलाई मनले मानेन् । मास्टर्स इन मेडिसिनको तीन बर्षे कोर्ष पूरा गरेपछि मात्रै सन् २०१६ मा उनी नेपाल फर्के । 

प्रत्यारोपणको लागि चीनबाट आएका विशेषज्ञ टोली रित्तै फर्किए
कलेजो प्रत्यारोपण गर्ने भन्दै उनले चीनबाट १० जनाको कन्सल्टेन्ट डाक्टरसहित सर्जनको टीम लिएर नेपाल आएका थिए । तर, नेपालमा कलेजो प्रत्यारोपण सम्बन्धी कानून नबनेको भन्दै कुनै पनि अस्पतालले स्वीकृति दिएनन् । 

विशेषज्ञको टीम भएपनि अप्रेशन कक्ष नभएको र प्रत्यारोपणपछि केयर गर्न नसकिने भन्दै नेपालका अस्पतालले उनको कलेजो प्रत्यारोपण गर्न नसक्ने जवाफ दिएको थियो । प्रत्यारोपणको लागि उनले स्वास्थ्य मन्त्रालयसम्म पनि हारगुहार गरे । तर केही भएन् । ‘कलेजो प्रत्यारोपण गर्न चीनबाट आएका १० जना विशेषज्ञ चिकित्सकको टोली रित्तै फर्किए ।’ उनले भने । 

प्रत्यारोपणको लागि भारततिर
जति प्रयास गर्दा पनि केही सीप नलागेपछि उनले भारतमा गएर कलेजो प्रत्यारोपण गर्ने सोच बनाए । नेपालका चिकित्सक डा. सन्जयकुमार यादव दिल्लीको मेदान्त अस्पतालमा सर्जनका रुपमा काम गरिरहेको उनले थाहा पाए । त्यसपछि उनले उतै उपचार गर्ने सोच बनाए । डा. यादवले पनि कलेजो प्रत्यारोपण गर्न मिल्ने बताएपछि उनी प्रत्यारोपणको लागि डोनर र पैसा जुटाउनतर्फ लागे । 

प्रत्यारोपणको लागि ३५ देखि ४० लाखसम्म लाग्ने थियो । उनीसँग उपचारको लागि पर्याप्त पैसा थिएन । त्यसैले उनीसँगै चीनमा पढेका साथीहरू, डा. एकानन्द सिंह लगायत नेपालका चिकित्सक सबैले उनको उपचारमा सहयोग गरे ।  

परिवारकै सदस्यले मानेनन् कलेजो दान गर्न 
पैसाको जोहो भएपनि प्रत्यारोपणको लागी डोनरको खोजी भयो । परिवारका सदस्यहरु मध्ये चार पाँच जनाले प्रत्यारोपणको लागि कलेजो दान गर्न मिल्ने थियो । तर, कलेजो दान गर्दा ज्यान जाने भन्दै कसैले दान गर्न मानेनन् । 

प्रत्यारोपणको लागि दान गर्न कोही तयार नभएपछि उनी निराश बनेका थिए । त्यतिखेर उनी मानसिक तनावमा समेत परे । काठमाडौंमा एक्लै दिनहरू काटिरहेका थिए । शुरुमा सबै परिवारका सदस्यले दान दिन्छु भनेपनि दान गर्ने बेला कसैले वास्ता नगरेको पीडा सम्झिन्छन् उनी । ‘दाता नपाएर निराश हुँदै मृत्यु कुर्नुको कुनै विकल्प थिएन ।’ उनले विगत सम्झिँदै भने ।

भारतमा कलेजो प्रत्यारोपणको लागि आफ्नै परिवार सदस्यबाट मात्रै दान गर्न सक्ने कानून छ । तर, यता परिवारका सदस्यहरू उनले फोन गर्छ भनेर सम्पर्कविहीन हुन थाले । उनले भने ‘त्यो बेला मैले फोन गर्दा कसैले पनि रिसिभ गरेनन् । सबैले मेरो फोन काट्छन् मात्रै । पैसा वा लिभर माग्ने ठानेर सबैले वास्ता गर्दैनथे ।’  

अन्तिममा दिदी भिनाजुको घरमा गएर उनले कलेजो दान गर्न आग्रह गरे । उनले दिदीभिनाजुलाई भारतको कलेजो प्रत्यारोपण गर्ने अस्पताल पनि घुमाए । कलेजो दान गर्दैमा स्वास्थ्यमा हानी नहुने प्रष्ट पारे । सबैकुरा बुझेपछि दिदी उमादेवी कलेजो दान गर्न तयार भइन् । 

उपचार गर्न जान कागजी झमेला
भारतमा नेपालीले अंग प्रत्यारोपण गर्न थुप्रै कागजी मmमेला व्यहोर्नुपर्ने उनको अनुभव छ । यसको लागि नेपाल मेडिकल बोर्ड, वीर अस्पतालमा नाता प्रमाणित, उपचार गर्ने अस्पतालको प्रमाणित कागजात, खर्च विवरणदेखि सबै कागजात बुझाउनुपर्छ । यसको लागि बिरामीलाई १५ देखि २० दिनसम्म लाग्छ ।  

बिरामीले सम्बन्धित गाउँपालिका र जिल्लाबाट कागज ल्याउने, राजीखुशी कागजात, दाताको स्वास्थ्य ठीक छ कि छैन् आदि सबै खुलाउनुपर्छ । स्वास्थ्य विभाग, टेकुमा दुई तीन दिन धाउनुपर्ने र परराष्ट्र मन्त्रालयमा सबै कागजात बुझाउनुपर्ने झमेला छ । 

दिल्लीस्थित नेपाली दूतावासमा सबै कागजात बुझाएपछि मात्रै भारतको अस्पतालमा उपचारको लागि रिफर हुनेगर्छ । 

यो सबै प्रक्रिया पूरा गर्न एक महिना लाग्ने गर्छ । बिरामीले निकै हैरानी व्यहोर्नुपर्ने उनको भनाइ छ । उपचारका लागि भारत बस्ने क्रममा नै उनको निकै खर्च भएको सुनाए । उपचारका लागि उनले करिब ३० लाख बुझाएका थिए । सन् २०१६ मा उनको कलेजो प्रत्यारोपण भयो । र उनी तीन दिनसम्म आइसियुमा बसेर १३औं दिनमा अस्पतालबाट डिस्चार्ज भए ।  

प्रत्यारोपणपछि पनि उतिकै खर्च  
प्रत्यारोपणपछि पनि फ्लोअपको लागि अस्पतालमा धाइरहनुपर्छ । बेलाबेलामा ट्याक लेभल जाँचिरहनुपर्छ । हरेक महिना महँगो औषधि खाइरहनुपर्छ । 
अहिले पनि उनी फ्लोअपको लागि तीन महिनामा एकपटक भारत जाने गर्छन । 

बिरामीको सेवामा जीवन
मानव अंग प्रत्यारोपणमा आफूले जस्तै अरुले पनि पीडा भोग्न नपरोस् भने उदेश्यले उनले आफ्नो जीवननै यसैमा समर्पण गरेको बताए ।  बिरामीलाई सहयोग गर्ने उदेश्यले उनले जीवनी नेपाल नामक संस्था खोलेका छन् ।
उनी भन्छन् ‘शायद म बाँच्नुको अर्थ नै त्यही हो । मैले गरिन भने कसले गर्छ ?’
 

Last modified on 2018-01-27 07:43:30

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Wow you got a new life to save other surviver. God bless you. A ver esp. Thanks to your sister.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts