१०३ डिग्री ज्वरोमा पनि श्रीदेवीले पूरा गरेकी थिइन् यस गीतको सुटिङ



Download our app to get more features

नयाँदिल्ली, १३ फागुन । बलिउड सुपरस्टार अभिनेत्री श्रीदेवीको दुबईमा हृदयघातका कारण निधन भएको छ । उनको निधनको खबरले उनका शुभचिन्तकहरु शोकमा डुबेका छन् । 

श्रीदेवीले आफ्नो क्यारियरको शुरुवात चार बर्षको उमेरमै गरेकी थिइन् । बलिउडमा काम गर्नुअघि उनले तमिल, तेलुगु, मलयालम र कन्नड फिल्ममा अभिनय गरिसकेकी थिइन् । सन १९८९ मा बनेको फिल्म चालबाजमा उनले गरेको मेहनतको सबैले प्रशंसा गर्छन् । यसै फिल्मबाट उनी बलिउड सुपरस्टारको रुपमा चिनिएकी थिइन् । 

चालबाज फिल्मको एक गीतको सुटिङमा उनले गरेको मेहनतको कथा अहिलेसम्म चर्चा गरिन्छ । यस फिल्मको 'ना जाने कहांसे आइ हे ये लडकी' गीत सुटिङ गर्ने क्रममा श्रीदेवीलाई १०३ डिग्रीको ज्वरो आएको थियो ।फिल्मयुनिटका सबैजना श्रीदेवीलाई ज्वरो आएका कारण गीत सुटिङ नगर्ने सोचमा थिए । जब श्रीदेवीले आफ्नो कारण गीतको सुटिङ रोकेको थाहा पाइन् उनले तत्कालै सुटिङको लागि आफू तयार रहेको फिल्मयुनिटलाई बताएकी थिइन् । 

उच्च ज्वरोका कारण आराम गर्न फिल्मयुनिटले सुझाएपनि उनले कसैको मानिनन् । र, ज्वरोको बाबजुद पनि उनले गीतको सुटिङ सक्याइन् । यस गीतमा उनले गरेको मेहनतको प्रशंसा अहिले पनि बलिउड फिल्मी दुनियामा हुने गर्छ । चालबाज फिल्मबाट उनी बलिउडको सुपरस्टार अभिनेत्रीका रुपमा उदाइन् । 

श्रीदेवीले हिम्मतवाल, जाग उठा इंसान, बलिदान, नगीना, भगवान लगायतका दर्जनौं फिल्ममा अभिनय गरेकी थिइन् । 

एजेन्सी

Last modified on 2018-02-25 11:38:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts