गंगालाल अस्पतालको २२ वर्ष

१४ लाख ४० हजारले लिए सेवा लिए, २० हजार मुटुको शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १६ माघ । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले स्थापनाको २२ वर्षमा १४ लाख ४० हजार बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माका अनुसार अस्पतालले स्थापनाकालयता २० हजार बिरामीको मुटुको शल्यक्रिया गरेको छ ।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको २२ औँ वार्षिक कार्यक्रमका अवसरमा शर्माले विविध समस्याका बाबजुद केन्द्रले अन्तर्राष्ट्रियस्तरको सेवा दिएको बताए । यति हुदा हुर्दै पनि अस्पताललाई व्यवस्थित गर्न थप जनशक्तिको आवश्यकता रहेको शर्माले बताए । 

२०५२ सालमा ९ शैयाबाट सेवा सुरु गरेको केन्द्रले हाल २ सय शैया सञ्चालन गरिरहेको छ । समयको अन्तरालसँगै गंगालाल अस्पताल मुटुरोगको अन्तर्राष्ट्रियस्तरको सेवाप्रवाहमा पुगेको अस्पतालको दावी छ । शर्माले गंगालाल लाई प्रतिष्ठानको रूपमा विकास गर्न सके देखिएका समस्याहरु समाधान हुने बताए ।

सेवा विकेन्द्रीकरण आवश्यक : स्वास्थ्यमन्त्री
स्वास्थ्यमन्त्री दीपक बोहराले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवाविस्तार आजको आवश्यकता रहेको औँल्याए । ‘हामी संघीय संरचनामा गएका छौँ,’ उनले भने, ‘अब केन्द्र काठमाडौंमा मात्रै नभई यसको सेवा हरेक प्रदेशमा पुग्नु जरुरी छ ।’ उनले मुटुरोग भन्नासाथ गंगालाल अस्पताललाई सम्झने भएकाले केन्द्रीयस्तरको सेवा विस्तार गर्न आवश्यक रहेको बताए ।
स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले स्थानीय तहमा स्वास्थ्य सेवा दिनु चुनौतीको विषय भएको बताइन् । ‘स्वास्थ्यमा लगानी कम छ, सेवाविस्तार धमाधम भएको छ, यस्तो अवस्थामा सेवा दिनु परको कुरा हो,’ सचिव चौधरीले भनिन् । स्वास्थ्यको भूमिका राम्रोसँग नबुझी स्थानीय तहमा कर्मचारी पठाएको उनको गुनासो छ । 

यस आर्थिक वर्षमा मात्रै डेढ लाखले सेवा लिए 
केन्द्रले गत वर्ष १ लाख ५३ हजार ४ सय ६२ बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरेको जनाएको छ । १४ हजारको ओपन हार्ट सर्जरी गरेको छ । केन्द्रका निर्देशक शर्माका अनुसार गत वर्षदेखि अस्पतालमा तीनवटा अत्याधुनिक मडुलर अप्रेसन थिएटर तथा २६ शैयाको सर्जिकल आइसियु सञ्चालनमा आएसँगै उल्लेखनीय रूपमा सेवा वृद्धि भएको हो ।

केन्द्रमा मुटुको चाल गडबडी भएका बिरामीलाई अत्याधुनिक ‘थ्री डी म्यापिङ’ पद्धतिबाट गत वर्षदेखि सेवा प्रदान गर्न थालेपछि जस्तोसुकै मुटुको चाल गडबडीसम्बन्धी रोगको निदान तथा उपचार सम्भाव भएको छ ।
 

Last modified on 2018-01-30 11:17:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts