औषधिमा आत्मनिर्भर बन्न निजी र सरकारी उद्योगको सहकार्य हुनुपर्छ : उपराष्ट्रपति पुन

What's This?


Download our app to get more features

काठमाडौं, १६ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले औषधि उत्पादनमा आत्मनिर्भर बन्न सरकारी तथा निजी औषधि उद्योगीहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् । 

देउराली जनता फर्मास्यूटिकल्सको २७औं बार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले स्वदेशी लगानीमै नेपाली औषधि उद्योग आत्मनिर्भर बन्नुपर्ने बताए । 
स्वदेशी उत्पादनमा औषधि उद्योगहरू सञ्चालनमा ल्याउन सके देश आत्मनिर्भर हुने उपराष्ट्रपति पुनको भनाइ छ । उनले भने ‘बिदेशबाट धेरैजसो औषधि आयात हुनेगर्छ, स्वदेशी लगानीमा प्रबद्र्धन गर्नसके देशको व्यापार घाटा कम गर्न सकिन्छ ।’
अहिले पनि बिदेशबाट ५६ प्रतिशत औषधि आयात गर्नुपर्ने बाध्यता रहेको उपराष्ट्रपति पुनले बताए । औषधिमा आत्मनिर्भरको लागि स्वदेशी लगानीमा प्रबद्र्धन गर्नुपर्ने उनले बताए । 

नेपालमा औषधि उत्पादनको लागि पर्याप्त कच्चापदार्थहरू रहेको भन्दै उपराष्ट्रपति पुनले स्वदेशमा औषधि उत्पादन गरेर निर्यात गर्न सके देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए । यसको लागि जडिबुटी, आयुर्वेद, होमियोप्याथेटिक लगायतका स्वदेशी औषधि उत्पादनमा जोड दिनुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ ।    

औषधिमा सबैको पहुँच पु¥याउन जोड
औषधिहरू निकै महँगो मूल्यमा सर्वसाधारणले खरिद गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले विपन्न वर्गसम्म औषधिको पहुँच पुर्याउन औषधि उत्पादकलाई आग्रह गरे । उनले भने ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच पुर्याउनु जरुरी छ । औषधि अभावकै कारण अकालमै बिरामीको मृत्यु हुने अवस्था आउन दिनु हुँदैन ।’  
गुणस्तरीय औषधि सेवनले मात्रै व्यक्ति स्वस्थ रहन मद्दत गर्ने भन्दै उपराष्ट्रपति पुनले स्वस्थ व्यक्तिले मात्रै समुन्नत राष्ट्र बनाउन सक्ने जनाए । उनले भने ‘गुणस्तरीय औषधिले मात्रै मान्छे स्वस्थ हुन्छ र स्वस्थ व्यक्तिले मात्रै समुन्नत राष्ट्र बनाउन सक्छ ।’

औषधिमैत्री कानून अभाव
कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालमा औषधिमैत्री कानूनको अभावले औषधि उत्पादकहरू निरुत्साहित हुँदै आएको बताए ।  नेपाली उद्योग फस्टाउने खालको औद्योगिक नीतिको आवश्यकता रहेको उनको भनाइ छ । 

उपराष्ट्रपति पुनले देउराली जनता फर्मास्यूटिकल्सले नेपालको औषधि उत्पादनमा कोशेढुंगाको काम गरेको भन्दै प्रशंसा गरे । औषधि उत्पादनको साथै गुणस्तरीय उत्पादनमा समेत जोड दिन आग्रह गरे । 
देउराली जनता फर्मास्यूटिकल्सले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार अत्याधुनिक उपकरणबाट उच्च गुणस्तरीय ३ सय २० प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । साथै कम्पनीले मुटु रोग, नसा सम्बन्धी रोग, मधुमेह, चर्मरोग लगायतका औषधि पनि उत्पादन गर्दै आएको छ । 


 

Last modified on 2018-01-31 07:38:22

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts