यसरी हुन्छ सरकारी अस्पतालमा कमिसनको खेल

दाताले दिएको उपकरण लिन मान्दैनन् निर्देशक 



Download our app to get more features

काठमाण्डौं, १७ माघ । नेपालका अधिकांश सरकारी अस्पताले दाताले दिन खोजेका मंहगा र गुणस्तरीय उपकरणहरु लिन नमानेको पाईएको छ ।

दाताहरुबाट सोझै उपकरण लिँदा आर्थिक चलखेल र कमिसन नपाईने भएपछि सरकारी अस्पतालका निर्देशकहरुले दाताले दिएका उपकरण लिन मान्दैनन् । निर्देशक भने पटक पटक अस्पतालमा उपकरणको अभाव भएर उपचारका लागि समस्या भएका बताउने गर्छन ।
अस्पतालहरुले दाताले यिदएका गुणस्तरीय उपकरण भन्दा आर्थिक रकम दिन आग्रह गर्ने गरेको लाईन्स क्लब ईन्टरनेशनलका प्रतिनिधि कुसल थापा बताउँछन् ।

बच्चाको उपचारका लागि आवश्यक पर्ने उपकरण सरकारी अस्पताललाई दिन खोजे पनि सम्बन्धित अस्पतालहरुले उपकरण लिन नमान्ने, तर कमिसन लिएर कमसल सामान खरिद गर्नेतर्फ उनिहरुको ध्यान जानेगरेको थापाले बताए ।  

उपकरण दिने दाता भेट्नै चाहदैनन 

‘सरकारी अस्पतालका निर्देशक कमिसन आउने ठाउँमामात्र ध्यान दिँदा रहेछन्’ थापाले भने, ‘सरकारी अस्पतालमा आवश्यक ठानेर सवै प्रक्रिया पुरागरी गुणस्तरीय उपकरण दिँदा पनि उनीहरु लिन अस्वीकार गर्छन् । यसले सरकारी अस्पतालको नियत स्पष्ट पार्छ । उनिहरु के चाहिरहेका छन् भनेर ।’ 
विशेषगरी बच्चाको उपचारका लागि दिन खोजेको उपकरणका बारेमा जानकारी गराउन दाताहरु जाँदा सरकारी अस्पतालका निर्देशकहरुले भेट्ने समयसम्म नदिने र दुव्र्यवहार गर्ने गरेको थापाको आरोप छ ।

दाताले दिएको उपकरणबाट सम्बन्धित व्यक्तिले आर्थिक लाभ लिन नसक्ने भएका कारण सरकारी अस्पतालका निर्देशकहरुले सामान लिन नमानेको कान्ति बाल अस्पतालका एक चिकित्सकले बताए । 

नाम उल्लेख नगर्ने सर्तमा उनले भने, कान्ति बाल अस्पतालमा बच्चाको उपचारका लागि गुणस्तरीय उपकरण नभएको र लायन्स क्लब ईन्टरनेशनलले दिएको उपकरण उच्च गुणस्तरको भएपनि निर्देशकले आर्थिक फाइदा नपाउने भएकाले उपकरण बुझ्न नमानेको बताउँछन् । उनले भने, ‘निर्देशकलाई कमिसन नआउने भएपछि उनीहरु दाताले दिएको उपकरण लिन मान्दैनन्, कान्ति बाल अस्पतालले किनेका उपकरणहरु बिग्रीएर बसेका छन् । तर, दाताले दिएका उपकरणहरु राम्रो संग चलिरहेका छन् ।’ 

कम गुणस्तरका सामान खरिद 
लायन्स क्लब ईन्टरनेशनलले नेपालका विभिन्न सरकारी अस्पतालहरुमा आवश्यकता हेरेर बच्चाको उपचारका लागि सिप्याप, फोटो थेरापी मेसिन, ईन्फेन्ट वार्मर, लाइट मिटर(उज्यालो दिने मेसिन) हेन्डसेनीटाईजर एसेसरीज, अल्कोहल मिटर दिदै आएको छ । तर, केही यस्ता अस्पताल छन जुन दाताले दिएका उपकरण लिन मान्दैनन । 

फोटोथेरापि मेसिनको लाईट सामान्य १५ पइन्ट हुनु पर्छ । सरकारी अस्पतालहरुले खरिद गरेको लाईट मिटर २.५ देखि ४.८ सम्म मात्र रहेको छ । यो बच्चाको उपचारका लागि कामै नलाग्ने उपकरण भएको विशेषज्ञ चिकित्सकहरु बताउछन् । यसले बच्चाहरुको स्वास्थ्यमा गंभिर असर पार्दछ र उपचारमा समस्या हुने उनीहरुको दावी छ । सरकारी अस्पतालमा ल्याएका यस्ता उपकरणहरु खरिद गर्दा आर्थिक अनियमितता भएको सहजै अनुमान गर्न सकिन्छ अधिकारीहरु भन्छन । 

दाताले दिएको लाईट मिटरले ६० पइन्ट माथि र ६० पइन्ट तलबाट उज्यालो दिन्छ । यो उपकरण बच्चाको उपचारका लागि अतिनै फाईदा जनक र उच्च गुणस्तरको रहेको सरकारी अस्पतालका अधिकांस चिकित्सकहरुले बताएका छन् । सरकारी अस्पतालले किनेर चलाएको उपकरणमा ८० प्रतिशत भन्दा बढि समस्या छ ती चिकित्सकले भने । बच्चालाई एनआइसीयुमा राखेको अवस्थामा आवश्यक तापक्रम चाहिन्छ । तर कान्त्ति बाल अस्पतालले खरिद गरेको उपकरणले कहिले आवश्यक भन्दा बढि र कहिले आवश्यक भन्दा कम तापक्रम दिने गरेको छ । 

उपकरण दिनका लागि छनोट भएका अस्पतालहरु

लाईन्स क्लब ईन्टरनेशनले बच्चाको उपचारका लागि आवश्यक पर्ने सप्याप, फोटो थेरापी मेसिन, ईन्फेन्ट वार्मर, लाइट मिटर (उज्यालो दिने मेसिन) हेन्डसेनीटाईजर एसेसरीज, अल्कोहल मिटर लगायतका उपकरणहरु दिन काठमाण्डौको कान्ति बाल अस्पताल, परोपकार तथा प्रसुति गृह, चितवनको भरतपुर अस्पताल र पोखराको  पश्चिमान्चल क्षेत्रीय अस्पताललाई उक्त उपकरण दिने निर्णय गरेको छ ।  

दाताले दिएको उपकरणले मुहारै फेरियो 

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा भने दाताले दिएको उपकरणबाट उल्लेख्य बिरामीले सेवा पाएका छन् । सरकारले बच्चाका लागि आवश्यक उपकरण उपलब्ध नगराएपनि दाताले दिएका यस्ता उपकरणको माध्यमबाट बच्चाले गुणस्तरीय स्वास्थ्य सेवा लिएको अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोलाले बताए । निसासीएर जन्मेको बच्चालाई भेन्टीलेटरमा राख्ने भन्दा पनि सिप्याप मेसिनमा राख्दा बढि प्रभावकारी भएको उनको भनाई छ । उनले भने,‘दाताले दिएको दुई वटा सिप्याप मेसिन अस्पतालमा रहेका छन् । यस उपकरणका माध्यमबाट हामीले डेढ बर्ष यता धेरै बच्चालाई बचाउन सफल भएका छौं ।’ आदि उपकरण नेपाल सरकारले सार्क बिकास कोष मार्फत दियो बास्तोलाले भने, आदि उपकरण लाईन्स क्लब न्युरो चौतारिले दियो ।

यहि उपकरणबाट हामीले गुणस्तरीय सेवा प्रवाह गरीरहेका छौं । बास्तोलाले पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा दैनिक ४० जना डेलिभरी हुने गरेको बताए । उनले थपे,‘ डेलिभरी भएका मध्ये ४ जना विरामी एनआइसियुमा राख्नु पर्छ । दाताले उपकरण नदिदा डेढ बर्ष अघि एनआईसियुमा राख्नु पर्ने विरामी काठमाण्डौंका विभिन्न अस्पतालमा रिफर गर्नु पर्ने अवस्था थियो । दाताले उपकरण दिएपछि आज सम्म एक जना विरामी पनि अस्पतालबाट रिफर गर्नु परेको छैन ।’ 

बास्तोलाले भने सरकारले उपलब्ध गराउने भन्दा दाताले उपलब्ध गराएका उपकरण उच्च क्वालिटीको भएकाले अझै कुनै दाताले वा सरकारले नै उच्च क्वालिटीको उपकरण उपलब्ध गराए सेवामा थप सहजता आउने थियो । 

परोपकार तथा प्रसुति गृहका निर्देशक डाक्टर जागेश्वसर गौतमले दाताले दिएको उपकरण नलिएको बताए । डाक्टर गौतमले भने, ‘उपकरण दिन्छौ भनेर आएका हुन, तर दाताले दिएको उपकरण कस्तो र केका लागि दिदैछन् भन्ने स्पष्ट नबुझि नलिएको हो । पछिल्लो समय लिने कुरा भएको हो तर केहि दाताहरुले विरगंञ्ज भन्सारबाट काठमाण्डौं सम्म ल्याउने सर्च सहयोग गर्न भनेपछि नराखेको बताए ।

कान्ति बाल अस्पतालका प्रर्व निर्देशक डाक्टर अजीत रायमाझिले दाताले दिएको सामान लिन स्वास्थ्य मन्त्रालयको स्वीकृत आवश्यक पर्ने बताए । उनले दाताले दिएका उपकरणमा समस्या आएपछि बनाउन झन्झट हुने भएकाले लिन अस्वीकार गरेको दाबी गरे । उनले भने, ‘दाताहरुले उपकरण दिने तर बिग्रीए पछि मर्मत गर्न आउँदैनन् । त्यसैले हामीले दाताले दिएका उपकरणहरु नलिएका हौं ।’
 

Last modified on 2018-01-31 16:22:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts