काठमाडौं महानगरमा स्वास्थ्यका कार्यक्रम लथालिङ्ग

बजेट र कार्यक्रम भएपनि काम शुन्य



Download our app to get more features

काठमाडौं, १३ माघ । काठमाडौं महानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालयले सहयोग नगरेको भन्दै नेपाल सरकारले प्राथमिकतामा राखेका स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न सकेको छैन । 

नेपाल सरकाले महानगरलाइ स्वास्थ्य सम्बन्धि ६७ वटा स्वास्थ्यका कार्यक्रम गर्न भनि १२ करोड रुपैयाँ भन्दा बढी रकम उपलब्ध गराएको छ । त्यस मध्ये नियमित खोप सेवा, केही करारमा कर्मचारी भर्ना, ५ लाख रुपैयाको निशुल्क वितरणको लागि औषधी खरीद र घर भित्र धुम्रपान निषेधित महानगरपालीका अभियान थालनी बाहेकका अन्य कार्यक्रम शुरु गर्न सकेको छैन । 

सरकारले आमा सुरक्षा कार्यक्रममको लागि ८२ लाख, सुत्केरी महिला तथा नवजात शिशुलाई न्यानो कपडा वितरणको लागि ७२ लाख, निशुल्क औषधी खरीदको लागि २० लाख, अस्पतालमा आधारीत एकद्वार संकट व्यवस्थापन केन्द्र संचालनको लागि १६ लाख, शहरी स्वास्थ्य क्लीनिक संचालनको लागि ४ करोड ४ लाख, पाठेघर खस्ने रोगको शल्यक्रियाद्धारा उपचारको लागि ३० लाख रकम विनियोजन गरेको छ । त्यसैगरी संस्थागत परिवार नियोजन सेवा केन्द्र सुदृढिकरणो लागि ९ लाख, पोषण कार्यक्रम संचालनको लागि ५ लाख छुट्याएको छ । तर महानगरले स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरी अख्तियारी दिएका कुनैपनि शीर्षकका कार्यक्रम शुरु भएका छैनन् ।

बजेट आएतापनि जिल्ला जनस्वास्थ्य कार्यालयले कार्यक्रममको अख्तियारी नदिएको काराण कार्यक्रम सञ्चालन हुन नसकेको महानगरका वरिष्ठ जनस्वास्थ्य प्रसाशक विश्वराम श्रेष्ठले बताए । ‘कार्यक्रम संचालन गर्नको लागि वजेट उपलब्ध गराएतापनि मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयले स्पष्ट अख्तियारी सहितको अधिकार प्रत्यायोजन नगरेका कारण कार्यक्रम संचालन गर्न गाह्रो भइरहेको छ ।’ श्रेष्ठले भने । 

जनस्वास्थ्य कार्कालय काठमाडौका प्रमुख महेन्द्र श्रेष्ठ भने नेपाल सरकारले कार्यक्रमको बजेट र कार्ययोजना सिधै स्थानीय निकायमा पठाएको हुदा जिल्ला जनस्वास्थ्य कार्यलयको अख्तियारी आवश्यक महानगरलाई नपर्ने बताए । ‘बजेट र कार्यक्रम सिधै स्थानीय निकायलाइ उपलब्ध गराइएको छ, हामीले कुनै किशिमको हस्तक्षेप गर्ने अधिकार छैन ।’उनले भने।

महानगरपालीका आफैले पनि स्वास्थ्य क्षेत्रको लागि १० करोड बढी रकम छुट्याएको छ । निशुल्क औषधी खरिदको लागि मात्र ८० लाख छुट्याएको छ । त्यसैगरी समुदायमा आधारित कुकुर व्यउवस्थापनकोलागि १ करोड ३० लाख, जनप्रतिनिधीहरुको औषधी उपचार सहयोगको लागि २० लाख, जेष्ठ नगरीक स्वास्थ्य परीक्षण  २० लाख, स्वास्थ्य शिविर संचालनको लागि १० लाख, महानगर अस्पताल सम्भाव्यता अध्ययनको लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।  

Last modified on 2018-01-27 17:52:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts