पाठेघर झिक्न किन हतारिन्छन् चिकित्सक ?



Download our app to get more features

काठमाडौं, १३ फागुन । मानव शरीरको कुनै पनि अंग निकाल्नु परे अनेक प्रक्रिया पुरा गर्नु पर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार आँखा दान, मिर्गौला दान वा कलेजो दान हुँदै पनि आएको छ । तर, पाठेघर झिक्न भने कुनै पनि कानुनी पक्रिया पुरा गरिदैन । चिकित्सकको एकल निर्णयले पाठेघर झिकेर फालिदै आएको पीडित महिलाहरूको गुनासो छ ।  

पाठेघर महिलाको शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो । जहाँ महिलाले गर्भधारण गर्नुका साथै महिनावारीको नियमित प्रक्रिया पनि चल्ने गर्छ । तर, त्यहि अंग सामान्य समस्यामा भएकै आधारमा चिकित्सकहरूको एकल निर्णयमै सजिलै निकालेर फाल्ने गरेको घटना प्रशस्तै छन् । 
नाम नखुलाउने शर्तमा पाठेघर झिकिएकी एक महिलाले भनिन्, ‘सामान्य घाउ थियो, डाक्टरले पछि पाठेघरको मुखको क्यान्सर हुन सक्छ भन्दै पाठेघर झिक्नु राम्रो हुन्छ भने । उहाँ कै सल्लाहमा पाठेघर झिकियो । तर, करिब १० वर्षपछि पेटको पानीमा क्यान्सरको जीवाणु देखियो ।’

यसैगरी एक अर्की महिलाले सामान्य पेट दुखेको तर अब तपाईंलाई बच्चा जन्माउनु छैन, महिनावारी पनि सकिएको छ त्यसैले पाठेघर झिक्नु राम्रो होला भन्दै चिकित्सकले पाठेघर झिकेको बताइन् । उनले पछि पाठेघर झिकिसक्दा पनि पेट दुख्ने गरेको सुनाइन् । 
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विमलप्रसाद ढकाल मानव अंग मध्ये पाठेघरलाई सकेसम्म जोगाउनु पर्ने बताउँछन् । किनकी पाठेघर बच्चा जन्माउनका लागि र महिनावारीको लागि मात्र होइन, यसमा उत्पन्न हुने हर्मोनले महिला स्वास्थ्यलाई लाभ हुन्छ । उनी पाठेघर कुन अवस्थामा फाल्ने र कुन कुन कारणले फाल्नु पर्छ भन्ने प्रष्ट कारण हुनु पर्ने बताउँछन । चिकित्सकको एकल निर्णय भन्दा पनि सामूहिक निर्णय अनुसार मात्रै पाठेघरको उपचार गर्नु पर्ने उनी बताउँछन् । 

डा. ढकालले मिर्गौला झिक्दा अनेक प्रक्रिया पु¥याएउनु पर्ने तर पाठेघर निकाल्न भने नङ काटेर फालेझै गर्नु गलत भएको बताए । उनले पाठेघर एक महत्वपूर्ण अंग भएको र यसलाई जोगाइराख्नु पर्ने बताए । यसका लागि जनचेतना जगाउनुका साथै चिकित्सकले पनि राम्रो परामर्श दिनु पर्ने उनले बताए । उनले भने, ‘जसरी मानव अंगको कुनै पनि अंग झिक्नुु पर्दा प्रक्रियागत रुपमा झिकिन्छ I त्यसरी नै पाठेघर झिक्दा पनि ठोस कारण देखाउनु पर्छ ।’ डा. ढकालले सामान्य घाउ भएको वा अन्य कुनै समस्या देखियो भने पाठेघर फालिहाल्नु पर्ने अवस्था नरहेको बताए । उनले महिलाको पाठेघर झिक्नुको विषयलाई बहसको विषय बनाउनु पर्ने जोड दिए ।

यसैगरी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जबसम्म ठोस कारण पत्ता लाग्दैन तबसम्म पाठेघर झिक्न नहुने बताए । उनले भविष्यमा पाठेरघरको मुखको क्यान्सर हुन्छ भन्दैमा तत्कालको समस्या निराकरण गर्नुको साटो पाठेघर झिक्नु गलत भएको बताए । 
यस्तै जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले डाक्टरले बिरामीलाई त्रास देखाएर पाठेघर झिकेर दलाली गरेको आरोप लगाइन् । उनले भनिन्, ‘आफ्नो शरीरको अंगप्रति महिला आफै सचेत हुनुपर्छ, बच्चा जन्माइसकेपछि पाठेघर फालिहाल्नु पर्ने होइन त्यसले महिलाको स्वास्थ्यमा पनि प्रभाव पार्छ ।’

तर, डा. सानुमाया श्रेष्ठ भने डाक्टर राम्रोसँग उपचार गरेरै पाठेघर झिक्ने र  राम्रै सल्लाह दिने गरेको बताउँछिन्  । उनले बिरामीको स्वास्थ्यका लागि चिकित्सकहरू सँधै सचेत हुने गरेको र अनावश्यक कारणले वा सामान्य अवस्थामा कुनै पनि डाक्टरले पाठेघर नझिक्ने बताइन् ।
यता, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले पाठेघर झिक्नअन्य अंग झिक्दाको प्रक्रिया जस्तै कुनै पनि पनि नियम वा प्रक्रिया नभएको बताए । उनले नेपालको चिकित्सकीय उपचार पद्धती नै गलत भएको बताए । सामान्य अवस्थामा पनि चिकित्सकको एकल निर्णयको आधारमा काम गर्नु गलत भएको बताए । नेपालमा व्यक्तिगत काम गर्ने प्रवृत्तिले गर्दा सामान्य अवस्थामा पनि पाठेघर झिक्ने वा अन्य उपचार विधि अपनाउनु उचित नभएको डा. श्रेष्ठको भनाइ छ । कुनैपनि काम र निर्णय एकल भन्दा पनि संस्थागत हुनुपर्ने उनले बताए । 

Last modified on 2018-02-27 13:45:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts