डोटी जिल्लाका सबै चिकित्सक काठमाडौंमा, दोषीमाथि कारवाही नगरेसम्म नफर्किने



Download our app to get more features

काठमाडौं, १३ फागुन । नेपाल चिकित्सक संघको आग्रहमा डोटी जिल्लामा कार्यरत चिकित्सक काठमाडौं आइपुगेका छन् । डोटी जिल्लामा सुरक्षाको प्रत्याभूति नभएको भन्दै संघले चिकित्सकलाई काठमाडौं बोलाएको हो । 

चिकित्सक कुट्ने व्यक्तिलाई राजनैतिक आडमा उन्मुक्ति दिन खोजेको र घटनालाई गलतढंगबाट मोड्ने प्रयास गरेको भन्दै संघले डोटीमा कार्यरत चिकित्सकलाई काठमाडौं झिकाएको हो । सांघातिक हमला गरी गम्भीर घाइते बनाइएका चिकित्सकमाथि उल्टै कथोकल्पित आरोप लगाउँदै बदनाम गर्ने कोशिस गरेको भन्दै त्रसिद वातावरणमा चिकित्सकले काम गर्ने नसक्ने जनाउदै संघले डोटी जिल्लामा कार्यरत सबै चिकित्सकलाई काठमाडौं बोलाएको हो ।

घटनाको बारेमा नेपाल सरकार र सुरक्षा निकायका अधिकारीलाई जानकारी गराएपनि दोषीमाथि कानूनी कारवाही गर्न आनाकानी गरेको भन्दै संघले चिन्ता व्यक्त गरेको छ । अगाडि भेट्दा मात्रै कारवाहीको आश्वासन दिने तर कार्यावन्यन नगर्ने प्रबृत्तिले चिकित्सकको मनोबल कमजोर हुँदै गएको संघका महासचिव डा लोचन कार्कीले बताए ।

सुरक्षित र भयरहित वातावरणमा चिकित्सकले काम गर्न पाउनुपर्ने बताउँदै संघका महासचिव डा कार्कीले भने 'पेशाको मर्यादाका लागि चिकित्सकले कति त्याग गनुपर्ने हो ?, हामीमाथि हुने हातपात गर्नेलाई विना धरौटी जेल चलान गर्नुपर्छ ।' 

'चिकित्सकमाथि सांघातिक हमला हुँदैजाने र दोषीलाई कारवाही नगर्ने हो भने चिकित्सक संघ चुप लागेर बस्दैन्' महासचिव डा कार्कीले भने । 

चिकित्सकको मागलाई वेवास्ता गर्दै दोषीलाई कारवाही नगरे संघले देशैभरी विरोधको कार्यक्रम गर्ने चेतावनी दिएकोे छ । विरोधको कार्यक्रमबाट सर्वसाधारणलाई पर्ने असुविधाको जिम्मेवार नेपाल सरकारले लिनुपर्ने चिकित्सक संघको भनाइ छ ।

फागुन ६ गते डोटी जिल्लामा कार्यरत चिकित्सक जितेन्द्रकुमार सिंहमाथि चारजना युवाले सांघातिक हमला गरेका थिए । 

Last modified on 2018-02-26 08:30:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts