तीन हजार बिरामीको स्वास्थ्य परीक्षण



Download our app to get more features

डडेल्धुरा, ४ फागुन । नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २ सय ७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । 

नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको उपचार गरिएको थियो । गत माघ २१ गतेदेखि सञ्चालन भएको सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण एक हजार ९ सय २९, पाठेघर सम्बन्धी चेकजाँच तीन सय १२, आँखाको उपचार एक हजार १ सय ८६, दाँतको उपचार ३ सय ३६ तथा भिडियो एक्सरे १ सय ६४ जनाको गरिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए । 

यसैगरी चश्मा वितरण ३ सय ९८ जना र मोतियाविन्दुका १ सय १५ बिरामीको उपचार गरिएको थियो । सो कार्यको आर्थिक व्यवस्थापन गाउँपालिकाले गरेको थियो । तीन हजार २ सय ७ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो । गाउँपालिकाका पाँचवटै वडामा एकिकृत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । निःशुल्क शिविर सञ्चालनमा रु १३ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts