सूर्तिजन्य पदार्थ सेवनले ४० वर्ष नपुग्दै हृदयघात !



Download our app to get more features

काठमाडौं, २ फागुन । सूर्तिजन्य पदार्थ सेवनका कारण ४० वर्षमुनिका मानिसलाई हृदयघात हुने क्रम बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । सूर्तिजन्य पदार्थ सेवनले हृदयघात हुने मानिसको यकिन तथ्यांक नभएपनि अस्पतालमा आउने बिरामीका आधारमा अधिकांश ४० वर्षमुनिका रहने चिकित्सकको भनाइ छ । 

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले धेरैजसो मानिसमा हुने हृदयघात सूर्तिजन्य पदार्थ सेवनले भएको बताए । ‘बट्टामा सन्देशमूलक चित्र राखेर मात्रै पनि हुँदैन । सूर्तिजन्य पदार्थको सेवनबाट युवाहरूलाई बाहिर ल्याउन चुरोटले के असर गर्छ भन्ने स्पष्ट रूपमा बुझाउनुपर्छ ।’ उनले भने ।  

सूर्तिजन्य पदार्थ सेवनले फोक्सोमा मात्रै असर गर्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने डा. अनिलले भने । ‘निरन्तर सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई मात्रै स्वास्थ्यमा समस्या गर्छ भन्ने मानिसहरूमा परेको छ,’ उनले भने, ‘जीवनमा एकपटक मात्रै चुरोटको सेवन गरे पनि कुनै न कुनै रूपमा हृदयघात हुनेगर्छ ।’ 

डर उत्पन्न नहुँदासम्म खान छाड्दैनन्
सरकारले सूर्तिजन्य पदार्थको बट्टामा चेतनामूलक चित्र छापेपनि त्यसको प्रभाव सेवनकर्तामा त्यति धेरै नपर्ने चिकित्सकको भनाइ छ । ‘चित्रसहितको बट्टा बनाउनु आफैँमा नराम्रो होइन, तर त्यसको प्रभावले सेवनकर्ता घट्ने आधार देखिँदैन । जबसम्म सेवनकर्तामा कुनै न कुनै रूपमा डर उत्पन्न हुँदैन, तबसम्म सेवन गर्न छाड्दैनन्,’ डा. अनिलले भने । क्यान्सर र हृदयघातले धेरै मानिसको मृत्यु हुनुको प्रमुख कारक सूर्तिजन्य पदार्थ सेवन नै रहेको उनले बताए । 

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सरकारले २० खिलीभन्दा कम प्याकेट बनाउन रोक लगाएको बताए । विद्यालय वरिपरि सय मिटरको दूरीसम्म सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाई त्यसलाई प्रभावकारी अनुगमनमा जुट्ने सरकारको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागसँग छलफल भइरहेकाले चाडै ९० प्रतिशत सन्देशमूलक चित्र चुरोटसूर्तिको बट्टामा छापिने छ ।
 

Last modified on 2018-02-14 13:41:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts