स्तन क्यान्सर: महिलाको मृत्युको एक प्रमुख कारण



Download our app to get more features

स्तनका कोषहरू असामान्य रूपले वृद्धि हुनथालेपछि स्तनक्यान्सरको सम्भावना हुन्छ । स्तनमा भएका कोष र कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित र अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर हुने र नहुने दुबै प्रकृतिको हुन्छ । स्तनक्यान्सर प्रायःदुध उत्पादन गर्ने नलीबाट सुरू हुन्छ तर कहिले काही तन्तुहरूको झुप्पाबाट पनि सुरू हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनिभागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा कलेजो, फोक्सो, मस्तिष्क तथा हड्डीमा असर गर्छ ।

स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ । आफैले आफ्नो परीक्षण गर्ने, चिकित्सकबाट परीक्षण गराउने, स्तनको गिर्खा जाँचँगर्ने, अल्ट्रासाउन्ड गर्ने, क्यान्सर पत्तालगाउने बायोप्सी, सिटीस्क्यान, एमआरआई, पिईटी स्क्यान आदि परीक्षण गरिन्छ । तर यसको उपचार प्रविधि जटिल हुन्छ । क्यान्सरका कोषिकाहरू मार्न, अन्य उपचारले निको नभएवा शरीरको अन्य भागमा फैलिए केमोथेरापिद्वारा यसको उपचार गरिन्छ । क्यान्सर तन्तुहरू नष्ट गर्न विकिरण थेरापीप्रयोग गरिन्छ । क्यान्सर गराउन सहयोगी हर्माेनहरूलाई निस्तेज पार्न हार्माेन थेरापी गरिन्छ । यसबाट पनि निको नभए वा क्यान्सर अन्यत्र फैलिए शल्यक्रियाद्वारा क्यान्सरका तन्तुहरू, गिर्खा, सम्पूर्ण स्तन वा लिम्फ ग्रन्थीलाई काटेर हटाइन्छ । बिरामीले चाहेमा प्लास्टिक सर्जरीद्वारा कृत्रिम स्तन राख्न सक्छन् ।

स्थानीय उपचार जस्तै विकिरण र शल्यक्रियाबाट रोगग्रस्त भागको वरपर उपचार गरिन्छ भने केमोथेरापीले सम्पूर्ण शरीरमा उपचार गर्छ । प्रायःमहिलालाई मिश्रित उपचार प्रभावकारी हुन्छ । प्रथम, द्वितीय, तृतीय तहको स्तन क्यान्सर उपचारको लक्ष्य क्यान्सर निको पार्ने र दोहोरिन नदिने हो । चौथो तहको क्यान्सर उपचारको लक्ष्य आयू लम्बाउने खालको हुन्छ । अधिकांश बिरामीमा चौथो अवस्थाको स्तन क्यान्सर निको हुँदैन । अक्यूपञ्चर, मसाज, हर्बल थेरापी, भिटामिन, ध्यान, योग आदिबाट दुखाई र कमजोरी हटाउने तथा मनोवैज्ञानिक लाभ प्रदान गर्न सकिन्छ ।
वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न सकिँदैन तथापि सन्तुलित आहारविहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ । सकभर विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना नखाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो ।

वास्तविक तथ्यांक छैन
अस्पताल आउने बिरामीको क्रमका आधारमा स्तन क्यान्सर नेपालमा दोस्रो स्थानमा रहेको छ । अस्पताल आउने बिरामीको संख्या बढिरहेको छ । तर, नेपालमा स्तन क्यान्सरका बिरामी कति छन् भन्ने वास्तविक तथ्यांक भने छैन् । स्तनमा गिर्खाहरू आएपनि रोग लुकाउने प्रवृत्ति व्याप्त छ । लाज तथा संकोचका कारण अधिकांश नेपाली महिला स्तन परीक्षण गराउन अस्पताल जाँदैनन् र अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन । त्यतिबेला सम्म उपचारको विकल्प समाप्त भइसकेको हुन्छ । स्तन क्यान्सरबारे सबै वर्ग र क्षेत्रका महिलामा जनचेतना फैलाउने, म्यामोग्राफी सेवाको विस्तार गर्ने तथा स्वास्थ सेवालाई विकेन्द्रिकित गर्ने हो भने समयमै निदान तथा उपचार हुनेछ ।

गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्दा स्तन क्यान्स महिलाको मृत्युको एक प्रमुख कारण बनेको छ । आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा, बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्काे स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

स्तनको विकास युवावस्थामा प्रवेश गरेको प्रमुख लक्षण हो । प्रायःजसो किशोरीहरूमा महिनावारी हुनुपूर्व स्तनको वृद्धि सुरू हुन्छ । यौवनावस्थामा प्रत्येक केटीको स्तनमा नियमित रूपमा परविर्तन हुन्छ । जब स्तन बढ्दै जान्छ, स्तनभित्र एक प्रकारको गिर्खा महसुस हुन्छ । महिनावारीको समयमा स्तन बढी संवेदनशील, सुन्निने र दुख्ने गर्छ । यो सामान्य अवस्था हो । युवावस्थामा आफैंले आफ्नो स्तन परीक्षण गर्ने बानी बसाल्ने हो भने पछि देखिने असामान्य परविर्तन सहजै थाहा पाउन सकिन्छ । यो परीक्षण कुनै लाजको विषय वा गर्न नहुने काम पटक्कै होइन । जसरी हामीले आफ्नो कपाल, अनुहार आदिलाई स्याहार गर्छाैं, त्यसरी नै स्तनलाई पनि महिनाको एकपटक केहीमिनेट समय दिएमा स्तन क्यान्सरको जोखिम पत्ता लगाउन सकिन्छ ।

आफ्नो स्तन आफैं परीक्षण गर्ने सबैभन्दा उपयुक्त समय महिनावारी भएको एक सातापछि हो, जुन समयमा स्तनहरू दुख्ने तथा ठूला हुने हुन्छ । नुहाउने समयमा वा नुहाएर ठूलो ऐना अगाडि उभिएर परीक्षण गर्नु सबैभन्दा उपयुक्त हुन्छ । स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तन आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने गर्छ । 

पुरूषमा पनि स्तन क्यान्सर
महिलामा मात्र स्तन क्यान्सर हुन्छ भन्ने भ्रम छ । तर, स्तन क्यान्सर पुरूषलाई पनि हुन्छ । संसारका एक प्रतिशत पुरूषमा स्तन क्यान्सर भएको विभिन्न अध्ययनले देखाएको छ । स्तन क्यान्सर जति सानो उमेरमा लाग्यो त्यति नै बढी जोखिम हुन्छ ।

स्तन परीक्षण कसरी गर्ने 

१. ठूलो ऐना अगाडि निर्वस्त्र उभिएर आफ्नै देब्रे हात उठाउने अनि दाहिने हातले देब्रे स्तन परीक्षण गर्ने ।

२. देब्रे हातको बीचका तीनवटा औंलाको संवेदनशील भागले (ल्याप्चे लगाउने भाग, टुप्पो होइन) स्तनको वरपिरी गोलाकार रूपमा विस्तारै मालिस गर्दै (औंला नउचालिकन) टुप्पोतिर लाग्ने ।

३. स्तनमा औंलाले दबाएर विभिन्न किसिमका तन्तुहरू अनुभव गर्नुहोस् । पहिले बिस्तारै दबाब दिएर छालालाई मात्र परीक्षण गर्नुहोस् अनि मध्य भागमा दबाब दिएर बीचका तन्तुहरू महसुस गर्ने र अन्तमा जोडले दबाब दिएर करङसम्म औंला पुर्याई भित्री गिर्खा, दुखाई वा असहजता खोजी गर्ने ।

४. पूरै स्तन, छाती, पाखुरामुनि, काखी, ब्युटी बोन र काँध वरपिर छाम्ने ।

५. यसप्रकार देब्रे स्तन परीक्षण गरेपछि यसै गरी दाहिने स्तनलाई देब्रे हातले परीक्षण गर्ने ।

६. स्तनलाई ठूलो ऐनामा हेर्ने । स्तनको आकार, रंग, चाउरीपना, मुन्टो आदि हेर्ने । त्यसपछि स्तनको मुन्टोलाई बिस्तारै दबाएर त्यसबाट निस्कने तरल पदार्थ हेर्ने ।

स्तनको आकार, प्रकार, रंग, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परविर्तन महसुस भए, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्ने ।

स्तन क्यान्सरको जोखिम कसलाई
– महिला, विशेष गरी प्रौढ अवस्थामा ।

– वंशाणुगत (आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा ।

– १२ वर्षभन्दा पहिले महिनावारी भएका र ५५ वर्षपछि रजोनिवृत्ति भएका महिलामा ।

– नियमित मदिरा सेवन गर्ने महिला ।

– गर्भ खेर नजाने औषधी (डीईएस) सेवन गरेका महिलामा ।

– लामो समयसम्म परविार नियोजनका लागि हार्माेनल पिल्स वा सुई प्रयोग गरेका महिलामा ।

– रजोनिवृत्तिका पाश्र्व प्रभाव घटाउन हार्माेन रिप्लेसमेन्ट थेरापी लिएका महिलामा ।

– मोटोपना (मोटा महिलामा एस्ट्रोजन हार्माेन बढी उत्पादन हुन्छ । जुन स्तन क्यान्सरको कारक तत्व हुनसक्छ । 

– कहिल्यै गर्भवती नभएका वा ३० वर्षपछि बच्चा जन्माएका महिलामा ।

– बच्चा वा युवावस्थामा छातीको क्यान्सर वा अन्य रोग लागेर विकिरण उपचार गरेका महिलामा ।

– स्तन कोषको असामान्य वृद्धि भएमा ।

– निस्क्रिय जीवनशैली तथा बढी चिल्लो खाने महिलामा ।

लक्षणहरू
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षण देखिँदैनन । क्यान्सर बढ्दै गएपछि निम्न लिखित लक्षणहरू देखा पर्छन् । 

— स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।

— स्तन वा स्तनको मुन्टोको आकार प्रकार परविर्तन हुनु । जस्तैं  रातोपना, चाउरएि जस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको ।

— स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तैं (रातो, सफा वा पहेँलो, हरियो अथवा पीपजस्तो पदार्थ आउनु ।

— स्तनको मुन्टो दुख्नु ।

— स्तनमा निको नहुने घाउ हुनु ।

— गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।

— सबै गिर्खाहरू क्यान्सर होइनन् । दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट) 

Last modified on 2018-02-08 07:37:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts