जलजलाको ज्यान जोगाउन जुटेकी मिनु म्याम 

What's This?


Download our app to get more features

काठमाडौं, २३ माघ । मिनु वाइवा गायिकाका साथै कुशल सारंगी वादक पनि हुन् । केही वर्षदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सारंगी बजाउँदै सडक संगीतमार्फत उनी लोकसंगीतको संरक्षणमा लाग्दै आएकी छिन् ।

तर, यसपटक उनी लोकसंगीत संरक्षण भन्दा पनि दुबै मिर्गौला फेल भएर अस्पतालमा उपचारत चेली बचाउने धुन सारंगीमा भर्दैछिन । उनकी छात्रा जलजला परियारको दुबै मिर्गौला फेल भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

जलजला पढ्ने ललितकला क्याम्पसका सहकर्मीलाई लिएर मिनुको टोली उपत्यकाको विभिन्न ठाउँमा सारंगी रेट्दै उनको उपचार सहयोगका लागि रकम संकलन गर्दै हिड्यो । जलजलाको स्वरको जादुले नेपाली तारा—३ लाई थप उचाइमा मात्रै पु¥याएन हजारौं दर्शक स्रोता उनको स्वरले मन्त्रमुग्ध नै भए । 
तर यतिबेला जलजला उपचार खर्च अभावमा अस्पतालमा छट्पटाइरहेकी छिन् । उनको पीडामा मलम लगाउन देशविदेशबाट सहयोगी हातहरू बढिरहेका पनि छन् । उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले जनाएको छ । 

उनलाई मिर्गौला बुबा नारायणबहादुर दर्जीले दिने भएका छन् । तर, छोरीको उपचारमा लाग्ने अन्य खर्च परिवारले धान्न नसक्ने भएपछि जलजलाको परिवार सहयोगी हातहरु खोजीरहेको छ ।
जलजलासँगै ललितकला क्याम्पसमा पढ्ने सहपाठीहरूले १६ माघदेखि ७ दिनसम्म उपत्यकाका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुत गर्दै सहयोग रकम संकलन गरेका थिए । 

उनीहरूले बौद्ध, कपन, रत्नपार्क, स्वयम्भू, कीर्तिपुरमा पुगेर सडक संगीतमार्फत ७ दिनभित्रमा ७० हजार संकलन गरेका थिए । ललितकला क्याम्पसकी गायन प्रशिक्षक मिनु वाइवाको नेतृत्वमा उनीहरूले सहयोग रकम जुटाएका थिए । 
साथीको उपचार रकम खोज्न उनको ब्याच र क्याम्पसमा अध्ययनरत विद्यार्थीले पालैपालो सडक संगीत कार्यक्रममा सहभागी हुने गरेको गायिका तथा सारंगीवादक मिनुले बताइन् । 

२२ माघमा सक्कियो सडक संगीत
सारंगीवादक मिनु वाइवाले भनिन् ‘सबैजना मिलेर कसैले मादल र सारंगी बजाउँदै लोकगीत गाउँथ्यौ, वरिपरि भेला भएकाले जलजलाको लागि भनेर केही रकम सहयोग गर्थे ।’ मिनुको सांगीतिक टोली कहिले बिहान ७ बजेदेखि बेलुकीसम्मै एकनाशले सडक संगीतमा व्यस्त हुन्थ्यो । 
जलजलालाई सम्झिँदै उनी भन्छिन् ‘साथी सर्कलमा उनी छिटै मन जित्ने खालकी थिइन् । उनको गायनमा गहिरो लगाब थियो ।’ 
सडक संगीत टोली, सांस्कृतिक संस्थान र नेपाल लोकबाजा संग्रहालयको संयुक्त आयोजनामा २५ माघमा जलजलाको सहयोगको लागि राष्ट्रिय सभागृहमा च्यारिटी शो हुँदैछ । टिकटबाट उठेको रकम जलजलाको उपचारको लागि खर्चिने उनले बताइन् । 

जलजलाको स्वास्थ्यमा सुधार
१८ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत जलजलाको अहिले डायलाइसिस भइरहेको छ । उनको घाँटीमा पाइप जोडेको छ । ‘दुई दिन भयो छोरीले खाने र राम्रोसँग बस्ने गरेकी छिन ।’ जलजलाका बुबा नारायणबहादुर दर्जीले भने । 
मिर्गौला दान गर्न जलजलाकी आमाको पनि स्वास्थ्य परीक्षण भइरहेको बुबा नारायणबहादुरले बताए । मिर्गौला दानको लागि आमा र बुबा दुबैले स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

प्रत्यारोपणका लागि अझै तीन महिना लाग्ने 
त्रिवि शिक्षण अस्पतालले भने जलजलाको मिर्गौला प्रत्यारोपण गर्न अझै दुई तीन महिना कुनुपर्ने जनाएको उनका बुबाले बताए । उनी अघि अरु धेरै व्यक्ति पालोमा रहेकाले कम्तीमा तीन महिना लाग्ने अस्पतालले जनाएको उनको भनाइ छ ।
‘छोरीको छिटै मिर्गौला प्रत्यारोपण गर्न पाए राम्रो हुन्थ्यो । तर अस्पतालमा प्रत्यारोपणको लागि लामो समय लाग्ने देखियो । ’ उनले भने । 
प्रत्यारोपणको लागि भारत लैजाने बारेमा सल्लाह भइरहेको बुबा नारायणबहादुरले बताए । ‘तर भारतमा करिब ३५–४० लाख लाग्छ, त्यो हामी जुटाउन सक्दैनौं । चाँडो प्रत्यारोपण गर्न पाए छोरी निको हुन्थी की ।’ बुवा नारायणले भने । 

सहयोगको लागि 
जलजलाका बुबा नारायण बहादुर दर्जी
फोन नं ९८४३६०३००५

 

Last modified on 2018-02-06 18:33:53

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts