स्वास्थ्य मन्त्रालयमा चिठी गायब भएपछि डा.पन्त विभाग फर्कन सकेनन्



Download our app to get more features

काठमाडौं, २८ माघ । सर्वोच्च अदालतले स्वास्थ्य सेवा विभागको महानिर्देशकको रुपमा डा राजेन्द्र पन्तलाई कायम राख्न आदेश दिएको एकहप्ता वितिसक्दा पनि उनी विभागमा फर्कन सकेका छैनन् । 

३० पुषको मन्त्रीपरिषद्को बैठकले विभागको महानिर्देशक रहेका डा पन्तलाई हटाई पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका महानिर्देशक रहेका डा तारानाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
मन्त्रीपरिषद्को निर्णय विरुद्ध डा पन्तले माघ १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले डा पन्तलाई विभागको महानिर्देशकबाट हटाउने निर्णय कार्यावन्यन नगर्न माघ १८ गते अन्तरिम आदेश जारी गरेको थियो । 
सर्वोच्चको आदेशपछि डा पन्त विभाग फर्कन तयारी गर्दैथिए । 

अदालतको आदेशअनुसार विभागमा फर्कनको लागि डा पन्तले माघ २१ गते स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए । आफूले दिएको निवेदनमाथि मन्त्रालयले कार्यावन्यनको प्रक्रिया अघि नबढाएपछि उनले माघ २६ गते पुनः निवेदन दिएका थिए । 

डा पन्तको उक्त निवेदनपछि मन्त्रालयको प्रशासन शाखाले उनलाई आइतवार पत्र बुझ्नको लागि टेलिफोन गरेको थियो । मन्त्रालयको खबरपछि डा पन्त आइतवार बिहान सवा दशबजे मन्त्रालयको प्रशासन महाशाखामा चिठी बुझ्न पुगेका थिए । 

तर मन्त्रालयले उनको नाममा तयार गरेको चिठी नै गायब भएपछि भने उनी हिस्स परे । चिठी दिने सम्बन्धित फाँटवालका कर्मचारी नै गायब भएपछि उनी आइतवार पनि विभागमा फर्कन सकेनन् । 
प्रशासनका कर्मचारी आउने आशामा उनी दिनभर मन्त्रालय कुरेर बसेका थिए । 

तर फाँटवालाका कर्मचारी दिनभर हराएको हरायै भयो । यस बिषयमा कर्मचारी प्रशासन महाशाखा प्रमुख बाबुराम खनालसँग बुझ्दा बिहान सम्बन्धित फाँटवालाका कर्मचारी देखिएको जानकारी दिए । तर आफू अर्कै काममा व्यस्त रहेका कारण डा पन्तले पत्र बुझेको वा नबुझेको बारेमा अनभिज्ञ रहेको बताए । उनले भने 'यसबारेमा म सोमवार मन्त्रालयमा बुझ्नेछु ।'

विभागको महानिर्देशकका रुपमा डा पन्तलाई कायम गर्न मन्त्रालयले शुकवार नै पत्र तयार गरिसकेको प्रशासन प्रमुख खनालले जानकारी दिए । 'शुक्रवार नै हामीले डा पन्तलाई पत्र बुझ्नको लागि डाकेका थियौं तर उनी कार्य व्यस्त रहेको भन्दै आइतवार आउने जानकारी दिएका थिए' उनले भने । 

डा पन्तलाई विभागको महानिर्देशकको रुपमा फर्काउन लागि प्रशासनको चलानी किताबको ४३२३ क्रमसंख्यामा हाजिरी सम्बन्धमा चिठी चलानी गरिएको देखिन्छ । तर डा पन्तको हातमा उक्त चिठी परेन । 
चलानी भएकोे उक्त चिठी खोज्न उनी मन्त्रालयका सबै शाखामा बुझ्न पुगे तर कहीँ पनि जानकारी मिलेन । 

मन्त्रालयको चिठी लिएर उनी विभागको महानिर्देशकका रुपमा फर्कने तयारीमा थिए । चिठी बुझ्न उनले दिनभर सकस झेल्नुपर्यो । यसको लागि उनले सम्बन्धित कर्मचारीलाई टेलिफोन गर्न खोज्दा मोवाइल स्वीचअफ थियो ।

यसरी फाँटवालाका कर्मचारी दिनभर गायब भएपछि उनी आइतवार पनि विभागमा फर्कन सकेनन् । मन्त्रालयको चिठी हात नपरेपछि उनी साँझ पाँच बजे निराश हुँदै घर फर्के ।  

डा पौडेल पनि सर्वोच्चमा 

विभागका महानिर्देशकका रुपमा नियुक्त भएका डा तारानाथ पौडेलले अदालतको आदेश एकपक्षीय भएको भन्दै निर्णयविरुद्ध विहीवार अदालतमा भ्याकेट दर्ता गरेका छन् । 

Last modified on 2018-02-12 08:19:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts