सुरक्षित गर्भपतनले घट्दै छ स्वास्थ्य समस्या



Download our app to get more features

बनियानी (झापा), १९ माघ । सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ । 

स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् । जसका कारण महिलामा गर्भपतनपछि हुने अधिक रक्तस्राव, शारीरिक कमजोरी लगायतका स्वास्थ्य समस्यामा कमी हुन थालेको हो । 

असुरक्षित रुपमा गर्भपतन गराउदा महिलाको मृत्यु समेत हुने गरेकाले यस्को नियन्त्रणका लागि सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा दिन थालेको कार्यालयका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले बताए । 

चालु आर्थिक वर्षको साउनयता जिल्लाका एक हजार ५ सय २१ जनाले सुरक्षित गर्भपतन गराएको उक्त कार्यालयका तथ्यांक सहायक तोयानाथ दाहालले जानकारी दिए । जसमध्ये १ सय १३ महिलामा स्वास्थ्य समस्या देखिएकामा समाधान गरिएको दाहालले बताए । 

आव ०७१/७२ मा तीन हजार ४ सय ३२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । उनीहरुमध्ये ६ सय ७२ जनामा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि आव ०७२/७३ मा चार हजार २ सय ७ जनाले सुरक्षित गर्भपन गराएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८ सय २५ ले बढी हो । 

त्यस्तै, आव ०७३/७४ मा पाँच हजार २ सय १४ ले गर्भपतन सेवा लिएकामा ४ सय ४ जनामा स्वास्थ्य समस्या देखिएको थियो । 

‘आठ हप्तासम्मको गर्भपतन गराउनसक्ने गरी निःशुल्क सेवा दिँदै आइएको छ’, कोइरालाले भने , “अहिले लुकीचोरी गर्भपतन गराउनुपर्ने अवस्था छैन, जसले गर्दा गर्भपतन गराउँदा हुनसक्ने सम्भावित जोखिमबाट समेत बच्न सकिन्छ ।” 

झापाका झापामा १२ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा प्रदान गरिँदै आएको छ । 

 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts