कालीकोटमा कार्यरत डाक्टर अलीमाथि कालोमसी पोखेर दुर्व्यवहार

What's This?


Download our app to get more features

काठमाडौं, २० माघ । कालिकोटको जिल्ला जनस्वास्थ्यका कार्यालयमा मेडिकल अफिसरका रुपमा कार्यरत डा कौशल अलीमाथि अज्ञात व्यक्तिले कालोमसी पोखेर दुर्व्यवहार गरेका छन् । 

नेपाल सरकारको पूर्ण खोप कार्यक्रम अन्तर्गत उनी शुक्रवार रासकोट नगरपालिकामा पुगेका थिए । खोप कार्यक्रम सिउना भन्ने ठाउँमा चलिरहेको थियो । डा अली उक्त स्वास्थ्य कार्यक्रममा सहभागी भइरहेका थिए ।  
मुमरा भन्ने ठाउँमा गर्भवती महिलाको अत्याधिक रक्तश्राव भएको खबर डा अलीले जानकारी पाएँ । उक्त ठाउँ पूर्ण खोप कार्यक्रम चलिरहेको ठाउँबाट पुग्न करिब डेढघण्टा लाग्छ । त्यसैले उनले बिरामीलाई चिपखाना भन्ने ठाउँमा भेट्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । 

औषधि बोकेर डा अली चिपखाना पुग्दा भने उक्त गर्भवती महिलाको मृत्यु भइसकेको थियो । त्यसैले उनी त्यहाँबाट खोप कार्यक्रम चलिरहेकै ठाउँ राजकोटमा फर्केर आए । फर्केर उनी त्यहाँको एक पसलमा खाजा खान बसेका थिए । उनी खाजा खाइरहेकै ठाउँमा दुईजना अपरिचित व्यक्ति डा अलीसँग चिनजान गर्दै कुरा गर्न आएका थिए । 

केहीबेर कुराकानीपछि दुईमध्ये एकजनाले बोटल निकालेर कालोमसी डा अलीको टाउकोमा पोखेर भागेका थिए । एकछिन अघिसम्म कुरा गर्दै गरेका उनीहरुले कालोमसीले छ्याप्ला भन्ने उनले सोचेका सम्म थिएनन् ।
एक महिनाअघि कालीकोटकी गर्भवती महिलाको काठमाडौंको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्दै उपचारमा संलग्न चिकित्सहरुलाई बाँकी नराख्ने भन्दै अज्ञात व्यक्तिले मसी पोखेर भागेको डा अलीले बताए । 

एकमहिना अघि गर्भवती महिलालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याएको र त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको थियो । आक्रमणकारी भने उक्त मृतक गर्भवती महिलाको आफन्त नरहेको डा अलीले स्पष्ट पारे । ' मृतकका आफन्तले यो आक्रमण गरेको होइनन्' उनले भने । 

घटनामा चित्त नबुझेका व्यक्तिहरुले आक्रमण गरेको हुनसक्ने उनले बताए । 

एकमहिना अघिदेखि तनावमा स्वास्थ्यकर्मी

ती गर्भवती महिलाको मृत्यु भएपछि एकमहिनादेखि जनस्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीमाथि बेला बेलामा अपशब्द बोल्दै तनाव दिने अज्ञात व्यक्तिहरु सक्रिय रहेको डा अलीले बताए । 
उनले भने एकमहिनाअघिदेखि नै यहाँका स्वास्थ्यकर्मीमाथि केही अपरिचित व्यक्तिहरुले तनाव दिँदै आएका थिए । 

दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु असुरक्षित महशुस गर्दै काम गर्नुपरेको उनले गुनासो सुनाए । दुर्गम क्षेत्रमा काम गर्दा स्वास्थ्यकर्मीमाथी समयसमयमा विभिन्न अज्ञात व्यक्तिले आक्रमण र दुव्र्यवहार गर्ने क्रम नरोकेको उनले बताए । 

डा अलीमाथि दुव्र्यवहार गर्ने ती व्यक्तिहरुको खोजी स्थानीय प्रहरीले गरिरहेको छ । 

उनले भने 'दुर्गम क्षेत्रमा काम गर्दा आफ्नै सुरक्षा छैन् । यस्तो अवस्थामा कसरी प्रभावकारी रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउन सक्छौं ।' स्वास्थ्य सेवा प्रदान बसेका चिकित्सकहरुमाथि हुने यस्ता प्रकारका आक्रमणले स्वास्थ्यकर्मीहरुले सँधै मानसिक तनाव लिएर काम गर्नुपर्ने बाध्यता रहेको डा अलीले बताए । 

संघद्वारा दोषीमाथी कारवाहीको माग

डा अलीमाथि भएको दुव्र्यवहारप्रति नेपाल चिकित्सक संघले खेद प्रकट गरेको छ । डा अलीमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरुको खोजी गरी कानूनी दायरामा ल्याउन संघले सम्बन्धित स्थानीय सुरक्षा निकायलाई माग गरेको छ । 
डा अली विगत दुईबर्षदेखि कालीकोटको जनस्वास्थ्य कार्यालयमा स्वास्थ्य प्रमुखका रुपमा कार्य गर्दै आएका छन् । 

Last modified on 2018-02-04 10:19:54

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts