होलीमा जवर्जस्ती रंग लगाउदै नर्समाथि दुर्व्यवहार, बचाउने चिकित्सक कुटिए



Download our app to get more features

काठमाडौं, १८ फागुन । दुर्गम जिल्लामा कामगर्ने स्वास्थ्यकर्मीमाथि कुटपिटका घटना दिनप्रतिदिन बढ्दै गएको छ । दुर्गमक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी निकै असुरक्षित महशुस गर्छन् । 

डोटी जिल्ला अस्पतालमा डा जितेन्द्रकुमार सिंहमाथि सांघातिक हमला भएको घटना सेलाउन नपाउँदै हुम्ला जिल्ला अस्पतालमा पनि स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिटको खबर छ । 
होलीको दिन विहीवार हुम्ला जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिट भएको छ ।  

होली खेल्दै अस्पताल छिरेका ८ जना युवाले त्यहाँ कार्यरत नर्स कमला शाहीलाई जर्बजस्ती रंग लगाइदिएका थिए । नर्स शाहीले प्रतिकार गर्दै डयुटीमा रहेका बेला रंग नलगाउन आग्रह गरेकी थिइन् । ती युवाहरुले नर्स शाहीको वेदना सुनेनन् । 

होलीको दिनमा पनि रंग लाउन नपाउने भन्दै उनीहरुले नर्स शाहीमाथि रंग लगाउँदै दुर्व्यवहार गरे । ती युवाहरुबाट छुट्टिएर उनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गुहार माग्दै चिच्याइन् । उनको आवाज सुनेर अस्पतालका कार्यरत चिकित्सक नवीन रोकायाले नर्समाथि जबर्जस्ती किन रंग लगाएको भन्दै प्रतिकार गरे ।

उनीहरुले डा रोकायामाथि नै कुटपिट गर्न शुरु गरे । नर्स शाहीले बचाउनुस् बचाउनुस् भन्दै रुदै आएको अस्पतालमा कार्यरत अनमि सरिता बोहराले सुनाइन् । जर्बजस्ती किन रंग लगाएको भन्दा होलीको दिनमा पनि रंग लाउन नपाउनु भन्दै उनीहरुले दुव्र्यवहार गरेको अनमि बोहराले बताइन् । 

उनले भनिन् 'हामीले संयमितता नअपनाएको भए घटना गम्भीर हुन सक्थ्यो ।'

अस्पतालमा होली खेल्दै आएका उनीहरुले अस्पतालको भित्तामा ढुंगाले हिर्काउदै त्यहाँ रहेका स्वास्थ्यकर्मीलाई तर्साएका थिए ।अस्पतालमा कार्यरत कार्यालय सहयोगी बुढा कामीले ती युवाहरुलाई रोक्न खोज्दा उनको छातीमा लात्त हान्दै यूवाहरुले भूइँमा पछारेका थिए । 

उनीहरुको कुटाइबाट घाइते भएका बुढा कामी अहिले अस्पतालको बेडमै उपचार गरिरहेका छन् । अरु स्वास्थ्यकर्मी भने सामान्य घाइते भएका थिए । 

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने सुरेन्द्र लामा र कृष्ण गुरुङलाई प्रहरीले पक्राउ गरेका छन् । अरु भने फरार छन् । घटनाको विरोध गर्दै दोषीमाथि कारवाहीको माग गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आज अस्पतालको ओपिडी सेवा बन्द गरेका छन् । 

Last modified on 2018-03-03 10:11:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts