हृदयरोग केन्द्रलाई सातै प्रदेशमा विस्तार गरिने 

What's This?


Download our app to get more features

काठमाडौं, १५ माघ । स्वास्थ्यमन्त्री दीपक बोहराले मुटुरोग उपचार सेवालाई विकेन्द्रीकरण गर्न सातवटै प्रदेशमा हृदयरोग उपचार केन्द्र विस्तार गर्ने बताएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको २२औं बार्षिक उत्सवको अवसरमा सोमबार स्वास्थ्यमन्त्री बोहराले मुटुरोग उपचारलाई विकेन्द्रीकरण गर्नुपर्ने बताएका हुन् । 

अत्याधुनिक उपचार पद्धतिद्वारा स्वदेशमै मुटुरोग उपचार र निदानका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वास्थ्यमन्त्री बोहराले प्रशंसा गरे । 
मुटुरोग उपचारको लागि स्वदेशमै उच्चस्तरीय एवं गुणस्तरीय सेवा उपलब्ध रहेको र उपचारका लागि अब विदेश जानु नपर्ने स्वास्थ्यमन्त्री बोहराको भनाइ छ । 

मुटु उपचार सेवालाई विकेन्द्रीकरण गर्ने उदेश्यले विभिन्न सरकारी तथा निजी अस्पतालका चिकित्सक, नर्सहरूलाई केन्द्रले तालिम र परामर्श दिदै आएको छ । उपत्यका बाहिर पनि केन्द्रले सेवा विस्तार गरी मुटु सम्बन्धी उपचार सेवा प्रदान गर्ने उदेश्यले नेपालगंजको भेरी अञ्चल अस्पताल र जनकपुरको जनकपुर अञ्चल अस्पतालका चिकित्सक तथा नर्सलाई तालिम प्रदान गरेको छ । यी दुई स्थान बाहेक प्रत्येक प्रदेशमा नेपाल सरकारको सहयोगबाट कम्तीमा एक शाखा विस्तार गर्ने केन्द्रले लक्ष्य लिएको छ ।  

सरकारले १५ बर्षभन्दा मुनिका बालबालिका र ७५ बर्षभन्दा माथिका मुटुरोगीको निःशुल्क उपचार र शल्यक्रिया गर्दै आएको छ । साथै चालु आर्थिक वर्ष ०७४÷०७५ मा नेपाल सरकारले यसको लागि १३ करोड बजेट विनियोजन गरेको स्वास्थ्यमन्त्री बोहरा बताए । 

०५२ सालमा ९ शय्याबाट शुरू गरेको केन्द्रमा अहिले दुई सयभन्दा बढी शय्या छन् ।  केन्द्रले हालसम्म विभिन्न प्रकारका ५६ हजार बिरामीको क्याथ प्रोसेडिएर र करीब २० हजार बिरामीको शल्यक्रिया गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए । केन्द्रले हालसम्म १४ हजार बिरामीको ओपनहर्ट सर्जरी गरिसकेको उनले बताए । केन्द्रमा गत बर्षदेखि मुटुको चाल गडबडी भएका बिरामीलाई थ्रिडी म्यापिङ्ग पद्धतिबाट उपचार गर्न थालेपछि मुटुको चाल गडबडी सम्बन्धी जस्तोसुकै रोगको निदान र उपचार सम्भव भएको निर्देशक डा. शर्माले बताए । 

आर्थिक वर्ष ०७३/०७४ को फागुन महिनादेखि बाथ मुटुरोगीको सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने नेपाल सरकारको निर्णयपश्चात पाँच सय ९६ जना बिरामीको शल्यक्रिया गरिसकेको निर्देशक डा. शर्माले जानकारी दिए । 
 

Last modified on 2018-01-30 13:54:36

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts